यी हुन् झिनो मतान्तरले हार्नेहरू

काठमाडौं : स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको छ । पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जित-हार व्यहोरेका छन् ।

मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ । झापाको कमल गाउँपालिकामा कांग्रेस-एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी हुनुभयो । अहिलेसम्म गाउँ÷नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो । कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी हुनुभएको हो ।अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जित-हारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई-दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । २० भन्दा कम मतान्तरले कांग्रेस, एमाले र माओवादी तीन-तीन तहमा पराजित भएका छन् ।

एमालेले अछामको चौरपाटी गाउँपालिकामा एक मत, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ८ मत, प्युठानको मान्डवी गाउँपालिकामा १२ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा १५ मत र रोल्पाको त्रिवेणी गाउँपालिकामा २० मतले मात्र निर्वाचन जितेको छ । त्यस्तै, उसले चिशंखुगढी गाउँपालिका ओखलढुंगामा ३ मत, अठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा १३ मत र ऐरावती गाउँपालिका, प्युठानमा १६ मतले निर्वाचन हारेको छ ।कांग्रेसले ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकामा १३ मत र प्युठानको ऐरावती गाउँपालिकामा १६ मतले निर्वाचन जितेको हो । कांग्रेसले अछामको चौरपार्टीमा एमालेसँग १ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका एमालेसँग १५ मत र सोलुको महाकुलुङ गाउँपालिकामा माओवादीसँग २० मतले निर्वाचन हारेको छ । त्यसैगरी, माओवादीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ३ मत र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २० मतले निर्वाचन जितेको छ । उसले रामप्रसाद राई गाउँपालिका, भोजपुरमा ८ मत, मान्डवी गाउँपालिका, प्युठानमा १२ मत र त्रिवेणी गाउँपालिका, रोल्पामा २० मतले निर्वाचन हारेको छ ।

५० मतान्तरले जित-हार भएका स्थानीय तह प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रले अन्य कतिपय स्थानमा पनि ५० भन्दा कम अतान्तरले निर्वाचनमा जित-हार व्यहोरेका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा एमाले उम्मेदवार २२ मतले विजयी भए । एमाले उम्मेदवार निमीदोर्जी शेर्पाले १४ सय २४ मत र कांग्रेसका चुङवा शेर्पाले १४ सय २ मत प्राप्त गर्नुभएको थियो । वैतडीको दशरथचन्द्र नगरपालिकामा ३१ मतान्तरले कांग्रेसका उम्मेदवार नरेन्द्रसिंह थापाले निर्वाचन जित्नुभयो । उहाँले ३७ सय ६२ र राप्रपा उम्मेदवार पुष्करराज जोशीले ३७ सय ३१ मत प्राप्त गर्नुभएको थियो । खोटाङको साकेला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार खड्का ३५ मतले विजयी हुनुभयो । उहाँले एक हजार २० र कांग्रेसका उम्मेदवार इन्छुराम रानाले ९ सय ८५ मत प्राप्त गर्नुभएको थियो । भोजपुरको भोजपुर नगरपालिकामा कांग्रेस उम्मेदवार कैलाशकुमार आले ३६ मतले विजयी हुनुभयो । उहाँले ४ हजार ७० मत ल्याउनुभयो भने एमाले उम्मेदवार गणेशकुमार श्रेष्ठले ४ हजार ३४ मत ल्याउनुभएको थियो । वैतडीकै शिवनाथ गाउँपालिकामा पनि कडा टक्करबीच चुनावी नतिजा सार्वजनिक भयो । कांग्रेस उम्मेदवार करुण साउदले २३ सय ५१ मत ल्याउनुभयो भने एमाले उम्मेदवार भरत मदै २३ सय १४ मत ल्याउँदै ३७ मतले पराजित हुनुभयो । बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेसले ३८ मतले निर्वाचन जित्यो ।

कांग्रेस उम्मेदवार पदम बडुवालले २९४० मत ल्याएर एमालेका गगन रावललाई पराजित गर्नुभयो । रावलले २९०२ मत ल्याउनुभएको थियो । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा एमाले उम्मेदवार डुफुकुमार बास्तोलाले कांग्रेस उम्मेदवार धनराज राईलाई ४२ मतले पराजित गर्नुभयो । बास्तोलाले १६९८ र राईले १६५६ मत प्राप्त गर्नुभएको थियो । इलामको माई नगरपालिकामा एमालेले ५२ मतले निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न सफल भयो ।एमाले उम्मेदवार दीपककुमार थेवेले ६ हजार ४८ र कांग्रेस उम्मेदवार विष्णुमाया आचार्यले ५९ सय ९६ मत प्राप्त गर्नुभएको थियो । यसअघि ३१ वैशाखमा भएको प्रदेश नम्बर ३, ४ र ६ को निर्वाचनमा पनि कतिपय स्थानमा झिनो मतान्तरले जित-हार भएको थियो । त्यसवेला डोल्पाको मुडेचुला गाउँपालिकामा माओवादीले एमालेलाई दुई मतान्तरले पराजित गर्दै जितेको थियो ।माओवादी उम्मेदवार दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी बन्नुभएको थियो भने एमालेका उम्मेदवारले ९३१ मत प्राप्त गरेका थिए ।

त्यस्तै, पहिलो चरणकै निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा पनि माओवादीले झिनो मतान्तरले जित हासिल गरेको थियो । माओवादीका उम्मेदवार रजबहादुर शाहीले तीन मतले मात्र जित्नुभयो । उहाँले १३१७ मत प्राप्त गर्नुभएको थियो । शाहीले एमाले उम्मेदवार भैरवबहादुर रोकायलाई पराजित गर्नुभएको हो । नवलपरासीको वुङडीकालिकामा कांग्रेस उम्मेदवार दुर्गाबहादुर रानाले ९२ मतले जित्नुभएको थियो । उहाँले एमाले उम्मेदवार श्याम श्रेष्ठलाई हराउनुभएको हो । त्यस्तै, नवलपरासीकै देवचुली नगरपालिकामा कांग्रेसले ६९ मतले जितेको थियो । कांग्रेस उम्मेदवार पूर्णकुमार श्रेष्ठले एमालेका हरि न्यौपानेलाई पराजित गर्नुभएको हो ।स्याङ्जाको अर्जुनपौचारीमा कांग्रेसका दीर्घनारायण अर्यालले एमाले उम्मेदवार मोहन केसीलाई ७८ मतले पराजित गर्नुभएको थियो ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position