निषेधित क्षेत्रमा ड्रोन उड्यो, नेपाल सरकारका कुनैपनी निकायले थाहा पाएन (भिडियाे सहित)

एक कोरियाली नागरिक सन् २०१७ को फरवरी महिनातिर नेपाल भ्रमणमा आउँछ र सगरमाथा क्षेत्रको भ्रमणमा निस्कन्छ । अत्याधुनिक बिद्युतीय उपकरणहरु प्रयोग गरी सगरमाथा लगायत नेपाल चीन सिमाका सबै रणनीतिक दृश्यहरु कैद गर्छ र विश्वभरि फैलाउँछ । यो भिडियो हेर्दा यस्तो अनुभुति हुन्छ, अब हाम्रा गोपनियता केही बाँकी छैनन् ।दक्षिण कोरियाली नागरिक क्रिस जोनले सगरमाथा क्षेत्रको भ्रमण गरी प्यान्टम फोर ड्रोन क्यामेराको सहायताले खिचेर रणनीतिक महत्वका क्षेत्रहरुको भिडियो बिदेश पुर्याईसकेका छन् । उनले त्यो भिडियो मार्च ६ मा आफ्नो युटुब एकाउण्टबाट सार्बजनिक पनि गरिसकेका छन् । नेपालको प्राकृतिक दृश्यबाट आफू निकै प्रभाबित बनेको भन्दै उनले अत्यन्तै दुर्लभ र महत्वपूर्ण भिडियो फुटेज इन्टरनेटबाट सबैलाई देखाएका छन् ।

हेर्नुहोस् जोनले खिचेको भिडियोः 

सामाजिक सञ्जाल फेसबुक र युटुबबाट बुस्ट गरिएको उक्त भिडियो अहिले निकै चर्चित छ । नेपालको मनोरम प्राकृतिक दृश्यलाई एउटा विदेशीले विश्वसामु प्रचार गर्नु ब्यवहारिक रुपले हेर्दा नराम्रो त होइन तर ब्यक्तिगत घुम्ने प्रयोजनकालागि नेपाल आएका जोनले नेपाल सरकारका कुनै पनि निकायसंग अनुमति नै नलिई उक्त भिडियो खिचेर ब्यापारिक प्रयोजनमा प्रयोग गर्नुलाई चाँही निकै गंभीर रुपमा हेर्नुपर्छ । यो नेपालको कानूनले निषेध गरेको छ ।

जोनले ड्रोन प्रयोग कहाँ–कहाँ गरे ?

१६ दिन खुम्बु क्षेत्रको भ्रमण गरेका जोनले त्यस क्षेत्रका महत्वपूर्ण ३ ओटा खुम्बुपास क्षेत्रलाई ड्रोनले खिचेका छन ।

कोङ्दे हिमाल, नाम्चे बजार, थाम्सेर्कु, तेङ्बोचे, छुकुङ रि, आमडब्लम, आइसल्याण्ड पिक, इम्चा चो, ल्होत्से ग्ल्यासियर, खोङ्माला पास, खुम्बु ग्ल्यासियर, कालापत्थर, सगरमाथा, नुप्से, पुमो रि, चोला पास, एभरेष्ट बेसक्याम्प, ग्योक्यो रि लगायतका क्षेत्रमा दृश्य खिच्न ड्रोन उडेको छ ।

जो भिडियोमा प्रष्ट देख्न सकिन्छ । सम्पादन गरेर सार्वजनिक गरिएको भिडियोको दृश्य बाहेक अरु पनि थुप्रै अवैध दृश्य जोनले खिचेको अनुमान गर्न खासै कठिन छैन ।

चीनसँगको सिमाका रणनीतिक क्षेत्रमा समेत एउटा बिदेशीले निबार्ध ड्रोन उडाएर भिडियो खिच्दा सरकारका कुनै पनि निकायले थाहा पाएन ।


ड्रोन अवैध रुपमा उडाईयोस् सञ्चार मन्त्रालय

महाभूकम्प २०७२ पछि नेपालमा ड्रोन क्यामाराको प्रयोग बढेको र ड्रोनका कारण नेपालको सुरक्षा संवेदनशिलतामा असर गर्ने भन्दै नेपाल सरकारले ड्रोन क्यामाराको खुल्ला प्रयोगमाथि प्रतिबन्ध लगाएको छ ।

उक्त प्रतिबन्धको बर्खिलाप हुनेगरी जोनले ड्रोन उडाएनन मात्रै पर्यटकका हिसाबले मान्नु पर्ने नेपालको कानून समेत उल्लघंन गरको सञ्चार मन्त्रालयको ठहर छ ।

