१० दिनमा साढे सात लाख उपत्यकाबाट बाहिरिए
काठमाडौं: स्थानीय तहको चुनावको असर अन्य जिल्लाभन्दा उपत्यकामा बढी देखिएको छ । विभिन्न जिल्लाबाट व्यापार एवं रोजगारका सिलसिलामा उपत्यकामा रहेका सर्वसाधारण बाहिरिएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० दिनयता मात्रै उपत्यका बाहिरिने यात्रुको संख्या सात लाख पुगेको छ । वैशाख १९ गतेदेखि बिहीबारसम्म दैनिक ७० देखि ८१ हजारको संख्यामा सर्वसाधारण उपत्यका बाहिरिएका छन्।
महाशाखाका अनुसार गत वर्ष वैशाख २२ गतेदेखि २८ गतेसम्म चार लाख २० हजार दुई सय नौजना मात्रै उपत्यका बाहिरिएको अभिलेख छ । त्यसो त उपत्यकाबाहिर काम गर्ने सर्वसाधारण पनि उपत्यका भित्रिएका छन्। महाशाखाका अनुसार विगत १० दिनमा चार लाख ३० हजार सात सय ७४ जना सर्वसाधारण उपत्यका भित्रिएका छन्।
यी यात्रु रात्री र दिवा सेवा दुवैबाट उपत्यका बाहिरिएका र भित्रिएका हुन्। राजनीतिक दलहरूले लामा रुटमा चल्ने टाटा सुमो रिजर्भ गरेर चुनावी प्रचारप्रसारमा लगेकाले यात्रु मारमा परेका थिए।
ठूलो संख्यामा मानिस बाहिरिएसँगै उपत्यकामा चहलपहल कम देखिएको छ । सवारीसाधन चापमा समेत कमी आएको जानकारी महाशाखाका प्रमुख डीआईजी मिङ्मार लामाले दिनुभयो। ‘चुनावी सरगर्मीकै कारण उपत्यकालाई कर्मथलो बनाएर बसेका धेरै सर्वसाधारण बाहिरिएको पाइयो। दैनिक बढीमा ८० हजारको संख्यामा यात्रु बाहिरिँदै आएका छन्’, लामाले भन्नुभयो।
विशेषगरी न्युरोड, पुतलीसडक, चाबहिल, गौशाला, कालीमाटी, टेकु, गोंगबु, सोह्रखुट्टे, बालाजु, बल्खु र सातदोबाटो क्षेत्रमा बसोबास गर्दै आएका उपत्यकाबाहिरका मानिस बाहिरिएको महाशाखाले जनाएको छ।
चुनावमा यात्रुको चाप दैखिए पनि सरकारले सार्वजनिक सवारीसाधन चलाउन दिने वा नदिने अन्योल भएका कारण शनिबार काठमाडौंबाट छुट्ने लामो रुटका सवारीसाधनले गाडी चलाउने निक्र्योल गर्न सकेका छैनन्।