पूर्वराजाको चिया बगानले कर तिरेन

तुलसीप्रसाद निरौला,बिर्तामोडः पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको छ ।

आर्थिक वर्ष ०६२/६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको  दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए । आर्थिक वर्ष ०७३/७४ सम्ममा बगानले जग्गाको ३ करोड १५ लाख ६३ हजार ६ सय ७१ रुपैयाँ ६५ पैसा कर तिर्न बाँकी देखिएको उनले जानकारी दिए ।

अहिलेको चलनचल्तीको भाउ र बगानभित्र रहेका अन्य संरचनाको सबैको कर लगाउँदा बगानले २५ करोडभन्दामाथि तिर्नुपर्ने अवस्था आउने स्रोतको भनाइ छ ।  दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालका अनुसार चिया बगानले ओगटेको जग्गाको एकीकृत सम्पत्ति कर अत्यन्त न्यून गरेर राखिए पनि विभिन्न बहानामा तिर्न अटेर गरेको उनले बताए ।

दमक नगरपालिकाले बारम्बार बगानलाई कर तिर्न पत्राचार पनि गर्दै आएको छ । दाहालका अनुसार दुई वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्थानीय सबै राजनीतिक दलका प्रतिनिधिले भेटेर कर तिर्न आग्रह गरेका थिए । त्यो समयमा पूर्व राजा शाहले कर तिर्ने प्रतिबद्धता जनाएका थिए, उनले बताए ।

बगान प्रशासनसँग बारम्बार छलफल भए पनि कर तिर्न तयार रहेको बताउने तर कहिल्यै नतिर्ने गरेको स्रोतले जनाएको छ । आफूहरू छलफल र पत्र काट्दा हैरान भइसकेको कर शाखाको भनाइ छ ।

४ वर्षअघि नगरपालिकाले मालपोत कार्यालय दमकलाई पत्राचार गरेर नै कर नतिरेको भन्दै बगानको जग्गा बिक्री तथा नामसारी गर्न आएमा नगराउन पत्र पठाएको बताइएको छ । कर शाखा प्रमुख दाहालका अनुसार मालपोत कार्यालयलाई जग्गाको कारोबार भएको अवस्थामा नगरपालिकालाई जानकारी गराउन अनुरोध गरिएको छ ।

साविक दमक–१५ मा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चिया बगानसँंगै भित्र चिया उद्योग र मिनी दरबारसमेत रहेको छ । त्यसको एकीकृत सम्पत्ति कर भने अहिलेसम्म नगरपालिकाले निर्धारण गरेको छैन । आफूहरूले हदैसम्मको कसरत गरेको र सहुलियत प्रदान गरेको भए पनि बगानले कर तिर्न नखोजेको नगरपालिकाको भनाइ छ ।

दमक नगरपालिकाले मालपोत कार्यालय दमकबाट चिया बगानको नाममा रहेको जग्गाको विवरण मागेर न्यूनतम् रूपमा खेतको मोल राखी एकीकृत सम्पत्ति कर लगाउने निर्णय गरेको दमक नगरपालिकाका कर शाखा प्रमुख दाहालले बताए ।


Facebook Comment


No ads found for this position