नयाँ शक्तिको दस्तावेजसँग हुवहु मिल्यो साझा पार्टीको दस्तावेज

काठमाडौं – एक बर्षभन्दा पहिला गठन भएको नयाँ शक्तिको आर्थिक कार्यविधि र स्थानीय तहको चुनाव अगाडि घोषणा भएको साझा पार्टी नेपालको कार्यविधि मिल्दोजुल्दो देखिएको छ ।

केही समयअघि पत्रकारिता छोडेर साझा पार्टी गठन गरेका रवीन्द्र मिश्रको पार्टीको आर्थिक निर्देशिका भने नयाँ शक्ति पार्टी, नेपालको आर्थिक कार्यविधिसँग धेरै ठाँउ मेल खाने खालको छ ।

नयाँ शक्ति नेपाल र साँझा पार्टीको आर्थिक कार्यविधि रातोपाटीले अनुसन्धान गरेपछि यस्तो भेटिएको हो ।
नयाँ शक्तिले २०७२ फागुनमा बनाएको आर्थिक कार्यविधि त्यतिबेलै सबै मिडियालाई इमेल पनि गरेको थियो । जुन आर्थिक कार्यविधि नयाँ शक्तिको तत्कालीन आर्थिक व्यवस्थापन तथा सुशासन विभागका संयोजक रामेश्वर खनालले तयार पारेका थिए । हाल रामेश्वर खनाल नयाँ शक्तिमा भने छैनन् । उनी राजनीति आफ्नो वशको विषय रहेनछ त्यसैले कुनै पनि राजनीतिक पार्टीमा आवद्ध हुन्नँ भन्दै स्वतन्त्र बसेका छन् ।

नयाँ शक्ति छाडेर हिँडेका मुमाराम खनाल चाहीँ अहिले साझा पार्टीमा छन् । साझा पार्टीले आफ्नो वेवसाइटमा आर्थिक कार्यविधि राखेको छ । जसको सामन्य अध्ययनपछि हामीले नयाँ शक्तिको कार्यविधिसँग मिल्ने पाटाहरु हेरेका थियौँ । यस्तो खोजमा धेरै ठाँउमा जस्ताको त्यस्तै कपी गरेको भेटिएको छ ।

साझा पार्टीको आर्थिक निर्देशिका र नयाँ शक्तिको आर्थिक कार्यविधिको तुलनात्मक अध्ययन गर्दा लगभग हुबहु नै भेटियो । साझा पार्टी र नयाँ शक्तिको संगठनको संरचना केही फरक भएको हुनाले साझा पार्टीले संगठन संरचनाअनुसारको भाषा र नयाँ शक्ति उल्लेख गरेका ठाउँमा साझा पार्टी उल्लेख गरेर निर्देशिका निर्माण गरेको छ । त्यस्तै नयाँ शक्तिको कार्यविधिमा बीचतिर भएको केही भागलाई साझा पार्टीले सबैभन्दा अन्तिममा राखेको छ तर भाषा भने हुबहु नै छ ।

यस अघि विजयकुमार पाण्डेसँगको अन्तरवार्तामा मिश्रले बाबुरामको पार्टी नयाँ शक्तिमा नगएर आफु बचेको बताएका थिए ।

नयाँ शक्तिको आर्थिक कार्यविधि र साझा पार्टीको आर्थिक निर्देशिकाको तुलनात्मक अध्ययन गर्दा साझा पार्टीले यसरी हुबहु नै कपि गरेको भेटियोः

एक अर्काको पार्टीको डकुमेन्ट कसरी मिल्यो भन्ने विषयमा हामीले नयाँ शक्ति र साझा पार्टीका प्रवत्तासँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ । उहाँहरुसँग कुराकानी भएपछि धारणा पनि राख्नेछौँ ।

 

नयाँ शक्ति नेपालको

आर्थिक कार्यविधि, २०७२

पृष्ठभूमि:

1.          नयाँ शक्ति नेपाललाई सर्वसाधारणको नजरमा एउटा स्वच्छ, सदाचार-युक्त र वित्तीय अनुशासन भएको संगठनको रूपमा स्थापित गर्न यो आर्थिक कार्यविधिको तर्जुमा गरिएको छ. कार्यविधि निम्न आठ भागमा विभाजन गरिएको छ:

(1)     स्रोत परिचालन तथा कोष व्यवस्थापन

(2)     खर्च व्यवस्थापन

(3)     सम्पत्ति व्यवस्थापन

(4)     दायित्व व्यवस्थापन

(5)     लेखांकन र प्रतिवेदन

(6)     आन्तरिक नियन्त्रण र लेखा परिक्षण

(7)     सार्वजनिक उत्तरदायित्व

(8)     बिभिन्न तहका परिषद सदस्य तथा पदाधिकारीहरुको सम्पत्ति विवरण

 

स्रोत परिचालन तथा कोष व्यवस्थापन

2.          नयाँ शक्ति नेपाललाई आफ्ना राजनीतिक संगठन विस्तार गर्न, विभिन्न तहका निर्वाचनमा सहभागी हुन तथा समाज सुधारका विभिन्न गतिविधिहरू संचालन गर्न नियमित आर्थिक स्रोतको आवश्यकता पर्दछ. समितिको आर्थिक स्रोत मुलत: निम्नानुसार हुनेछ:

(1)   सदस्यता तथा नवीकरण शुल्क

(2)   उम्मेद्वारी शुल्क

(3)   चन्दा

(4)   सेवा शुल्क

(5)   प्रकाशनहरूको बिक्री

(6)   जिन्सी समान बिक्री

माथि उल्लेख गरिएका प्रत्येक स्रोतको कार्यविधि तलका प्रकरणहरूमा उल्लेख गरिएको छ.

3.          सदस्यता तथा नवीकरण शुल्क: (१) नयाँ शक्ति नेपाल आफ्नो संगठन संचालनका आधारभूत खर्चहरू धान्न पराश्रित हुनु हुँदैन भन्ने धारणा राख्दछ. त्यसैले यसका सदस्यहरूले गर्ने आर्थिक योगदान संगठन संचालन खर्चको महत्वपूर्ण स्रोत हुनेछ.

(२)         नयाँ शक्ति नेपालको सदस्यता लिने प्रत्येक व्यक्तिले सदस्यता लिंदाका बखत रु. १०० सदस्यता शुल्क बुझाउनु पर्नेछ.

(३)         यस्तो सदस्यता शुल्क मासिक रु २० का दरले ५ किस्तामा पनि बुझाउन सकिनेछ.

(४)         प्रत्येक साउन १ गते देखि मङ्सिर मसान्त भित्रमा रु. १०० वार्षिक सदस्यता नवीकरण शुल्क बुझाउन पर्नेछ.

(५)         मङ्सिर मसान्तभित्र वार्षिक सदस्यता नवीकरण शुल्क नबुझाउने सदस्यले पुस मसान्तभित्र शुल्कको २५ प्रतिशत जरिबाना सहित बुझाउन सक्ने छन्. त्यसो नगरेमा सदस्यता निलम्बन हुनेछ.

(५)         प्रत्येक वर्षको माघ मसान्त भित्रमा नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालयले सदस्यहरूको सुची अद्यावधिक गरी सार्वजनिक गर्ने छ.