जोन या कुनै पनि नेपाली ब्यक्तिको नामबाट त्यो समय सगरमाथा क्षेत्रमा ड्रोन सञ्चालनकालागि अनुमति नमागिएको सञ्चार मन्त्रालयका ड्रोन सञ्चालन शाखाका इन्जिनियर अनिल भुजेलले पुष्टी गरे ।

ड्रोन उडान सम्बन्धी कानूनी व्यवस्थाः

सरकारले ड्रोन सञ्चालन सम्बन्धि कुनै पनि ऐन कानून निर्माण गरेको त छैन तर ड्रोन सञ्चालन गर्न अनुमति लिनै पर्ने कार्यविधि ९अनम्यान्डेड एरियल भेइकल फ्लाईट प्रोसेड्युर० जारी गरेर नियमन प्रयास भने गरेको छ । कुनै व्यक्ति वा संस्थाले ड्रोन सञ्चालन गर्न चाहेमा अनिवार्य रुपमा कारण र विवरण सहित सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नागरिक उड्ययन मन्त्रालयबाट अनुमती लिनु पर्ने व्यवस्था छ ।

सुरक्षा संवेदनशिलता भएका क्षेत्र, प्राकृतिक, धार्मिक तथा संस्कृतिक महत्वका क्षेत्रमा ड्रोन सञ्चालन गर्नै नपाईने व्यवस्था गृहमन्त्रालयले गरेको छ । तर सबै कानूनी तगारोलाई छलेर सगरमाथा क्षेत्रमा क्रिस जोनले ड्रोन प्रयोग गरी १६ दिनसम्म भिडियो खिचे, जसको सरकारी निकायले सुईको समेत पाएन ।

क्रिस जोनमाथि कस्तो कारबाही हुन्छ ?

दक्षिण कोरियली नागरिक क्रिस जोनले नेपाल सरकारले ताकेको कानूनी ब्यवस्था नाघेर ड्रोन सञ्चालन गरेको भन्ने पुष्टी ३ महिना पछि भएको छ । उनलाई फेसबुकमा पछ्याएर नेपाल जर्नलले सरकारी अनुमतीमा उक्त भिडियो खिचिएको प्रमाण भए पठाउन अनुरोध गर्यो । उनले हाम्रो म्यासेज पढे तर जवाफ फर्काएनन । उनी ड्रोन सञ्चालन गर्दै गर्दाको बेला पक्राउ परेका भए उनीमाथि अरु कानूनहरु आर्कषित हुन्थ्यो तर अब के हुन्छ भनेर नेपालको कानून स्पष्ट छैन । क्रिस जोनमाथिको कारबाही सम्बन्धमा नेपाल जर्नलले सम्र्पक गर्दा गृहमन्त्रालयका सुचना अधिकृत भबिश्वर पाण्डेले प्रहरीमा लिखित उजुरी परेको खण्डमा सम्बन्धित देशको दुताबास मार्फत निजलाई कानूनी दायरामा ल्याउन सकिने बताए ।

सगरमाथा क्षेत्रमा १६ दिनसम्म ड्रोन उडाएर दृश्य खिच्दा स्थानीय प्रशासनको मौनता अचम्म लाग्दो देखियो । अबैध ड्रोन सञ्चालन अपराध हो भने ड्रोन बोकेर सगरमाथा छिरेका क्रिस जोनलाई ड्रोन सञ्चालन अनुमतिका सम्बन्धमा कतै पनि किन सोधिएन रु स्थानीय प्रशासनले जवाफ दिनैपर्छ । क्रिस जोनले खिचेका दृश्यहरु ड्रोन कम्पनिको विज्ञापनका लागि समेत प्रयोग भएको पाइएको छ । एयरभुज युनाईटेड बाई ड्रोन वेबसाइटले सगरमाथाका ती दृश्यहरुसगै ड्रोनको प्रचार गरिरहेको छ ।

बिदेशीहरुले यसैगरी अबैध ड्रोन प्रयोग गरी संबेदनशिल क्षेत्रका भिडियो खिच्ने क्रम बढ्दै जाने हो भने छिमेकी चीनसँगको सम्बन्धमा समेत असर पर्नसक्ने संभावनालाई पनि बेलैमा बिचार गर्नुपर्ने आबश्यकता छ ।नेपालले आफ्नो गोपनियताको रक्षा गर्न त सकेन, नै छिमेकीको चासोलाई पनि सम्बोधन गर्न सकेन भने सम्बन्धमा दरार आउने खतरा पनि बढ्छ ।

यस्तो संवेदनशिल विषयमा जिम्मेवार निकाय उत्तरदायी बन्नु पर्दछ । हामी खबरदारी गरी रहनेछौँ ।


Facebook Comment


No ads found for this position