के तपाई चन्द्रागिरीडाँडा पुग्नुु भयो त ?

काठमाडौं उपत्यका र आसपासका मनोरम दृश्य हेर्ने रहर कसलाई पो हुदैन र ? त्यहि रहर पूरा गर्न हराभरा र सुन्दर प्राकृतिक दृश्य अवलोकण गर्ने ठाउँ बनेको छ चन्द्रागिरी । शहरको धुवाँ धुलो पन्छाउँदै काठमाडौं नजिकै रहेको चन्द्रागिरीडाँडा पुग्ने क्रममा केबुलकारबाट देखिने प्राकृतिक सुन्दरताले सबै दंग समेत हुन्छन् ।
हरिया सुन्दर डाँडा, अनि केबुलकारका आवातजावत गर्ने डिब्बाहरुले मनै आनन्दित बनाउँछ । झन्डै १० मिनेटको यो यात्रामा काठमाडौं उपत्यका मात्र होइन हरिया बनजङगलमा रहेका जीवजन्तु पनि देख्न पाइन्छ । लहरै लागेका रूख तथा बुट्यान र हराभरा भएका डाँडापाखाका सुन्दर दृश्यले जो सुकैको मन लोभ्याउने गरेको छ ।
चन्दागिरी केबलकारको यो यात्रा शुरु हुन्छ थानकोटको त्रिभुवनपार्क परिसरबाट । करिब साढे दुई किलोमिटर उचाइमा रहेको चन्द्रगिरी डाँडा पुग्न केबलकारबाट झन्डै १० मिनेट लाग्ने गरेको छ । समुद्री सतहबाट दुई हजार पाँच सय ५१ मिटरको उचाईमा रहेको चन्द्रागिरीडाँडा मनोरम दृश्यका लागि मात्रै नभई धार्मिक, साँस्कृतिक र पर्यटन प्रवद्र्धनका लागि पनि चर्चित छ ।
चन्द्रागिरी हिल्स प्रालिले सञ्चालनमा ल्याएको चन्द्रागिरी केवुलकारमा ३८ वटा मानिस चढ्ने र ३ वटा सामान बोक्ने सहित ४१ वटा क्याविन रहेका छन् । केबलकार सञ्चालनमा आएको एक बर्षमा करिब पाँच लाख पर्यटकले चन्द्रगिरीडाँडा अवलोकन गरिसकेका छन् । सञ्चालकहरुले भने आन्तरिक पर्यटनलाई सुदृढ पार्दै देशको अर्थतन्त्रमा समेत टेवा पु¥याउने अपेक्षा रहेको बताउछन ।
बालबालिका, युवा र वृद्धवृद्धाका लागि चन्द्रागिरी डाँडामा अत्याधुनिक रिसोर्ट, मनोरञ्जनपार्क, भ्युटावरको व्यवस्था गरिएको छ । दृश्यालोकनका क्रममा चन्द्रगिरी डाडाबाट देखिने उत्तरी हिम शृङखलाले यो यात्रालाई अझ मनोरम बनाउने गरेको छ । त्यतिमात्र होइन दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतिदेवीलाई बोकेर पृथ्बी परिक्रमा गर्न निस्कदा सतिदेबीको भाल अर्थात् निदार पतन भएको बिश्वासले भालेश्वर मन्दिरको दर्शन गर्नेको यहाँ घुइचो नै लागेको हुन्छ ।।