(६)         नयाँ शक्ति नेपालको विभिन्न तहका परिषदहरूको निर्वाचन, स्थानीय, प्रादेशिक र व्यवस्थापिका-संसदको चुनावमा उम्मेदवार हुन सदस्यता नवीकरण गरी सदस्यहरूको सुचीमा नाम रहनु अनिवार्य हुनेछ.

(७)         सदस्यता नवीकरण नगरी तीन वर्ष लगातार निलम्बनमा रहेका सदस्यको सदस्यता खारेज हुनेछ. निलम्बनमा रहेका सदस्यले जुनसुकै बेला बक्यौता सदस्यता नवीकरण शुल्क र एकमुस्ट शत प्रतिशत जरिबाना तिरी सदस्यता नवीकरण गर्न सक्ने छन्. जुनसुकै बेला नवीकरण गरे पनि तत्काल पछिको माघ मसान्तमा मात्र निजको नाम सदस्यहरूको अद्यावधिक सूचीमा समावेश हुनेछ.

4.          उम्मेदवारी शुल्क: (१) नयाँ शक्ति नेपालको विभिन्न तहका परिषद् सदस्य र पदाधिकारीको निर्वाचनमा भाग लिन सदस्यले उम्मेदवारी शुल्क बुझाउनु पर्नेछ.

(२)         उम्मेदवारी शुल्क देहाय बमोजिम हुनेछ:

गाउँ परिषद् सदस्य                      रु. २००

नगरपालिका परिषद् सदस्य        रु. ५००

जिल्ला परिषद् सदस्य                                 रु. २,०००

केन्द्रीय परिषद् सदस्य                                रु. ५,०००

(३)         गाउँ सभा, नगर सभा, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा नयाँ शक्ति नेपालको प्रतिनिधित्व गरी चुनावमा भाग लिन चाहने सदस्यले निर्धारित निर्वाचन क्षेत्रमा रहेका सदस्यहरूबाट निर्वाचित हुनु पर्नेछ. यस्तो निर्वाचन समावेशी, सहभागितामुलक तुल्याउन उम्मेदवार हुन आवश्यक विशेषता सम्बन्धी मार्गदर्शन केन्द्रीय परिषदले जारी गर्न सक्नेछ. नयाँ शक्ति नेपालको सदस्यता लिएको तीन महिना पुगेको र केन्द्रीय परिषदले तोकेको प्रशिक्षण लिएको सदस्यले मार्गदर्शन बमोजिम उम्मेदवारीको निर्वाचनमा भाग लिन सक्नेछ.

(४)         गाउँ सभा, नगर सभा, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने निर्वाचनमा भाग लिन देहाय बमोजिम शुल्क बुझाउनु पर्नेछ:

गाउँ सभा सदस्य                          रु. ५००

नगर सभा सदस्य                       रु. १,०००

प्रदेश सभा सदस्य                       रु. ५,०००

प्रतिनिधि/राष्ट्रिय सभा                 रु. २०,०००

(५)         गाउँ सभा, नगर सभा, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन सदस्यहरूले निर्वाचन गरेको सदस्यले जम्मा गर्नु पर्ने निर्वाचन आयोगले तोकेको उम्मेदवारी शुल्क तथा धरौटी नयाँ शक्ति नेपालको सम्बन्धित परिषदले बुझाउने छ. सदस्यले बुझाउनु पर्ने छैन.

5.          सदस्यहरूबाट स्वैच्छिक योगदान: (१) नयाँ शक्ति नेपालका सदस्यहरूले अनिवार्य रूपमा बुझाउनु पर्ने सदस्यता शुल्क र वार्षिक सदस्यता नवीकरण शुल्क बाहेक मुलुकमा सेवामुखी असल राजनीतिलाई टेवा दिन आफ्नो हैसियत बमोजिम नगद वा वस्तुगत योगदान गर्न सक्ने छन्.

(२) नयाँ शक्ति नेपालले आफ्ना सदस्यहरूलाई आफ्नो सामाजिक संस्कार बमोजिमका गतिविधि गर्दा गर्ने खर्चको एउटा हिस्सा सेवामुखी असल राजनीतिलाई सबल तुल्याउन योगदान गर्न प्रेरित गर्ने छ.

(३) सदस्यहरूलाई नयाँ शक्ति नेपालका गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रमा रहने प्रशासकीय तथा तालीम भवनका लागि भूमि तथा भवन दान गर्न प्रेरित गरिनेछ.

(४) सदस्यले गर्ने स्वैच्छिक योगदानको रकमको कुनै सीमा रहने छैन.

(५) यस्तो योगदान गरेको कारणले मात्र नयाँ शक्ति नेपालमा कुनै विशिष्ट स्थान वा नियुक्ति वा मनोनयन गरिने छैन.

(६) भूमि वा भूमिसहितको भवन योगदान गरेमा त्यस्तो भूमिमा बन्ने वा बनेको भवनको नामकरण दाता सदस्यको वा निजले इच्छ्याएको व्यक्तिको नाममा गरिनेछ.

6.          चन्दा: (१) नयाँ शक्ति नेपालले व्यक्तिगत वा संस्थागत नि:शर्त चन्दा स्वीकार गर्ने छ. चन्दा बापत कुनै सुविधा, सहुलियत वा विशेषाधिकार दिइने छैन.

(२)                 एक आर्थिक वर्षमा एउटा व्यक्ति वा संस्थाबाट तल उल्लिखित रकम भन्दा बढी चन्दा स्वीकार गरिनेछैन:

●      व्यक्तिबाट:                            रु.   ५०,००० (रु. पचास हजार)

●      संस्था, फर्म, कम्पनीबाट:    रु. २०,००,००० (रु. बीस लाख)

(३)                 निम्न वर्गका व्यक्तिहरूबाट चन्दा स्वीकार गरिने छैन:

●      विदेशी नागरिक,

●      बहालवाला सरकारी कर्मचारी तथा पूर्णतः नेपाल सरकारको अनुदानमा आश्रित वा नेपाल सरकारको ५१ प्रतिशत भन्दा बढी स्वामित्व भएको संस्थाका कर्मचारी,

●      प्रचलित कानुन बमोजिम बैक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालो सूचीमा परेको व्यक्ति,

●      फौजदारी अभियोगमा जेल परेको व्यक्ति,

●      भ्रष्टाचारको अभियोगमा छानबिनको क्रममा रहेको, मुद्दामा रहेको वा अदालतले भ्रष्टाचारी भनी फैसला गरेको व्यक्ति.

(४)                 निम्न संस्था, फर्म वा कम्पनीबाट चन्दा स्वीकार गरिनेछैन:

●      विदेशमा दर्ता भएको,

●      नेपालमा दर्ता भएको भएपनि बिदेशी सरकारको ५१ प्रतिशत भन्दा बढी स्वामित्व भएको कम्पनीको सब्सिडीयरी संस्था फर्म वा कम्पनी,

●      प्रचलित कानुन बमोजिम बैक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालो सूचीमा परेको.

