काठमाडौंमा १४२ केन्द्र संवेदनशील
३० वैशाख, काठमाडौं । प्रहरीले काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ । संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन् जसमध्ये १ सय ७८ लाई सामान्यमा राखिएको छ । काठमाडौंमा एउटा पनि अति संवेदनशील मतदान केन्द्र छैन । संवेदनशील मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक (सइ) तथा सामान्य मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असइ) को नेतृत्वमा प्रहरी खटाइएको छ । सइ र असइको कमान्डमा हरेक मतदान केन्द्रमा म्यादीसहित न्यूनतम १२ प्रहरी खटिने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहले बताए । मतदान केन्द्रमा बढीमा २४ जनासम्म सुरक्षाकर्मी खटिनेछन् ।
धेरै मतदाता भएको मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको डिएसपी शाहले बताए । मतदान केन्द्रको भित्री तहमा नेपाल प्रहरी मात्र रहन्छन् । बीचमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिनेछन् । उपत्यकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीको गतिविधि प्रमुख सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष छ । प्रहरीले नेकपाका केही कार्यकर्तालाई पक्राउ गरिसकेको छ । नाका तथा गेस्टहाउसहरूमा चेकिङ पनि बढाएको छ । चुनावमा सुरक्षा चुनौती दिन सक्ने गुन्डा नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेर छुटेकालाई पनि प्रहरीले तारेखमा राखेको छ ।
हेलिकोप्टर ‘स्ट्यान्डबाई’
चुनावी सुरक्षाका लागि गृह मन्त्रालयले २४ सै घन्टा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । काठमाडौं र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका सहायक प्रवक्ता जनार्दन गौतमले बताए । दुर्गम क्षेत्रमा कुनै घटना भएमा तत्काल उद्धार तथा थप सुरक्षाकर्मी ओसार्न हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो ।