पर्यटकको आकर्षणको केन्द्र बन्दै जनकपुरको गंगा आरती

सुजित कुमार झा

पर्यटकको आकर्षणको केन्द्र बन्दै गइरहेको छ जनकपुरको गंगा आरती ।
आजभोली जनकपुर आउने जो कोही पनि जानकी मन्दिर, राम मन्दिर दर्शन पछि गंगा आरतीमै सहभागि हुने गर्छन । संगीतमय सो आरती हेर्न प्रत्येक साँझ जनकपुरको ऐतिहासिक गंगासागरमा भीड लागेको हुन्छ । गत ३ बर्षदेखि हुँदै आएको गंगा आरती जनकपुरको पर्यटकको प्रमुख आकर्षण बनेको सेभ हिस्टोरिकल जनकपुरका महासचिव विजय दत्त बताउनु हुन्छ । सेभ हिस्टोरिकलले गंगा आरती सञ्चालन गर्दै आएको छ । आरतीका लागि गंगा सागरको डिलमा ३वटा मण्डप बनाइएको छ । तीनवटा पण्डित एकैसाथ गीत संगीतकै धूनमा आरती गर्ने गरेको देखिन्छ । आरतीमा सहभागी पण्डित राहुल झा भन्नु हुन्छ यो आरतीमा एकैसाथ कयो कुरो रहेको छ । एकातिर पूजा, पूजामा पनि तन्त्रदेखि सामान्य पूजा सम्म, आरतीको संगै सांस्कृतिक उत्थानका कुरा पनि हुने गरेको उहाँले थप्नुभयो ।हिन्दु धर्ममा आरती पूजा अर्चनाको एउटा विधि हो । आरतीमा बलिरहेको दिपक वा आरतीको थाली आराध्य समक्ष एक विशेष विधिले घुमाउने गरिन्छ । आरतीको टुकी घ्यू वा तेलको दियोको हुन सक्छ वा कपूरबाट बनाइएको हुन्छ । यसमा वैकल्पिक रूपबाट घ्यू, धूप तथा सुगन्धित पदार्थहरुको पनि मिश्रण गरिएको हुन्छ । कय पटक यसका साथै संगीत (भजन) तथा नृत्य पनि गरिने गरिन्छ । मन्दिरहरुमा विहान, बेलुका एवं रातिमा द्वार बन्दु हुनुभन्दा अगावै आरती हुन्छ । जनकपुरको गंगा आरतीका लागि विशेष प्रकारको आरती बनाइएको छ । भारतको बनारसको गंगाआरती जस्तै यहाँ पनि रहेको छ । दूई वटा ठूल ठूलो आरती जसमा आगोको डल्लो जलिरहन्छ । गंगासागरमा आरती शुरु हुनुभन्दा एकघण्टा पहिला देखि नै स्थानीयवासीका साथै पर्यटकहरुको भीड लाग्न थाल्छ । साँझ ७ बजेदेखि राति ८ बजे सम्म गंगासागरको चारै तीर श्रद्धालुहरु जम्मा भएर आरतीको आनन्द लिने गर्छन ।आरती शुरु भएपछि राती पर्यटकहरु जनकपुर बस्नेको संख्या बढेको जनकपुर होटेल व्यवसायी संघका पूर्व केन्द्रिय सदस्य एवं होटेल व्यवसायी विजय झुनझुनवाला बताउनु हुन्छ । जनकपुरमा उत्सव नभएको बेला त्यती पर्यटक जनकपुर बस्न रुचाउँदैनथे । तर यो मानसिकतामा अब परिवर्तन आएको होटेल व्यसायीहरु बताउँछन । सडक, नाला, सफाई जस्ता आधारभूत कुरोमा विजय हासिल गरेपछि जनकपुरमा पर्यटकको ओइरोनै लाग्ने स्थानीयवासीहरु बताउँछन ।


Facebook Comment


No ads found for this position