●      धार्मिक, साम्प्रदायिक उद्धेश्य भएका र त्यस्ता गतिविधि गर्ने संस्था

(५)                 चन्दा दिने व्यक्ति, संस्था, फर्म, कम्पनीको नाम, ठेगाना र दिएको रकमको अभिलेख राखिनेछ. यस्तो विवरण प्रत्येक छ महिनामा नयाँ शक्ति नेपालको वेबसाइटमा सार्वजनिक गरिनेछ. प्रत्येक आर्थिक वर्षको वित्तीय विवरणमा चन्दा संकलनको पूर्ण विवरण प्रकाशन गरिनेछ.

(६)                 दाताको नाम ठेगाना नखुलेको स्रोतबाट चन्दा, दान-दातव्य ग्रहण गरिने छैन. यदि कुनै दाताले व्यक्तिगत सुरक्षाको कारण जनाई आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेमा नयाँ शक्ति नेपालको अन्तरिक अभिलेखमा जनाई नाम सार्वजनिक गरिने छैन. तर नेपालको संविधान र प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायले यस्ता दाताको विवरण माग गरेमा उपलब्ध गराइने छ.

(६)                 चन्दा संकलन पारदर्शी, उत्तरदायी र सहभागितामुलक बनाइने छ. यस प्रयोजनका निम्न मानदण्ड अवलम्बन गरिनेछ:

●      रु दश हजार भन्दा माथिको चन्दा बैंक चेकबाट मात्र लिइने छ.

●      चन्दाको लागि कसैलाई पनि कुनै किसिमको दबाब दिइने छैन.

●      प्रत्येक वर्षको वैशाख र कत्तिकको १ गते देखि १५ गते सम्म चन्दा संकलन सप्ताह हुनेछ. नयाँ शक्ति नेपालको आधिकारिक परिचयपत्र, प्रचार सामग्री र चन्दाको लागि गरिएको अपिल सहित कम्तीमा पाँच जनाको समूहमा घर-दैलो कार्यक्रम गरी चन्दा संकलन गरिनेछ. चन्दाको रसिद दिइने छ र दर्ता-पुस्तिकामा स्थानमै विवरण चढाई चन्दा दाताको दस्तखत लिइने छ.

●      प्रत्येक नगरपालिका तथा बजार/आर्थिक क्षेत्रहरूमा व्यवसायीहरूलाई “असल राजनीतिको लागि लगानी गरौँ” भन्ने समूहमा आबद्ध हुन प्रेरित गरिनेछ. यस्ता समूहसंग नयाँ शक्ति नेपालले आर्थिक नीतिहरू, लगानी तथा व्यवसायका लागि असल वातावरण निर्माणका लागि आवश्यक सुधारका कार्यक्रम विषयमा निरन्तर संवाद गर्ने छ.

●      नयाँ शक्ति नेपालका कुनै पनि तहका सदस्यले आफ्नो निवासमा वा एक्लै अन्यत्र चन्दा संकलन गर्न पाउने छैनन्.

●      प्रत्येक वर्ष तोकिएका दुइ सप्ताह बाहेक अरू समयमा कुनै व्यक्ति, संस्था, फर्म, कम्पनीले नयाँ शक्ति नेपालले प्रारम्भ गरेको असल राजनीतिलाई समर्थन गरी चन्दा दिन चाहेमा नयाँ शक्ति नेपालको केन्द्रीय, प्रादेशिक, जिल्ला वा गाउँ/नगरपालिका कार्यालयमा आइ दिनु पर्ने छ वा नयाँ शक्ति नेपालको बैंक खातामा जम्मा हुने गरी विध्युतीय भुक्तानी गर्न सकिनेछ.

●      नयाँ शक्ति नेपालले आफ्नो वेबसाइटमा विद्युतीय भुक्तानी गर्न सक्ने र अनलाइन रसिद प्रिन्ट गर्न पाइने प्रावधान गर्नेछ.

7.          सेवा शुल्क: (१) नयाँ शक्ति नेपालले आफ्ना सदस्यहरूलाई प्रदान गर्ने केही विशिष्ट सेवामा शुल्क लगाउने छ. यदि यस्ता सेवा गैर सदस्यले लिन चाहेमा त्यो शुल्क लिएर उपलब्ध गराइने छ. मुलत: निम्न प्रकृत्तिका सेवामा नयाँ शक्ति नेपालले विशिष्टीकरण गर्दै लैजाने छ:

(1)     प्रशिक्षण, कार्यशाला तथा गोष्ठी

(2)     विशिष्ट प्रवचन

(3)    भाडा

(२) नयाँ शक्ति नेपालको तर्फ बाट विभिन्न तहका शासकीय निकायहरूको निर्वाचनमा उम्मेदवार हुने प्रतिस्पर्धामा भाग लिन अनिवार्य रुपमा नयाँ शक्ति नेपालको प्रशिक्षण विभागले संचालन गरेको तालीम लिनु पर्ने हुन्छ. तालिम नलिएको सदस्य उम्मेदवारीको प्रतिस्पर्धामा भाग लिन पाउने छैन.

(३) अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय आर्थिक, सामाजिक, पर्यावरणीय तथा अन्य राजनीतिक रुपमा महत्वपूर्ण विषयहरुमा समय समयमा नयाँ शक्ति नेपालले कार्यशाला तथा गोष्ठीको आयोजना गर्ने छ. यस्ता गोष्ठीहरुमा सहभागी हुन तोकिएको शुल्क बुझाउनु पर्ने छ. गैर सदस्यले पनि यस्ता गोष्ठीमा भाग लिन पाउने छन्.

(४) राजनीति, विज्ञान, प्रविधि, अर्थशास्त्र, व्यापार, उद्योग, व्यवस्थापन, कानून, सुशासन, अन्तराष्ट्रिय सम्बन्ध, कुटनीति आदि जस्ता विषयमा विज्ञता हासील गरेका स्वदेशी तथा विदेशी विद्वानहरुलाई आमन्त्रण गरी नयाँ शक्ति नेपालले समय-समयमा विशिष्ट प्रवचन कार्यक्रम गर्ने छ. यस्तो कार्यक्रममा सहभगी हुन शुल्क लगाइने छ.

(५) नयाँ शक्ति नेपालले आफ्नो स्वामित्वमा रहेको जग्गा, भवन वा मसिनरी औजार भाडामा लगाउन सक्ने छ.

8.          प्रकाशन तथा जिन्सी सामान बिक्री: (१) नयाँ शक्ति नेपालले आफ्ना सदस्यहरुलाई राजनीति, विज्ञान, प्रविधि, अर्थशास्त्र, व्यापार, उद्योग, व्यवस्थापन, कानून, सुशासन, अन्तराष्ट्रिय सम्बन्ध, कुटनीति आदि जस्ता विषयहरुमा विशलेषणयुक्त र भावी दिशानिर्देश दिने खालका लेख-रचना, पुस्तक लेख्न उत्प्रेरित गर्ने छ र त्यसको खोजी/अनुसन्धान गर्न आर्थिक सहयोग गर्ने छ. यस्ता लेख-रचनाको संग्रह तथा पुस्तक प्रकाशन गरी बिक्रि गरिनेछ.

(२) नयाँ शक्ति नेपालले खरिद गरी उपयोगमा ल्याएका समानहरु पुरानो भएपछी बिक्री गरी प्राप्त हुने रकम पनि आयको स्रोत हुनेछ.

