यी हुन् स्थानीय तहको दोस्रो चरणको निर्वाचनको रोचक परिणाम

असार २१,- स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना जारी रहँदा मंगलबार केही रोचक परिणाम आएका छन् । झापाको कमल गाउँपालिका अध्यक्षमा बराबरी मत आएपछि मतगणना कार्यविधिअनुसार गोलाप्रथाबाट जित–हारको टुंगो लगाइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पार्टीले नपत्याएका उम्मेदवारले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन् ।

कपिलवस्तुकै शिवराज नगरपालिकामा २४ वर्षीया शिवकुमारी चौधरीले उपप्रमुख जितेकी छन् । कैलालीको टीकापुरमा माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले अग्रता लिइरहे पनि धेरैको अनुमान विपरीत परिणाम एमालेको पोल्टामा पुगेको छ । कैलालीकै भजनीमा फोरम लोकतान्त्रिकका उम्मेदवार सुरुदेखि नै अग्रस्थानमा भए पनि अन्तिममा नतिजा माओवादी केन्द्रको पक्षमा आएको छ ।

नेपालगन्ज उपमहानगरमा २० वर्षपछि धवलशमशेर जबराले पुन: प्रमुखमा जितेका छन् । झापाको कचनकवलमा हिन्दुवादी राप्रपाबाट मुसलमान समुदायका अञ्जार आलमले चुनाव जितेका छन् ।

“जनताले बराबर मत दिए, भाग्यले जितेँ” 
मेनुका काफ्ले, अध्यक्ष 
कमल गाउँपालिका, झापा
कमल गाउँपालिका अध्यक्षका लागि भएको प्रतिस्पर्धामा दुई प्रतिद्वन्द्वीको बराबर मत आयो– ८ हजार २ सय ७५ । एमालेकी मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईको समान मत आएपछि गोलाप्रथाबाट काफ्ले प्रदेश नम्बर १ कै पहिलो महिला प्रमुख चुनिइन् ।

दुवै उम्मेदवारले बराबरी मत पाएकाले आगामी दिनमा पनि सहकार्य गरेरै अघि बढ्ने उल्लेख गर्दै उनले भनिन्, ‘हामी दुवैलाई जनताले बराबर मत दिएका छन् । भाग्यले मैले जितें । तर, काम गर्ने सवालमा उहाँ (हुकुमसिंह) सँग सहकार्य गरेरै अघि बढ्छु ।’

“जिम्मेवारी थपियो, पढाइ छुट्ने हो कि ?”
शिवकुमारी चौधरी, उपमेयर 
शिवराज नगरपालिका, कपिलवस्तु
कम उमेर र तार्किक भाषणले उम्मेदवारी दर्तादेखि नै चर्चामा थिइन् शिवकुमारी चौधरी (थारू) । शिवराज नगरपालिकामा मंगलबार उपमेयर चुनिएपछि २४ वर्षीया चौधरीको चर्चा चौगुना भएको छ ।

एमाले उम्मेदवार चौधरीले ५९६२ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवलाई २९३३ मतान्तरले जितिन् । नेपाल आदर्श उमाविमा बीएड तेस्रो वर्ष अध्ययनरत चौधरी आफूमाथि जिम्मेवारी थपिएसँगै पढाइ छुट्ला कि भन्ने चिन्तामा छिन् । एमएडसम्म पढ्ने उनको धोको छ ।

बीस वर्षपछि उही पदमा
धवलशमशेर राणा, मेयर 
नेपालगन्ज उपमहानगरपालिका
बीस वर्षअघि मेयर जित्दा धवलशमशेर राणा अर्कै पार्टीमा थिए । २०६२/६३ को जनआन्दोलनसँगै एमाले छाडेर राप्रपा प्रवेश गर्दा धेरैलाई लागेको थियो– यिनले आफ्नो राजनीतिक भविष्य दाउमा लगाए । नभन्दै ०६४ र ०७२ का संविधानसभा निर्वाचनमा बाँके–३ बाट पराजय नै व्यहोरे । तर नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा भने अघिल्लो कार्यकाल (०५४–०५९) कै सफलता पछ्याउँदै मंगलबार सानदार जित हासिल गरे । उनी १२५०५ मत ल्याएर विजयी भएका हुन् । ।

डेढ वर्षअघि फोहर फ्याँकेकै कुर्सीमा
मञ्जु मलासी, मेयर 
दीपायल–सिलगढी नगरपालिका
डेढ वर्षअघि नगर सरसफाइको माग राखी दीपायल–सिलगढी नगरप्रमुखको कुर्सीमा फोहर फ्याँकेर चर्चा बटुलेकी मञ्जु मलासी अहिले त्यही कुर्सीमा आफैं पुगेकी छन् । ४४१८ मत प्राप्त गरी विजयी भएकी यी एमाले उम्मेदवार ७ नं. प्रदेशमा मेयर हुने एक्ली महिला हुन् । नगरपालिकालाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘५ वर्षभित्र दीपायल–सिलगढीलाई सुशासनको नमुना सहर बनाउँछु । पुरुषले गर्न सक्ने महिलाले नसक्ने भन्ने भ्रम हटाउन रातदिन नभनी खटिने छु ।’

“दुई पार्टीले पत्याएनन्, जनताले जिताए”
रजतप्रताप शाह, मेयर 
कृष्णनगर नगरपालिका, कपिलवस्तु

४५ वर्षे राजनीतिकर्मी रजतप्रताप शाहलाई आफ्नो आस्थाको दल संघीय समाजवादी फोरमले पत्याएन । पार्टीका तर्फबाट उम्मेदवारी सम्भव नभएपछि फोरम लोकतान्त्रिकमा प्रवेश गरे । कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनाउने वचन दिएको लोकतान्त्रिकले पनि अन्तिममा उनलाई पाखा लगायो । दुवै दलले नपत्याएपछि स्वतन्त्र उम्मेदवारी दिएका शाह अन्तत: ४ हजार १ सयभन्दा बढी मतान्तरले मंगलबार विजयी भए । उनले ७ हजार ३ सय २८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवप्रसाद कलवारको ३ हजार २ सय ५ मत आएको थियो । साभार कान्तिपुर


Facebook Comment


No ads found for this position