मानसरोवर जाने यात्रुले सुर्खेत र नेपालगञ्जका होटल भरिभराउ

१ असार, नेपालगञ्ज । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोवर तथा कैलाश जाने तीर्थ यात्री बढेपछि सुर्खेत र नेपागन्जका होटलहरु भरिभराउ भएका छन् । तीर्थयात्रुको चाप बढेपछि होटलहरुमा रुम पाउन समेत गाह्रो भएको यात्रुले बताएका छन् ।

गतवर्षको तुलनामा मानसरोवर जाने तीर्थयात्रु दोब्बरभन्दा बढी आएपछि होटलहरुमा कोठा पाउन गाह्रो भएको हो । तीर्थ यात्रुहरु बढेपछि मानसरबोरको प्रवेशद्वार हुम्लामा हवाइजहाज तथा हेलिकोप्टरलाई यात्रु ओसार-पसार गर्न गर्न समेत भ्याइनभ्याई भएको छ ।

मानसरोबर तथा कैलाश जाने प्रमुख मार्ग तातोपानी नाका र रसुवा नाका बन्द भएपछि हुम्लाको सिमीकोट हुदै हिल्सा नाकामा तीर्थयात्रीको चाप बढेको हो । हुम्लाको सिमीकोट हवाई यातायात नेपालगन्ज तथा सुर्खेतबाट उडान हुने भएपछि सुर्खेत र नेपालगन्जका होटलहरु भरिभराउ भएको हो ।

गएको वर्ष ९ हजार ६ सय तीर्थयात्रु कैलाश तथा मानसरोबर पुगेकोमा यो बर्ष त्यसको दोब्बर हुने अनुमान गरिएको होटल सिद्धार्थ, नेेपालगन्जका म्यानेजर केशब न्यौपाने बताए । उनले कहिलेकाँही प्रतिकुल मौसमका कारण हुम्लाको हवाई उडान नभए कोठाको ब्यबस्थापन गर्न निकै गाहो हुने गरेको बताए ।

उनले भने,’अहिले हाम्रो होटलमा ८० वटा रुमहरु छ, प्रायः जसो सबै रुमहरु भरिभराउ नै हुने गरेको छ । तर हुम्लाको उडान नहुँदा अलि समस्या हन्छ ।’


नेपालगन्जमा मानसरोबार जाने तीर्थयात्रीहरुका कारण कलपत्रु, सिग्नेट, स्नेह तथा होटल सेन्टरप्लाजा होटलहरुमा समेत भरिभराउ रहेको छ ।

होटल सेन्टर प्लाजाका संचालक देव अर्याल भन्छन्-‘विस्तारै विस्तारै पश्चिम नेपालको पर्यटनको विकास भएको छ । यसले गर्दा होटलमा लगागनी गर्न समेत आँट आएको छ ।’ उनले मानसरोवर तथा खप्तड, रारामा पर्यटकको आगनमनले हामी होटल ब्यबसायीमा आँट ल्याएको बताए ।

त्यस्तै सुर्खेतको शुभ होटल पनि तीर्थयात्रीका कारण भरी भराउ रहेको छ । केही महिना अघिदेखि मात्र मात्र २८ करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको होटलका रुमहरु सञ्चालन भए लगत्तै भरिभराउ भएको हो ।

हुम्लामा तीर्थयात्रीको चाप बढेपछि यो पटक अहिलेसम्मको सबैभन्दा बढी फ्लाइट भएको सिमीकोट नागरिक उड्ययन कार्यलयका वरिष्ठ अधिकृत लिलाप्रसाद श्रेष्ठले बताए । यात्रुको चाप बढकेको दुई तीन वर्ष यता सामान्य तया ९० देखि १०० सम्म उडान हुने गरेको थियो ।

तर शुक्रबार १३३ अवतरण र १३५ उडान भएको उनले बताए । यो अहिलेसम्म सिमीकोटकोमा भएको सबैभन्दा बढी उडान भएको हो ।

तीर्थयात्रुको चाप बढे सगै हुम्लामा अहलि नेपालगन्देखि तारा एयर, गोमा एयर, सिमि्रक एयर, सिता एयर उडान भरिरहेका छन् भने हुम्लाको सिमीकोटदेखि हिल्सा नाका सम्म माउन्टेन एयर, मनाङ एयर, सिमि्रक एयर, श्री एयर लगायतका हेलीकप्टरले सिमीकोटदेखि हिल्सासम्म तीर्थ यात्रुलाई ल्याउने लैजाने गरेका छन् ।


मानसरोवर तथा कैलाश पर्वत जाने तीर्थ यात्रु बढेसँगै हवाईजहाज तथा हेलीकोप्टरहरुको चाप बढेपछि हुम्लाको सिमीकोट एयरपोर्टमा कहिलेकाँही पार्किङकोे समेत समस्या हुने गरेको बरिष्ठ अधिकृत लिलाप्रसाद श्रेष्ठले बताए ।

उनले अबको केही बर्षमा यो समस्या समेत हटने बताए । ‘एयरपोर्ट विस्तारको लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढिसकेको छ । यो प्रक्रिया अन्तगर्त ९५ प्रतिशत काम पनि भईसकेको छ’ उनले भने ।


Facebook Comment


No ads found for this position