9.          नेपाल सरकारबाट प्राप्त अनुदान: (१) अहिले अनुदान सम्बन्धि कुनै कानुनी प्रवन्ध छैन. भविष्यमा राज्यकोषबाट राजनीतिक दलहरुलाई आधारभूत खर्चका निमित्त अनुदान दिने प्रवन्ध भएमा यस्तो रकम पनि नयाँ शक्ति नेपालको आयको स्रोत हुनेछ.

10.      ब्याज आम्दानी: (१) नयाँ शक्ति नेपालको बैंक खातामा मौज्दात रकम वा अन्य कुनै किसिमका निक्षेपमा प्राप्त हुने ब्याज आम्दानीको स्रोत हुनेछ.

11.      रकम प्राप्त गर्ने विधि र कोष व्यवस्थापन: (१) एक पटकमा रु. १०,००० भन्दा कम को रकम नगदमै संकलन गर्न सकिनेछ. तर रु १०,००० वा सो भन्दा बढी रकम दाताबाट लिनुपर्दा बैंक चेकबाट मात्र लीइने छ वा नयाँ शक्ति नेपालको बैंक खातामा जम्मा गर्न आग्रह गरी जम्मा गरिएको भौचर लिइने छ.

(२) रकम प्राप्तिका लागि अनलाइन भुक्तानी वा विद्युतीय भुक्तानीको प्रवन्ध गरिनेछ.

(३) विदेशमा रहेका नेपालीहरूबाट संकलन हुने चन्दा नेपाल राष्ट्र बैंकले नेपालमा सटही सुबिधा प्राप्त भनेर तोकेका मुद्रामा मात्र लिइने छ.

(४) सबै किसिमका आय जम्मा गर्नको लागि नयाँ शक्ति नेपालले नेपालभरि एनी-ब्रान्च बैंकिंग संचालन गरेको कुनै एउटा बैंकमा एउटा मात्र खाता खोल्ने छ. यो खाताबाट चेक खिंचेर रकम निकाल्न पाइने छैन. यो खाताको नाम “आम्दानी खाता” हुनेछ.

(५) आम्दानी खाताको संचालन केन्द्रीय परिषदका अध्यक्ष र केन्द्रीय सचिवालयका प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ.

(५) नयाँ शक्ति नेपालका प्रत्येक तहका परिषदको सचिवालयको नाममा एक-एक वटा खर्च गर्ने बैंक खाता खोलिनेछन्.

(६) स्वीकृत बजेट बमोजिमको रकम चौमासिक रुपमा आम्दानी खाताबाट खर्च खातामा सारिनेछ.

(७) गाउँ/नगर परिषद र जिल्ला परिषदका खर्च खाताहरु सम्बन्धित परिषद्का अध्यक्ष र कोषाध्यक्ष वा कार्यालय सचिवको संयुक्त दस्तखतबाट संचालन हुनेछ. प्रादेशिक परिषद तथा केन्द्रीय परिषद्को खर्च खाताहरुको संचालन कार्यालय सचिब र लेखा अधिकृतको संयुक्त दस्तखतबाट हुने छ.

(८) प्रत्येक आर्थिक वर्षको अन्त्यमा आम्दानी खातामा जम्मा भएको रकमको दश प्रतिशत अक्षय कोषमा छुट्याई त्यस्तो अक्षय कोषको रकम आम्दानि खाता रहेको बैंकमै मुद्दती खाता खोली राखिने छ.

(९) वार्षिक खर्च बजेट तर्जुमा गर्दा अनुमानित आम्दानीको ९० प्रतिशत भन्दा बढी हुने गरी खर्चको प्रस्ताव गरिने छैन. जसले गर्दा आर्थिक वर्षको अन्त्यमा १० प्रतिशत रकम अक्षय कोषमा छुट्याउन सकियोस्.

(१०) अक्षय कोषको ब्याज एउटा छुट्टै बैंक खातामा जम्मा गरिने छ. यस्तो ब्याजको रकम नयाँ शक्ति नेपालका सदस्य तथा सदस्यको परिवारको कल्याणकारी काममा प्रयोग गरिनेछ.

(१०) कल्याणकारी कोषको उपयोग “कल्याणकारी कोष संचालन कार्यविधि” बमोजिम गरिनेछ.

 

खर्च व्यवस्थापन

12.      नयाँ शक्ति नेपालको संगठन विकास, राजनीतिक गतिविधि र समाज सुधारका अभियान सम्बन्धि क्रियाकलाप संचालन गर्न आवश्यक खर्चको व्यवस्थापन गर्न देहायका विषयमा कार्यविधि तर्जुमा गरिएको छ:

(1)     खर्चको वर्गीकरण

(2)     बजेट तर्जुमा, स्वीकृति र संशोधन

(3)     खर्चको स्वीकृति र पेस्की

13.      खर्चको वर्गीकरण: (१) नयाँ शक्ति नेपालका सबै तहका परिषदले देहायको वर्गीकरणमा पर्ने खर्च मात्र गर्न पाउने छन्. खर्चहरुलाई संचालन खर्च, कार्यक्रम खर्च र पुँजीगत खर्च गरी तीन मूल वर्गमा राखिएको छ.

संचालन खर्च

(1)     तलब: यस अन्तर्गत पूर्ण समय काम गर्ने पदाधिकारी र कर्मचारीको मासिक पारिश्रमिक, संचय-कोष र उपदान कोष योगदानका रकम पर्दछन

(2)     कार्यालय संचालन खर्च: यसमा परिषदको सचिवालयको मसलन्द, कम्प्युटर, फोटोकपी मेशिनका लागि आवश्यक खपत हुने सामान, विद्युत महसुल, खानेपानी शुल्क, टेलिफोन तथा इन्टरनेट शुल्क, भवन तथा सम्पत्ति सामानमा लाग्ने कर-दस्तुर, कार्यालय प्रयोगको खर्च भएर जाने जिन्सी सामान. (तालिम वा कार्यक्रम संचालन गर्न लागेको मसलन्द तथा खर्च भएर जाने जिन्सी समान सम्बन्धित कार्यक्रम खर्चमा पर्ने छ.)

(3)     भाडा: घर भाडा, सवारीसाधन तथा उपकरणहरूको भाडा.

(4)     भ्रमण खर्च: पदाधिकारी तथा कर्मचारीहरू नयाँ शक्ति नेपालको कामको सिलसिलामा भ्रमण गर्दा लागेको भ्रमण खर्च तथा दैनिक भत्ताको रकम

(5)     इन्धन: सवारीसाधनको

(6)     मरम्मत: सबै किसिमका सम्पत्ति समानको नियमित मरम्मत सम्भार खर्च.

(7)     विविध: माथि नपरेका संचालन खर्चहरु विविध शिर्षकमा पर्ने छन्. तर विविध शीर्षकमा कुल खर्चको ५ प्रतिशत भन्दा बढी रकम खर्च गर्न पाइने छैन. कुनै खास प्रकृत्तिको ठुलो खर्चको कारणले विविध शीर्षकमा ५ प्रतिशत भन्दा बढी हुन गएमा त्यस्तो खर्चको अलग्गै शीर्षक खडा गरिनेछ.

