निगमले ल्यायो दुई र्‍याम्प बस

काठमाडौं: नेपाल वायुसेवा निगमले १० करोड रुपैयाँ लागतमा दुईवटा र्‍याम्प बस जर्मनीबाट भित्र्याएको छ । जर्मनीबाट पानीजहाज चढाएर ल्याएका ती बस अहिले वीरगन्ज भन्सार नाकामा आइपुगेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो । बस कोलकाताबाट ट्रकमा १० दिन लगाएर वीरगन्ज ल्याइपुर्‍याइएको हो ।

महाप्रबन्धक कंसाकारका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको निगमले यात्रुको सहजताका लागि नयाँ बस ल्याएको हो । बस सडकमा गुडाएर ल्याउन नसकिने हुँदा ट्रकमा राखेर ल्याउनुपरेको उहाँले बताउनुभयो । अब एक-दुई साताभित्रै बस विमानस्थलमा आइपुग्नेछ ।

विमानबाट ओर्लिएका यात्रुलाई बाहिर ल्याउन नयाँ बस प्रयोग गरिनेछ । यात्रुलाई धावनमार्गबाट बाहिर निकाल्न पुराना बसले अपुग भएपछि जहाज होल्डिङ’को सयम बढ्दो थियो । निगमले जहाज अवतरणको समयलाई मध्यनजर गरी नयाँ बस ल्याएको हो । विमानस्थलमा विभिन्न गन्तव्यबाट आएका जहाजका यात्रु बाहिर ल्याउन निगमलाई १५ मिनेटभन्दा बढी समय लाग्ने गरेको छ, जसका कारण जहाज आकाशमै होल्ड गर्नुपरेको गुनासो बढेसँगै नयाँ र्‍याम्प बस ल्याइएको निगमले जनाएको छ ।

‘निगमको प्रमुख आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डलिङ हो’, उहाँले भन्नुभयो, ‘ समस्या समाधान गर्दै विश्वसनीयता बढाउनकै लागि बस ल्याइएको हो ।’ निगमसँग अहिले यात्रु बोक्नका लागि पुराना पाँचवटा मात्रै बस छ, जसका कारण यात्रुलाई धावनमार्गबाट समयमै बाहिर निकाल्न सक्ने अवस्था छैन । नयाँ बस आएपछि १५ मिनेटको समय पाँच मिनेटमा झर्ने उहाँको दाबी छ ।


Facebook Comment