जसले कहिल्यै चुनाव हारेनन्

प्रशान्त माली
जेष्ठ ७, २०७४- उनी हुन् चुनावमा कहिल्यै नहार्ने व्यक्ति । अर्थात्, ललितपुर महानगरपालिका–१० का वडाध्यक्ष पाटनका नरसिंह व्यञ्जनकार । २०२९ सालदेखि सुरु भएको उनको वडाध्यक्षको अनवरत यात्रा अझै जारी छ । योपल्टको चुनावमा समेत गरी ९ पटक जित हात पारेका छन् उनले ।
कहिले निर्विरोध त, कहिले भारी मतान्तरले । चुनावमा राम्रोसँग प्रचारप्रसार पनि नगरेका उनले १० नम्बर वडाध्यक्षमा स्वतन्त्रबाट जिते । व्यञ्जनकारले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्मलाल व्यञ्जनकारलाई ९७ भोटले हराए । नरसिंहले ६ सय ९१ मत ल्याए भने कर्मलालले ५ सय ९४ र एमालेका कुलबहादुर आचार्यले १ सय ८७ मत ।
उनलाई चुनावमा विभिन्न पार्टीले टिकट पनि दिएका हुन् तर लिएनन् । भन्छन्, ‘राजनीतिक पार्टीबाट चुनाव जित्दा पिँजडाको सुँगा जस्तो भइन्छ । आफ्नो हकअधिकार पार्टीको स्वार्थमा प्रयोग हुन्छ । त्यसैले स्वतन्त्रबाट उठेको हुँ ।’
सधैं जित्नुको रहस्य के हो त ? भन्छन्, ‘सायद जनताले मेरो कामको मूल्यांकन गरेका हुन् ।’
जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भेट हुँदा उनलाई नमस्कार फर्काउनेसमेत फुर्सद थिएन । बधाई दिने र हात मिलाउनेको ओइरो थियो । फोन उठाउन पनि भ्याईनभ्याई । बिहानैदेखि टीभी, पत्रपत्रिका, रेडियोमा आबद्ध पत्रकारसँग अन्तर्वार्तामा व्यस्त उनले शुक्रबार साँझसम्म पनि सहजै पत्रकारलाई समय दिए ।
७७ वर्षीय व्यञ्जनकार फुर्तिला र हट्टाकट्टा छन् । उनले औपचारिक शिक्षा पूरा गर्न पाएनन् । न त कुनै राजनीतिक पृष्ठभूमिबाट उदाएका हुन् । समाजसेवाबाटै उनले २०२९ मा ललितपुर नगरपालिका वडा नम्बर १ बाट अध्यक्षमा जितेका थिए । ‘त्यतिबेला प्रजातन्त्र विचारधाराका देवेन्द्रलाल अमात्यलाई ४ सय २२ मतान्तरले हराएँ,’ उनले उतिबेलाको त्यो क्षण सम्झिए ।
चुनाव जितेपछि उनले जनतालाई सेवा दिन थाले । जनताको विश्वास जित्न सफल भए । गाउँ फर्क राष्ट्रिय अभियान आएपछि २०३४ मा उनी नै छनोट भए । २०३६ मा जनमतसंग्रहको घोषणापछि राजीनामा दिएर बहुदललाई जिताउने अभियानमा होमिए । २०३९ मा भएको स्थानीय निकायको चुनावमा निर्विरोध भए । २०४० मा तत्कालीन प्रधानपञ्चसँग नगरपालिकाको भवन बनाउने विषयमा विवाद भएपछि उनले राजीनामा दिए ।
उनी २०४१ मा भएको उपचुनाव र २०४३ मा भएको चुनावमा फेरि वडाध्यक्षमा निर्विरोध भए । २०४९ मा कांग्रेसबाट निर्विरोध भए । २०५४ मा र शाही शासनकालमा गरिएको चुनावमा पनि उनी निर्विरोध भए ।
आफूकहाँ जायज समस्या लिएर आउने जोकोहीलाई रित्तो हात नफर्काउने उनको विशेषताका कारण सबैले मन पराउने गरेको ठान्छिन्, उनकी छोरी सिद्धिलक्ष्मी । भन्छिन्, ‘उहाँमा जनताको चाहना बुझ्न सक्ने खुबी छ ।’
चाहे वडाध्यक्षको जिम्मेवारी सम्हालेका बेला होस्, चाहे अरू बेला नै किन नहोस्, उनी सधैं समाजसेवामै जुटिरहेका भेटिन्छन् । समाजसेवाका लागि पदमै बस्नुपर्छ भन्ने ठान्दैनन् उनी । बुढ्यौली लागे पनि अझै जनताको सेवा गर्ने अठोट लिएका छन् । ‘जनताको इच्छा अझै पूरा गर्न सकेको छैन,’ उनले भने, ‘चुनाव जितेर खुसी मान्ने बेला होइन, काम देखाउने बेला हो ।’ पहिलाभन्दा अहिले झन् जिम्मेवारी बढेको बताउँदै उनले विकास गर्न नगरपालिकाको मुख मात्र ताकेर नहुने बताए । साभार कान्तिपुर