म्हेपीमा ३२ लाख लुटेको आरोपमा ६ जना पक्राउ
शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका ,२९ म्हेपीमा ३२ लाख लुटपाट भएको घटनामा संग्लग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुटपाटमा संग्लग्नहरुलाई खोज्ने क्रममा बालाजु बोहोराटारबाट घटनामा प्रयोग भएको मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ का २० वर्षीय अञ्जान थापा र ७ का २२ वर्षीय सरोज श्रेष्ठ, गुल्मीका ३३ वर्षीय लक्की पुरी, बाग्लुङ गल्कोटका २८ वर्षीय तारा बोहोरा भन्ने झम्कबहादुर बोहोरा, गोरखा आरुघाट गाउँपालिका ८ का २३ वर्षीय सिजन अधिकारी, गोरखा नगरपालिका २ का सन्तोष बोहोरा छन् ।
घटनाका मुख्य आरोपी शम्भु पाण्डे नाम बताउने र रुपेश भन्ने सुनील महर्जन अझै फरार छन् ।
सुनचाँदी व्यवसायी सुनसरीका नन्दकुमार विश्वकर्मालाई १ किलो सुन ३२ लाखमा बेच्ने भनि पैसासहित गोंगबुको गेष्टहाउसमा बोलाएको र आउँदै गर्दा म्हेपीस्थित आशिर्वाद कलेज नजिकै दुई मोटरसाइकलमा आएको समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद ४ लाख १७ हजार, २ थान मोटरसाइकल, १ थान सुन जस्तो देखिने धातुलगायतका सामाग्री बरामद गरेको छ ।अनलाईन खबर