वसन्त ऋतुको सर्वोच्च शिखर आरोहण सोमबारदेखि सुरु

काठमाडौँ,  जेठ । वसन्त ऋतुको यस मौसममा स्वदेशी तथा विदेशी साहसी आरोही सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् । सोमबार १४ आरोहीले सफल आरोहण गरेसँगै सर्वोच्च शिखर आरोहणको सन्देश विश्व पर्यटन बजारमा छाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण सोमबारदेखि सुरु भएको हो । दुई दिनअघि सगरमाथाको मौसम प्रतिकूल रहे पनि सोमबारदेखि अनुकूल भएपछि आरोही चुचुरातर्फ लागेका हुन् ।

पहिलो आरोहण गर्ने समूहमा ११ शेर्पासहित तीन बेलाती गोर्खा सैनिक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत कुमारज्ञानेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सङ्खुवासभाकी ४४ वर्षीया लाक्पा शेर्पाले तिब्बती मोहडाबाट सगरमाथाको पहिलो आरोहण गर्नुभएको थियो । उहाँसँगै आरोहण गर्नेमा पेम्बाछिरिङ शेर्पा, पेमाछिरी शेर्पा, कान्छुनुरु शेर्पा, लाक्पागेलु शेर्पा, सोनामजाङ्बो शेर्पा, पासाङ शेर्पा, छिमीलेन्दुक गुरुङ, डेन्डी शेर्पा, तासी शेर्पा र ज्याङ्बो भोटे छन् । त्यसैगरी बेलायती गोर्खाबाट आरोहण दलका सदस्य कृष्ण थापा, निर्मल पुर्जा र धनी राई रहेको पर्यटन विभागले जनाएको छ । आज पनि आधारशिविर ४ मा रहेका धेरै आरोही चुचुरामा जाने तयारीमा छन् ।

विभागको पर्वतारोहण शाखाका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ४२ आरोहण दलबाट ३७० भन्दा बढीले आरोहण अनुमति लिएका छन् । विभागका महानिर्देशक विष्णु भट्टराईले सगरमाथाको सफल आरोहणले विश्वमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्व बजारमा प्रवद्र्धन भई विदेशी पर्यटक आकर्षणका लागि सगरमाथा आरोहणले थप उत्साह थप्ने उहाँको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै आरोही हिमाल आरोहणमा गएका छन् । सन् २०१४ मा सगरमाथामा गएको हिमपहिरो र सन् २०१५ को भूकम्पका कारण सगरमाथाको आरोहण रोकिएको थियो । उक्त आरोहणका लागि अनुमति लिएकाहरुलाई सरकारले दुई वर्षसम्म अर्थात् सन् २०१७ सम्म आरोहण अवधिको अनुमति दिएपछि यस वर्ष धेरै आरोही आएका हुन् ।
अघिल्लो वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख २९ गतेदेखि सुरु भएको थियो । एकै दिन दुई सयभन्दा बढी आरोही चुचुरामा पुगेका थिए । एघार दिनसम्म चलेको सगरमाथा आरोहणमा ४००भन्दा बढीले सफल आरोहण गरेका थिए । अघिल्लो वर्ष ३४ समूह सगरमाथा आरोहणमा गएका थिए । उक्त मौसममा सगरमाथासहितको हिमाल आरोहणका लागि ९७ समूहका एक हजार ४६२ आरोही गएका थिए ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले यस मौसमको आरोहण सफलताले विश्वका पर्वतारोही तथा हिमालको देश नेपाललाई माया गर्ने नागरिकमा सकारात्मक सन्देश पुगेको बताउनुभयो ।

उहाँका अनुसार हिमपहिरो र भूकम्पका कारण आरोहण रोकिएका आरोहीलाई सन् २०१७ सम्म दिइएको अनुमतिले आरोहीको उपस्थिति बढेको हो । भारत र चीनबाट पनि यस याममा धेरै आरोही आएकाले सगरमाथा आरोहणका लागि अनुमति लिने हालसम्मकै सबैभन्दा बढी भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

सरकारले पाँच हजार मिभन्दा अग्ला ४०० भन्दा बढी हिमाल आरोहणका लागि खुला गरेको छ । यस वर्ष सगरमाथाबाहेक ल्होत्से हिमालका लागि ११ दलका १११ जनाले अनुमति लिएका छन् । त्यसैगरी नुब्चेमा तीन दलका २४, अन्नपूर्णमा १४, धौलागिरिमा ७७, कञ्चनजङ्घामा सात, कञ्चनजङ्घा दक्षिणमा चार, मकालुमा ४३ र मनास्लु आरोहणका लागि छ जनाले अनुमति लिएका छन् ।


Facebook Comment


No ads found for this position