कार्यक्रम खर्च

(8)       सहभागी खर्च: यदि आवासीय प्रशिक्षण वा गोष्ठी हो भने होटेलको भाडा वा त्यस बापत को भुक्तानी र सहभागी आउँदा जाँदा को भ्रमण साधनको खर्च.

(9)     मसलन्द तथा कार्यक्रम सामग्री: प्रशिक्षण/गोष्ठी संचालन गर्न प्रयोग हुने सम्पूर्ण सामग्रीको खर्च.

(10) पारिश्रमिक: कार्यक्रम संचालन गर्ने विज्ञ तथा सहयोगी कर्मचारीको खर्च

(11) अन्य: माथि नपरेका अन्य खर्च.

पुँजीगत खर्च

(12) जमिन: जग्गा जमिन खरिदको रकम

(13) भवन: भवन खरिद वा निर्माण वा पुँजीगत प्रकृत्तिको मरम्मत रकम

(14) फर्निचर: कार्यालयमा प्रयोग हुने सबै किसिमका फर्निचर, दराज, सजावटका समान आदि.

(15) मेसिनरी उपकरण: सबै किसिमका विद्युतीय तथा यान्त्रिक उपकरणहरू

(16) सवारी साधन: सबै किसिमका सवारी साधन.

 

14.      बजेट तर्जुमा,  स्वीकृति र संशोधन: (१) एक आर्थिक वर्षको लागि खर्चको वर्गीकरणमा उल्लेख गरिएका खर्च शीर्षक अनुसार खर्च बजेटको अनुमान गरी प्रत्येक तहका परिषदले चैत मसान्त भित्रमा केन्द्रीय परिषदमा पठाउनु पर्नेछ.

(२) नयाँ शक्ति नेपालले अनुमान गरेको उपलब्ध हुन सक्ने आर्थिक स्रोतको आधारमा प्रत्येक तहका परिषदलाई खर्चको लागि दिन सक्ने रकमको बाँडफाँट सम्बन्धित परिषदको भौगोलिक क्षेत्रमा रहेका सदस्य संख्याको आधारमा गर्ने छ. तर कुनै भौगोलिक परिषद अन्तर्गत ५० प्रतिशत भन्दा बढी महिला वा दलित सदस्य वा महिला र दलित संयुक्त रुपमा छन् भने त्यस्तो परिषदले पाउने बजेटको गणना गर्दा सदस्य संख्यालाइ दुई गुणाङ्कले गुणा गरी हुन आउने रकम बजेटको आधार हुनेछ.

(३) यदि सम्बन्धित परिषदले माग गरेको खर्च बजेट दिन नसकिने अवस्था भएमा केन्द्रीय सचिवालयले सो परिषदलाई कारण सहितको जानकारी गराएर बजेट संशोधन गर्न आग्रह गर्नेछ.

(४) प्रादेशिक परिषदहरूको सहमतिमा अन्तिम खर्च बजेट तर्जुमा गरिनेछ.

(५) केन्द्रीय परिषदले सम्बन्धित आर्थिक वर्ष शुरू हुनु एक महिना अघि बजेट स्वीकृत गर्नेछ.

(६) स्वीकृत बजेटको कुल रकमको अधीनमा रहेर खर्च शीर्षकहरू बीच सम्बन्धित परिषदले रकमान्तर गर्न सक्नेछन्.

(७) यदि कुल बजेट रकमले पुगेन भने सम्बन्धित परिषदले केन्द्रीय परिषदसंग थप बजेट मांग गर्न सक्ने छन्. केन्द्रीय परिषदले वार्षिक अनुमान गरेभन्दा बढी स्रोत संकलन भएको अवस्थामा थप बजेट दिन सक्ने छ.

(८) एक आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट बराबरको रकम सम्बन्धित परिषदले अर्को आर्थिक वर्षमा खर्च गर्न पाउने गरी सार्न पाउने छन्.

 

15.      खर्चको स्वीकृति र पेस्की:(१) प्रत्येक खर्च बापतको बिल भर्पाई, प्रमाण कागजात, इन्जिनियरको सिफारिस आदि हेरी खर्चको स्वीकृति गाउँ/नगर परिषद् र जिल्ला परिषदको हकमा परिषदका अध्यक्षले र प्रादेशिक तथा केन्द्रीय परिषदको हकमा कार्यालय सचिवले गर्ने छन्. उल्लिखित पदाधिकारी बाहेक अरूले स्वीकृत गरेको बिल भर्पाई भुक्तानी-योग्य हुने छैन. यदि भुक्तानी गरिएमा त्यस्तो रकम भुक्तानी गर्ने बाट असुल गरिनेछ.

(२) कुनै खर्चका लागि पेस्की दिन सकिनेछ. पेस्की फर्स्यौट गर्दा खर्च स्वीकृत गराउन पर्ने छ. यदि स्वीकृत खर्च भन्दा पेस्कीको रकम बढी भए मा बढी भएको रकम ३५ दिन भित्र पेस्की लिनेले फर्स्यौट गर्नुपर्ने छ. सो अवधिमा फर्स्यौट नगरेमा मासिक एक प्रतिशतका दरले ब्याज सहित असुल गरिनेछ.

(३) कुनै सदस्यले लिएको पेस्की म्याद भुक्तान भएको छ महिनाभित्र पनि फर्स्यौट नगरेमा सदस्यताबाट बर्खास्त गरिनेछ.

 

16.      खरीद सम्बन्धी व्यवस्था:  (१) नयाँ शक्ति नेपालका विभिन्न तहका परिषद् सचिवालयले एक पटकमा निम्न रकमको सीमासम्म सिधा खरीद गर्न सक्नेछन:

(1)     वस्तु वा सेवा खरीद रु. ३००,०००

(2)     निर्माण                    रु. १०,००,०००

(२) उपदफा (१) मा उल्लेख गरिएको रकम भन्दा माथिको जतिसुकै रकम खरीद गर्नु परे पनि सीलवन्दी बोलपत्र मांग गरी खरिद गर्नु पर्नेछ.

(३)  सिधा खरीद गर्दा उपलव्ध भएसम्म नयाँ शक्ति नेपालका सदस्यको स्वामित्वमा रहेको व्यवसायबाट खरीद गर्नुपर्नेछ. तर सिलबन्दी बोलपत्र खुला प्रतिष्पर्धात्मक हुनेछ.

(४) सीलबन्दी बोलपत्रबाट खरीद गर्दा सार्वजनिक खरीद ऐन, २०६३ र सो ऐन अन्तर्गत बनेका नियमहरु र कार्यविधि बमोजिम गर्नुपर्नेछ.

 

सम्पत्ति व्यवस्थापन

17.      नयाँ शक्ति नेपालका सबै तहका परिषदले ले खरिद गर्ने प्रत्येक खर्च नभएर जाने जिन्सी सामान वा सम्पत्तिको संकेत नम्बर दिई अभिलेख राखिनेछ.

18.      प्रत्येक वर्ष नेपालको आयकर ऐनमा उल्लेख भएको दरमा सम्पत्तिको ह्रासकट्टी खर्च लेखिनेछ.

19.      नयाँ शक्ति नेपालको कुनै पनि सम्पत्ति व्यक्तिगत प्रयोगका लागि सदस्यहरूलाई घर लैजान दिइने छैन.

