आधारशिविरमा भाइरल हुँदा दैनिक ३० जना बिरामी

छेटु शेर्पा ,आधारशिविर  : आधारशिविर पुगेका पर्वतारोही, गाइड र कामदारमा टाउको दुख्ने, निरन्तर खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन् । रुघाखोकी नै भाइरल हुँदा दैनिक २०/३० जना बिरामी भइरहेको हिमालय रेस्क्यु एसोसिएसनले जानकारी दिएको छ ।

आधारशिविरमा पर्वतारोही, गाइड, कामदारलगायत दुई हजारभन्दा बढी बसिरहेका छन् । एसोसिएसनको स्वास्थ्य शिविर क्याम्पमा दैनिक ३० जनासम्म बिरामी आइरहेको उपचारमा संलग्न डाक्टर सञ्जीवसुदर्शन भण्डारीले बताउनुभयो । डेढ महिनामा चार सयभन्दा बढी बिरामीको उपचार गरेको उहाँले जानकारी दिनुभयो । टाउको दुख्ने, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बिरामीमा प्रमुख रूपमा देखिएको चिकित्सकको भनाइ छ ।

आधारशिविरमा दुई विदेशी र एक नेपालीले स्वास्थ्योपचार गर्दै आएको क्याम्प म्यानेजर लाक्पा नुर्बु शेर्पाले बताउनुभयो । सामान्य बिरामीको त्यहीं उपचार गरिने तर जटिल बिरामीलाई लुक्ला, फेरिचे र काठमाडौंसम्म रिफर गर्ने उहाँले बताउनुभयो । ‘आवश्यक सबै औषधि प्रयोग गरेको तर रगत जाँच गर्नुपरे लुक्ला, फेरिचे पठाउने गरेका छौं र सिकिस्त भए काठमाडौं रिफर गर्छौं’, उहाँले भन्नुभयो ।

भाइरल प्रकोप नै भएकाले बिरामीको संख्या अत्यधिक बढेको र नियन्त्रणका लागि सरसफाइ र पानीको प्रयोग समेतमा ध्यान दिन भनेको डाक्टर भण्डारीले बताउनुभयो । आधारशिविरमा बढी बिरामी लेक लाग्ने, निमोनियाका हुने गरेका छन् । एसोसिएसनले सन् २००३ देखि आधारशिविर (५३६४ मिटर) मा पर्वतारोहण अवधिभर स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ । सम्पर्क अधिकृत ज्ञानबहादुर श्रेष्ठले सरसफाइ र कामदारको स्वास्थ्य सुरक्षामा ध्यान दिन आरोहण दलका प्रमुखलाई सचेत गराउँदै आएको बताउनुभयो ।


Facebook Comment


No ads found for this position