परासीमा राजपा कार्यकर्ता र प्रहरीवीच झडप, रबरको गोली लागेर तीन घाइते

३ असार, नवलपरासी । नवलपरासीको परासीमा राजपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले चलाएको रवरको गोली लागि तीन जना घाईते भएका छन् ।

परासीस्थित बुद्धचोकमा राजपाले विरोध सभाको आयोजना गरेको थियो । सभामा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

महन्थ ठाकुर बोलिरहेका बेला राजपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । सभा भइरहेको स्थानमा रहेको मध्य नेपाल यातायात व्यवसायी समितिको कार्यालय तोडफोड गरेपछि झडप सुरु भएको थियो ।

तोडफोड रोक्न प्रहरीले अश्रु ग्याँसका साथै रवरको गोली हानेर राजपाका कार्यकर्तालाई तितरवितर बनाएको थियो । रबरको गोली लागि गेरमीका सुरज गुप्ता र जहदाका नरसिंह चौधरी घाइते भएका छन् ।

अर्का एकको नाम खुलेको छैन ।

मञ्चबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले तोडफोडमा नत्रिन र संयमित हुन आग्रह गर्दा पनि राजपा कार्यकर्ताले मानेनन् ।


Facebook Comment


No ads found for this position