20.      सहजै ओसारपसार गर्न सकिने पोर्टेबल इलेक्ट्रोनिक सामान जस्तै नोटबुक, ल्यापटप आदि पनि घर लैजान दिइने छैन.

दायित्व व्यवस्थापन

21.      उधारोमा सामान खरिद गरे बापतको चालू दायित्व र खाताबन्दीका बेला कायम हुन् गएको भुक्तानी गर्न बाँकि खर्चहरु निर्धारित समय भित्र भुक्तानी गरिनेछ.

22.      चालु दायित्व बाहेक बैंक तथा वित्तीय संस्थाबाट नयाँ शक्ति नेपालले कुनै कर्जा लिने छैन.

23.      जग्गा तथा भवन खरिदका लागि सदस्यहरुबाट केन्द्रीय परिषदले निर्णय गरे बमोजिम कर्जा लिन सकिनेछ.

लेखांकन र प्रतिवेदन

24.      लेखांकन इकाई: नयाँ शक्ति नेपालका जिल्ला, प्रादेशिक र केन्द्रीय प्ररिशाद्का सचिवालय लेखांकन इकाई (एकाउन्टिंग इन्टिटी) हुनेछन. गाउँ र नगर परिषदमा लेखा राख्नुपर्ने छैन. गाउँ र नगर परिषद्लाई तोकिएको बजेट जिल्लाले चौमासिक पेश्कीको रुपमा दिनेछ र प्रत्येक चौमासिकको अन्त्यमा सोधभर्ना गर्ने छ. स्रेस्ता जिल्ला र प्रदेशमा राखिनेछ र जिल्ला र प्रदेशले प्रत्येक दिनको हिसाब केन्द्रीय लेखामा पठाउन सक्ने गरी कम्प्युटर लेखा प्रणाली विकास गरिनेछ. यसो नभएसम्म प्रत्येक महिनाको लेखा इमेलबाट केन्द्रमा पठाउने व्यवस्था हुनेछ.

25.      लेखांकनको लागि प्रोद्भावी (एक्रुअल) लेखा आधार लीइने छ. नेपाल लेखा मानदण्ड बमोजिम आम्दानि, खर्च, सम्पत्ति, दायित्व, र पुंजीकोषको पहिचान, लेखांकन र प्रतिवेदन गरिनेछ.

26.      प्रत्येक लेखांकन इकाईले चौमासिक र वार्षिक रुपमा नेपाल लेखा मानदण्डमा तोकिएको ढांचा बमोजिम आय विवरण, वासलात, नगद प्रवाह विवरण तयार गर्नेछन.

आन्तरिक नियन्त्रण र लेखा परिक्षण

27.      प्रत्येक परिषदमा जिन्सी समानको जिम्मा लिने, आम्दानी वापतको नगद वा चेक प्राप्त गरी रसीद जारि गर्ने, खर्चको भुक्तानी गर्ने र खर्च स्वीकृत गर्ने अलग अलग सदस्य वा कर्मचारी हुने व्यवस्था गरिनेछ. आन्तरिक नियन्त्रण प्रणालीको यो आधारभूत स्तम्भ हो.

28.      प्रत्येक छ छ महिनामा जिन्सी कुनै परिषदमा नरहेका कुनै सदस्य बाट जिन्सी निरीक्षण गराइने छ. एकै सदस्यलाइ लगातार तीन पटक भन्दा बढी जिन्सी निरीक्षण गर्न दिइने छैन.

29.      प्रत्येक तहका परिषदमा परिषद सदस्यहरु मध्येबाट तीन सदस्यीय लेखा समिति रहने छ. लेखा समितिले सम्बन्धित परिषदको हर-हिसाबको आन्तरिक लेखा परिक्षण गर्ने छ. यदि लेखा समितिले आवश्यक ठहर्याएमा दर्तावाल लेखा-परीक्षकलाई आफ्नो काममा सहयोग गर्न नियुक्त गर्न सक्नेछन. नियुक्त लेखा परीक्षकलाई निर्धारित पारिश्रमिक परिषदले भुक्तानी गर्ने छ.

30.      अन्तिम लेखापरीक्षण अनुमतिप्राप्त चार्टर्ड एकाउन्टेन्टबाट गराइने छ. केन्द्रीय परिषदले लेखा परीक्षक नियुक्त गर्नेछ. नियुक्त गरिने लेखा परीक्षक कुनै पनि तहको पार्षद सदस्य हुनुहुदैन.

सार्वजनिक उत्तरदायित्व

31.      कुनै पनि नेपाली नागरिकले नयाँ शक्ति नेपालको लेखा तथा हिसाबकिताब सम्बन्धी विवरण मागेमा केन्द्रीय परिषदले उपलब्ध गराउने छ.

32.      नयाँ शक्ति नेपालका सबै तहका पार्षदले एक वर्षमा एकै पटक वा पटक-पटक गरी रु १,००० भन्दा बढीको नगद वा जिन्सी उपहार लिन पाउने छैनन्. यस्तो उपहारमा निशुल्क भ्रमणको व्यवस्था, होटलमा बस्ने तथा  खानपीनको व्यवस्था समेत पर्दछ. तर एकाघर परिवारका सदस्यले दिएको पाहुर वा उपहार स्वीकार गर्न बन्देज हुने छैन. उपहार सम्बन्धि यो व्यवस्था उल्लङ्घन गर्ने सदस्य वर्खास्त हुनेछन.

बिभिन्न तहका परिषद सदस्य तथा पदाधिकारीहरुको सम्पत्ति विवरण

33.      सबै तहका पार्षदले भ्रष्टाचार निवारण ऐनमा तोकिएको ढाँचा र समयभित्र प्रत्येक वर्ष सम्पत्ति विवरण सीलवंदी गरी केन्द्रीय सचिवालयमा बुझाउनु पर्नेछ. सम्पत्ति विवरणको ढांचा अनुसूची-१ मा संलग्न छ.

34.      केन्द्रीय परिषद्को सचिवालयले सम्पत्ति विवरणको अभिलेख राख्ने छ. नेपालको संविधान र कानुन बमोजिम सोधखोज गर्न अधिकारप्राप्त निकायले मांग गरेमा यस्तो सम्पत्ति विवरण उपलव्ध गराइने छ.

35.      माथि जेसुकै कुरा लेखिएको भए तापनि केन्द्रीय परिषदका सबै सदस्यको सम्पत्ति विवरण नयाँ शक्ति नेपालको वेबसाइटमा सार्बजनिक गरिनेछ. यो कार्यविधि लागू भएको ९० दिन भित्र प्रथम पटक र त्यसपछि प्रत्येक आर्थिक वर्ष प्रारम्भ भएको ६० दिन भित्र सबै तहका परिषद सदस्यले सम्पत्ति विवरण केन्द्रीय परिषद्को सचिवालयमा पठाउनु पर्नेछ.

