मानसरोबर जाने तीर्थयात्री बढे

हुम्ला । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोबर तथा कैलाश जाने तीर्थयात्री बढेपछि हुम्लामा हवाइजहाज तथा हेलिकप्टरलाई यात्रु ओसार्न भ्याइनभ्याई भएको छ ।

मानसरोबर तथा कैलाश जाने प्रमुख मार्ग तातोपानी नाका र रसुवा नाका बन्द भएपछि हुम्लाको सिमिकोट हुँदै हिल्सा नाकामा तीर्थयात्रीको चाप बढेको हो ।

गत वर्ष ९ हजार ६ सय तीर्थयात्रु कैलाश तथा मानसरोबर पुगेकोमा यो वर्ष त्यसको दोब्बर हुने अनुमान गरिएको छ । तीर्थयात्रीको चाप बढेपछि अहिलेसम्मकै सबैभन्दा बढी फ्लाइट हुम्लाको सिमिकोटमा भएको सिमीकोट नागरीक उड्डयन कार्यालयका बरिष्ठ अधिकृत लिलाप्रसाद श्रेष्ठले बताए ।

उनले भने, ‘यात्रुको चाप बढेको दुई-तीन वर्षयता सामान्यतः ९० देखि १०० सम्म उडान हुने गरेको थियो तर शुक्रबार १३३ अवतरण र १३५ उडान भएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी उडान हो ।’तीर्थयात्रुको चाप बढेसँगै हुम्लामा अहिले नेपालगन्जदेखि तारा एयर, गोमा एयर, सिमि्रक एयर, सीता एयरले उडान भरिरहेका छन् । हुम्लाको सिमिकोट विमानस्थलबाट हिल्सा नाकासम्म माउन्टेन एयर, मनाङ एयर, सिमि्रक एयर, श्री एयर लगाएतका हेलिकप्टरले तीर्थयात्रुलाई ल्याउने-लैजाने गर्दछन् ।

 

हवाइजहाज र हेलिकप्टरहरुको चाप बढेपछि सिमिकोट एयरपोर्टमा पार्किङकोे समेत समस्या हुने गरेको वरिष्ठ अधिकृत लिलाप्रसाद श्रेष्ठले बताए । उनले यात्रुको चाप बढेकाले एयरपोर्ट विस्तारको काम सुरु गर्न लागिएको पनि उनले जानकारी दिए ।

‘एयरपोर्ट विस्तारको लागि जग्गा अधिकरण गर्ने प्रक्रिया अघि बढिसकेको छ । यो प्रक्रिया अन्तर्गत ९५ प्रतिशत काम पनि भइसकेको छ,’ श्रेष्ठले भने, ‘एयरपोर्ट बिस्तार भएपछि पार्किङको समस्या समेत हट्नेछ ।’हिल्सा टाभल्सका बिष्णु राउतले भने अहिले मानसरोबर जाने तिर्थयात्रीका चापका कारण नेपालगन्जमा होटल भरी भराउ रहेको बताए ।


Facebook Comment


No ads found for this position