युवा र विदेशी पर्यटकलाई नुवाकोटमा हुने क्यानोनिङ महोत्सवमा सहभागी गराईने

काठमाडौं, १९ जेठ । नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ छाँगावरोहण महोत्सव गर्ने भएको छ ।

नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढाउन महोत्सव गर्न लागिएको हो ।

राजधानीबाट ३० किलोमिटर दूरीमा अवस्थित ककनी गाउँपालिका वडा नं ५ मा जेठ २६ र २७ मा महोत्सव हुन लागेको हो । नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा हुने सो महोत्सवमा स्वदेशी, विदेशी गरी ३०० सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

“प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई आकर्षित गर्न महोत्सव गर्न लागिएको हो”–एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भन्नुभयो । सन् २०१३ मा पहिलो भोटेकोसी महोत्सव गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतीस्थित छहरे झरनामा दोस्रो महोत्सव गरेको थियो ।

एसोसिएसनले छाँगावरोहणबारे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको छ । सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।

नेपालका २२ बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाइएको छ । छाँगावरोहणका लागि पाँच हजार २०० मिटर उचाइमा अवस्थित मनाङको नार फुको झरना संसारकै सबैभन्दा उचाइमा रहेको छ ।

तेस्रो महोत्सवका सन्दर्भमा सातजना छाँगावरोहणका प्रशिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम दिइने छ ।

एसोसिएसनले विभिन्न सामाजिक सञ्जालमा नेपालमा छाँगावरोहणसम्बन्धी दक्षता प्रमाणित नभएका, सम्बन्धित निकायबाट इजाजत नलिएका र सङ्घले प्रमाणित नगरेका व्यक्ति तथा कम्पनीले छाँगावरोहण गर्ने÷गराउने, झरनामा व्यक्तिगत स्वामित्व देखाउने र छाँगावरोहणसम्बन्धी तालिमको समेत आह्वान गरेको जानकारीमा आएको भन्दै त्यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएको छ । रासस


Facebook Comment


No ads found for this position