 

केन्द्रीय सचिवालयको २०७२ फागुन ११ को बैठकबाट स्वीकृत

आर्थिक निर्देशिका

साझा पार्टीको आर्थिक परिचालन नीति– २०७३

नोटपार्टी दर्ता हुनु पूर्व पार्टीको नाममा रकम संकलन गर्न, सदस्यता शुल्क लिन या पार्टीको नाममा अन्य आर्थिक गतिविधि गर्न कानूनीरूपमा नमिल्ने हुनाले यो आर्थिक परिचालन नीति पार्टी दर्ता भएपछि मात्र लागू हुनेछ।

प्रस्तावना

साझा पार्टी राजनीतिक उत्तरदायित्व, राजनीतिक प्रणाली तथा राजनीतिक नैतिकता र संस्कारलाई उच्च प्राथमिकतामा राख्ने पार्टी हो।  त्यसकारण साझा पार्टीले पार्टीको आर्थिक पक्षलाई पारदर्शी र उत्तरदायीपूर्ण बनाउनको लागि देहाय बमोजिमको आर्थिक परिचालन नीति- २०७३ जारी गरेको छ।

स्रोत परिचालन/व्यवस्थापन:

  • पार्टी परिचालनको लागि साझा पार्टीको आर्थिक श्रोत निम्न विधिद्वारा जम्मा गरिनेछ।
  • सदस्यता तथा नवीकरण शुल्क
  • उम्मेदवारी शुल्क
  • चन्दा
  • सेवा शुल्क
  • प्रकाशनहरूको बिक्री
  • जिन्सी सामान बिक्री
  • सदस्यहरुले गरेको श्रमदान
  • ब्याजबाट प्राप्त रकम

सदस्यता तथा नवीकरण शुल्क:

(१) साझा पार्टीले पार्टी सञ्चालनको लागि चाहिने आवश्यक खर्च आत्मनिर्भर विधिद्वारा जुटाउने कुरालाई उच्च प्राथमिकता दिनेछ। त्यसैले पार्टीका सदस्यहरूले गर्ने आर्थिक योगदान आयको महत्वपूर्ण स्रोत हुनेछ।

(२) साझा पार्टीको सदस्यता लिने प्रत्येक व्यक्तिले सदस्यता शुल्क रु. २०० बुझाउनुपर्नेछ।

(३) प्रत्येक साउन १ गतेदेखि असोज मसान्तभित्रमा रु. २०० वार्षिक सदस्यता नवीकरण शुल्क बुझाउनपर्नेछ।

(४) निर्धारित समयमा सदस्यता नविकरण नगरेको खण्डमा पहिलो महिनाभित्र रु. ५०, दोश्रो महिनाभित्र रु. १०० तथा तेस्रो महिनासम्ममा रु. १५० जरिवाना तिरेर पनि सदस्यता नविकरण गर्न सकिनेछ।

(५) थप निर्धारित जरिवाना तिरेर ३ महिनाभित्र समेत सदस्यता नविकरण नगर्ने सदस्यहरुको सदस्यता खारेज भएको मानिनेछ।

(६) प्रत्येक वर्षको मंसिर मसान्तभित्रमा साझा पार्टीको केन्द्रीय कार्यालयले सदस्यहरूको सूची अद्यावधिक गरी सार्वजनिक गर्नेछ।

(७) साझा पार्टीको स्थानीय, प्रादेशिक तथा व्यवस्थापिका संसद्को चुनावमा उम्मेदवार हुन सदस्यता नवीकरण गरी सदस्यहरूको सूचीमा नाम रहनु अनिवार्य हुनेछ।

उम्मेदवारी शुल्क:

(१) साझा पार्टीको विभिन्न तहका पदाधिकारीको निर्वाचनमा भाग लिन सदस्यले उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ।

(२) उम्मेदवारी शुल्क देहाय बमोजिम हुनेछ:

वडा सदस्य-                                                  रु. १००

नगर/उप-महानगर पालिका  सदस्य-      रु.२००

प्रदेश सदस्य-                                               रु. १,०००

केन्द्रीय सदस्य-                                             रु. ५,०००

(३) वडा/नगर/प्रदेश/प्रतिनिधि/राष्ट्रियसभाको निर्वाचनमा साझा पार्टीको प्रतिनिधित्व गरी चुनावमा भाग लिन चाहने सदस्यले निर्धारित निर्वाचन क्षेत्रमा रहेका सदस्यहरूबाट निर्वाचित हुनुपर्नेछ। यस्तो निर्वाचन साझा पार्टीको विधानमा तोकिएको बमोजिम हुनेछ।

(४) गाउँ/वडा/नगर/प्रदेश/प्रतिनिधि/राष्ट्रियसभाको निर्वाचनमा साझा पार्टीको उम्मेदवार हुन देहाय बमोजिम शुल्क बुझाउनुपर्नेछ:

वडा सदस्य-                                                   रु. २००

नगर/उपनगर/महानगर सभा सदस्य-     रु. १,०००

प्रदेशसभा सदस्य-                                        रु. ५,०००

प्रतिनिधि/संघीयसभा-                                 रु. १०,०००

(५)   वडा/नगर, उपनगर, महानगर/प्रदेश/प्रतिनिधि/राष्ट्रियसभाको निर्वाचनमा साझा पार्टीको निर्वाचनमा उम्मेदवार हुने सदस्यहरूले जम्मा गर्नुपर्ने निर्वाचन आयोगले तोकेको उम्मेदवारी शुल्क तथा धरौटी साझा पार्टीको सम्बन्धित कमिटिले बुझाउनेछ। सदस्यले बुझाउनुपर्नेछैन।

सदस्यहरूबाट स्वेच्छिक सहयोग:

(१) साझा पार्टीका सदस्यहरूले अनिवार्य रूपमा बुझाउनुपर्ने सदस्यता शुल्क र वार्षिक सदस्यता नवीकरण शुल्क बाहेक आफ्नो हैसियत बमोजिम नगद वा जिन्सी दिएर सहयोग गर्न सक्नेछन्।

(२) सबै तहका सदस्यहरुले गर्ने स्वेच्छिक सहयोग रकमको कुनै सीमा रहने छैन।

(३) यस्तो योगदान गरेको कारणले मात्र साझा पार्टीको कुनै विशिष्ट स्थान वा नियुक्ति वा मनोनयन गरिने छैन।

(४) स्थान हेरी निश्चित रकमभन्दा माथिको भूमि वा भूमिसहितको भवन योगदान गरेमा पार्टीले निर्णय गरेर त्यस्तो भूमिमा बन्ने वा बनेको भवनको नामकरण दाता सदस्यको वा निजले इच्छ्याएको व्यक्तिको नाममा गर्न सकिनेछ।

चन्दा:

(१) साझा पार्टीले व्यक्तिगत वा संस्थागत नि:शर्त चन्दा स्वीकार गर्नेछ, चन्दा वापत कुनै सुविधा, सहुलियत वा विशेषाधिकार दिइने छैन। त्यसलाई सुनिश्चित गर्नका लागि रू ५ लाखभन्दा बढी चन्दा दिने व्यक्तिले स्वार्थको टकराव (Conflict of Interest) फारम भर्नुपर्नेछ।

(२) निम्न व्यक्तिहरूबाट चन्दा स्वीकार गरिने छैन-

  • विदेशी नागरिक
  • बहालवाला सरकारी कर्मचारी तथा पूर्णतः नेपाल सरकारको अनुदानमा आश्रित वा नेपाल सरकारको ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएको संस्थाका कर्मचारी
  • प्रचलित कानुन बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालोसूचीमा परेको व्यक्ति
  • फौजदारी अभियोगमा जेल परेको व्यक्ति
  • भ्रष्टाचारको अभियोगमा छानबिनको क्रममा रहेको, मुद्दामा रहेको वा अदालतले भ्रष्टाचारी भनी फैसला गरेको व्यक्ति।

