उरै भञ्जाङ यात्रा (फोटोफिचर)

वसन्तप्रताप सिंह यात्रा उसै पनि अविस्मरणीय हुन्छन् । यात्राका दौरान सँगालेका अनुभव र आनन्द पछिसम्मका लागि मानसिक पुनर्ताजगीका माध्यम बन्न सक्छ । उरै भञ्जाङ यात्राको छाप पनि त्यस्तै छ मेरो मनमा ।
बझाङ सदरमुकाम चैनपुरबाट करिब १० दिनको यात्रामा ओहोर–दोहोर गर्न सकिने उरै पदमार्गको बारेमा धेरै अनभिज्ञ छन् । तर जो यहाँ पुगेका छन्, उनीहरूको सम्झना भने मेरोजस्तै पाएको छु ।
सन् १९५५ को अक्टोबरतिर गुर्लामान्धाता हिमाल आरोहणका लागि बझाङको उरै भञ्जाङसम्म पुगेका बेलायती नागरिक सिड्नी विग्नेललाई पनि यो यात्रा निकै रोचक लागेको रहेछ । उनले आफ्नो यात्रा संस्मरण ‘स्पाई अन द रुफ अफ द वल्र्ड’ मा चैनपुरदेखि उरैसम्मको यात्राको रोचक विवरण प्रस्तुत गरेका छन् । पुस्तकमा उरै भञ्ज्याङबाट फर्किने क्रममा आफू एक्कासि सेतीको खोंचमा खसेको र आफूलाई अदृश्य शक्तिले बचाएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘त्यसपछि मैले बाटोमा पर्ने एक मन्दिर (टाँड भन्ने ठाउँमा रहेको लाँगा देवताको मुख्य मन्दिर) मा आफूसँग भएका केही सिक्का र कागजी नोट चढाएँ र बाँकी बाटोको यात्रा सुरक्षित होस् भन्ने कामना गर्दै त्यो मन्दिरबाट पित्तलको घण्टी र चारवटा चाँदीका सिक्का बोकेर लिएँ ।’ उनले यात्रा साँच्चिकै मनमोहक र अदभुत भएको उल्लेख गरेका छन् ।

विग्नेलले भनेजस्तै यहाँको यात्राका दौरान साँच्चै पत्याउन मुस्किल पर्ने दृश्यहरू हेर्ने पाइन्छ । प्रचलित किंवदन्तीअनुसार यो बाटो भएर पहिलोपटक लाँगा देवता अन्य केही देवतालाई साथ लिएर मानसरोवर कैलाश हिँडेका थिए । यस क्रममा बाटोमा विभिन्न दानवीय शक्तिहरूलाई परास्त गर्दै लाँगा मानसरोवर पुगेका थिए । उक्त कथामा वर्णित दृश्यहरू यहाँ देख्न सकिन्छ ।

बाटोमा निर्जन ठाउँमा अत्यन्त कडा चट्टान फोडेर बनाइएको टाँडको बाटो र धेरै जना बस्न मिल्ने ओडार र ओखलसँग कुनै न कथा जोडिएको छ ।


सुन्दर हिमाली दृश्यहरू र सेती नदीको प्रवाहलाई पछ्याउँदै उतरबाट दक्षिणतिर बगिरहेको चिसो हावाको झोकाले यात्रालाई मनमोहक बनाइदिन्छ । बाटोका मन्दिरहरूमा कैलाश मानसरोवर जाने यात्रीहरूले चढाएका स–साना घण्टाहरूलाई छुँदा निस्कने मधुर आवाज छँदै छ ।

विभिन्न रंगका पहाडहरू । आँखैअगाडि देखिने साइपाल र राक्सियो हिमाल । भेडाका लस्करहरू र चिनियाँ ह्याट (टोपी) लगाएका भेडी ग्वालाहरू । हिमालको नजिकैबाट झरेका दूधजस्ता हिमनदीहरूको कलकल आवाजसँगै हिमाली जनजीवनको अनुभव साँच्चै बिर्सनै नसक्ने खालको हुन्छ । बाटोमा पर्ने विभिन्न तालतलैया, सुन्दर हिमाली झरनाहरूले यात्रालाई थप रोचक बनाइदिन्छन् । यदि अनुमति लिइएको छ भने यही बाटो भएर चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरसम्म पनि पुग्न सकिन्छ ।
अस्थायी तर व्यवस्थित होटलहरूको मीठो खाना र सत्कार, हिमाली जलवायुसँगको सान्निध्यता आदि कुराले मैले अहिलेसम्म गरेका यात्राहरूभन्दा पृथक् तर अविस्मरणीय स्वाद बटुल्ने मौका पाएको थिएँ । १० दिनमा आउजाउ गर्न सकिने उरैको आनन्दमा रमाउन तपाईं पनि जाने कि ? साभार कान्तिपुर


Facebook Comment


No ads found for this position