नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको ‘चलो नेपाल’ अभियान फ्लप खाँदै

असार, काठमाडौं । भारतीय पर्यटकलाई लक्षित गर्दै अहिले नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको ‘गर्मी से बेहाल चलो नेपाल’ अभियान प्रभावहीन बनेको छ । चालु गर्मी सिजनमा भारतीय पर्यटकहरुको आगमन उत्साहजनक छैन ।
यो सिजनको होटल अकुपेन्सी मुख्य गरी भारतीय पर्यटकमै निर्भर रहन्छ । आफ्नो देशको चर्को गर्मी छल्न भारतीयहरु यतिबेला बढी संख्यामा नेपाल आउने गर्छन् । यही प्रवृत्तिलाई प्रोत्साहित गर्न पर्यटन बोर्डले ‘चलो नेपाल’ अभियान सञ्चालन गरेको हो । तर, अभियानले भारतीयहरुलाई खासै छुन सकेको देखिँदैन ।
होटल व्यवसायी महासंघका महासचिव बिनायक शाहका अनुसार अहिले देशका ठूला होटलको अकुपेन्सी ४० देखि ४५ प्रतिशत मात्रै छ । जबकि भूकम्पअघिको वर्ष २०१४ मा अकुपेन्सी ६० प्रतिशत थियो ।
भारतीय पर्यटकहरुमा दुई वर्षअघिको नाकाबन्दीको असर अझै बाँकी रहेको शाह बताउँछन् । ‘नाकाबन्दीका कारण आफूहरुप्रति नेपालीहरुको अझै नकारात्मक दृष्टिकोण रहेको उनीहरुले ठानिरहेका छन्, हाम्रो सरकारले पनि यो भ्रम हटाउन कुनै पहल गरेन,’ उनले भने ।
नेपालमा रहेका विभिन्न मठमन्दिर भ्रमण तथा प्राकृतिक दृष्यावली अवलोकनको लागि भारतीयहरु नेपालमा आउने गरेका छन् ।
दूरीका हिसाबले पनि नेपाल भारतीय पर्यटकको प्राथमिकतामा पर्नुपर्ने हो । साथैसाथै धार्मिक आस्थाका आधारमा पनि नेपाल उनीहरुका लागि उचित गन्तब्यको रुपमा लिने गरिन्छ । तर, यो सम्भाव्यताको दोहन हुन सकेको छैन । भूकम्प अघिका वर्षहरुमा नेपालमा आउने कुल पर्यटकमध्ये ३० प्रतिशत भारतीय पर्यटक रहने गरेका थिए । तर अहिले यो लगभग २० प्रतिशतको हाराहारीमा झरेको छ ।
भारतीय पर्यटक उल्लेख्य मात्रामा नभित्रिदा मुख्य रुपमा होटल व्यवसायीहरुलाई मर्का परेको छ । अकुपेन्सी कमजोर भएका कारण होटल क्षेत्रले नाफा गर्न सक्ने स्थिति छैन । उनीहरुलाई सञ्चालन खर्चमै सीमित छन् ।
खर्चालु बन्दै भारतीय पर्यटक
कतिपयले भारतीय पर्यटक पशुपति मन्दिरमा आउने र पूजाआजा गरेर फर्कने भएकाले उनीहरुको पर्यटन क्षेत्रमा खासै योगदान नरहेको विश्वास गर्छन् । तर यो सोचाई अब पुरानो भइसकेको छ । अहिले भारतीय पर्यटकहरुको खर्च गर्ने प्रबृत्ति बढ्दै गएको व्यवसायी बताउँछन् ।
महासचिव शाह भन्छन्, ‘भारतीय पर्यटकले खर्च गर्दैनन्, पशुपति आएर घुमेर जान्छन् भन्ने धारणा १० वर्ष पुरानो हो, अहिले उनीहरुको खर्च गर्ने प्रबृति बढ्दै गएको छ ।’
नेपालमा भारतीय पर्यटकहरु सडक तथा हवाईमार्ग हुँदै आउने गरेका छन् । हवाईमार्ग हुँदै काठमाडौं आएका पर्यटकहरु सवारी साधनमार्फत अन्य जिल्लामा जाने क्रममा घण्टौं थानकोट र मुग्लिन-नारायणगढको जाममा फस्नुपर्ने अवस्था छ ।
व्यवसायीहरु सरकारले आवश्यक मात्रामा पूर्वाधार निर्माण गर्न नसकेको बताउँछन् ।
व्यवसायीको प्याकेज आएनः बोर्ड
भारतीय पर्यटक भित्राउन सरकारी तवरबाट आवश्यक पहल नभएको व्यवसायीहरुको गुनासो छ । तर नेपाल पर्यटन बोर्डका सिइओ दिपक जोशी भने राज्यले यसका लागि आवश्यक पहल गरिरहेको बताउँछन् ।
उनले भने, ‘बिगत तीन-चार वर्ष त हामीले भारतमा प्रचारप्रसार गर्न नसकेको हो, तर अहिले भने फेसबुक तथा विभिन्न पत्रपत्रिकामा बिज्ञापन गरेर भारतीय पर्यटक नेपाल भित्राउन पहल गरिरहेका छौं ।’
पर्यटन व्यवसायीले आकर्षक प्याकेजहरु ल्याउन नसकेका कारण भारतीय पर्यटक आउन नसकेको उनको दावी छ । जोशीले भने, ‘व्यवसायीले पनि विभिन्न छुटका प्याकेजहरु ल्याएर पर्यटक तान्न पर्यो, हामीले त उहाँहरुकै प्याकेजको प्रचार गर्ने हो ।’
अहिले पर्यटकहरु बढिरहेको भए पनि धेरै होटल खुलेका कारण अकुपेन्सी कम भएको जोशीको तर्क छ ।
हुन पनि एकै वर्षमा १ हजारदेखि १५ सयसम्म होटलका कोठाहरु बढ्ने गरेका छन् । होटलको संख्या बढे पनि भौतिक पूर्वाधारको अवस्थामा भने खासै सुधार आउन सकेको छैन ।
ट्रेकिङमा भारतीय पर्यटक न्यून
ट्रेकिङमा भारतीय पर्यटकको हिस्सा निकै कम छ । नेपालमा ट्रेकिङमा जाने कुल बिदेशी पर्यटकहरुमध्ये सार्क राष्ट्रभित्रका ७.१ प्रतिशत मात्रै रहेका छन् ।
यसमा भारतीय पर्यटकको हिस्सा न्यून रहेको ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का महासचिब कर्ण लामा बताउँछन् ।