(३) निम्न संस्था, फर्म वा कम्पनीबाट चन्दा स्वीकार गरिने छैन-

  • विदेशमा दर्ता भएको
  • नेपालमा दर्ता भएको भएपनि विदेशी सरकारको ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएको कम्पनीको सब्सिडीयरी संस्था, फर्म वा कम्पनी
  • प्रचलित कानून बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालोसूचीमा परेको
  • धार्मिक, साम्प्रदायिक उद्देश्य भएका र त्यस्ता गतिविधि गर्ने संस्था आदि।

(४) चन्दा दिने व्यक्ति, संस्था, फर्म, कम्पनीको नाम, ठेगाना र दिएको रकमको अभिलेख राखिनेछ। र, त्यसलाई पार्टीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिनेछ।प्रत्येकआर्थिक वर्षको वित्तीय विवरणमा चन्दा संकलनको पूर्ण विवरण प्रकाशन गरिनेछ।

(५) यदि कुनै दाताले व्यक्तिगत सुरक्षाको कारण जनाई आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेमा साझा पार्टीको अन्तरिक अभिलेखमा जनाई नाम सार्वजनिक गरिने छैन। तर नेपालको संविधान र प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले यस्ता दाताको विवरण माग गरेमा उपलब्ध गराइनेछ।

(६) अज्ञात दाताबाट पार्टीको खातामा रकम दाखिला भएको देखिएमा या विदेशमा बस्ने नेपालीले कुनै ‘मनि ट्रान्सफर एजेन्सी’बाट पठाएको रकमको दाताको स्पष्ट नभएमा त्यसलाई ‘अज्ञात दाता’बाट प्राप्त रकमकै रूपमा सूचिकृत गरिने छ र नेपालको संविधान र प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायले विवरण माग गर्दा त्यसै अनुरूप उपलब्ध गराइनेछ।

(७) साझा पार्टीले आफ्नो वेबसाइटमा सम्भव भएको ठाउँमा विद्युतीय भुक्तानी गर्न सक्ने र अनलाइन रसिद प्रिन्ट गर्न सकिने प्रावधान राख्नेछ।

सेवा शुल्क:

(१) साझा पार्टीले सदस्यहरूलाई प्रदान गर्ने प्रशिक्षण, कार्यशाला, गोष्ठी तथा विशिष्ट प्रवचनहरुको आयोजना गरेर सेवा शुल्क उठाउन सक्नेछ। त्यस्तै सर्वसाधारण व्यक्तिहरुको लागि गरिने सेवा वापत पनि सेवा शुल्क लिन सकिनेछ।

(२) राजनीति, विज्ञान/प्रविधि, अर्थशास्त्र,व्यापार, उद्योग,व्यवस्थापन, कानून, सुशासन,अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति आदि जस्ता विषयमा विज्ञता हासिल गरेका स्वदेशी तथा विदेशी विद्वानहरुलाई आमन्त्रण गरेर कार्यक्रमहरु गर्न सकिनेछ। यस्ता कार्यक्रममा सहभागी भए वापत निश्चित शुल्क लिइनेछ।

(३) साझा पार्टीले आफ्नो स्वामित्वमा रहेको जग्गा,भवन वा मसिनरी औजार भाडामा लगाउन वा किनबेच गर्न सक्नेछ ।

प्रकाशन तथा जिन्सी सामान बिक्री:

(१) साझा पार्टीले विविध विषयहरुमा लेख/रचनाको संग्रह तथा पुस्तक प्रकाशन गरी बिक्री वितरण गरेर आय/आर्जन गर्न सक्नेछ।

(२) साझा पार्टीले खरिद गरी उपयोगमा ल्याएका समानहरु पुरानो भएपछी बिक्री गरी प्राप्त हुने रकम पनि आयको स्रोत हुनेछ।

ब्याज आम्दानी:

साझा पार्टीको बैंक खातामा मौज्दात रकम वा अन्य कुनै किसिमका निक्षेपमा प्राप्त हुने ब्याज आम्दानीको स्रोत हुनेछ।

रकम प्राप्त गर्ने विधि र कोष व्यवस्थापन:

(१) प्राप्त हुने आर्थिक सहयोग सकभर चेकबाटै लिइने छ। कसैले नगद सहयोग गरेमा त्यसलाई अभिलेख राख्दा त्यही अनुरूप उल्लेख गरिनेछ। र, तुरून्तै ब्यांकमा दाखिला गरिनेछ।

(२) रकम प्राप्तिका लागि अनलाइन भुक्तानी वा विद्युतीय भुक्तानीको प्रबन्ध गरिनेछ।

(३) विदेशमा रहेका नेपालीहरूबाट संकलन हुने चन्दा नेपाल राष्ट्र बैंकले नेपालमा सटही सुविधा प्राप्त भनेर तोकेका मुद्रामा मात्र लिइनेछ।

(४) सबै किसिमका पार्टी आम्दानीहरु जम्मा गर्नको लागि नेपालभरी एनी-ब्रान्च बैंकिंग ‘सञ्चालन गरेको कुनै एउटा बैंकमा एउटा मात्र खाता खोलिने छ। यो खाताबाट चेक खिचेर रकम निकाल्न पाइने छैन। यो खाताको नाम “आम्दानी खाता” हुनेछ।

(५) आम्दानी खाताको सञ्चालन पार्टीको संयोजन समितिले तोकेको ३ जना व्यक्तिमध्ये दुईजनाको संयुक्त हस्ताक्षरबाट हुनेछ।

(६) साझा पार्टीको प्रत्येक तहका कार्यकारी सचिवालयको नाममा एक-एक वटा खर्च गर्ने बैंक खाता खोलिनेछ।

(७) स्वीकृत बजेट बमोजिमको रकम चौमासिक रुपमा आम्दानी खाताबाट खर्च खातामा सारिनेछ। तर विशेष परिस्थितिमा संयोजन समितिको बैठकको बहुमतले निर्णय गरेमा बढीमा कूल रकमको १५ प्रतिशत रकम खर्च खातामा सार्न सक्नेछ।

(८) वडा/नगर/उपनगर/महानगरसमितिर जिल्ला समितिका खर्च खाताहरु सम्बन्धित समितिका अध्यक्ष र कोषाध्यक्ष वा कार्यालय सचिवको संयुक्त हस्ताक्षारबाट सञ्चालन हुनेछ।

(९) प्रादेशिक समिति तथा केन्द्रीय समितिको खर्च खाताहरुको सञ्चालन कार्यालय सचिव र लेखा अधिकृतको संयुक्त हस्ताक्षरबाट हुनेछ।

बजेट तर्जुमा, स्वीकृति र संशोधन:

(१) एक आर्थिक वर्षको लागि अनुसूची– १ बमोजिम खर्च वर्गीकरणको आधारमा खर्च बजेटको अनुमान गरी प्रत्येक तहगत समितिहरुले चैत मसान्तभित्र केन्द्रीय समितिमा पठाउनेछन्।

(२) पार्टीको कूल आम्दानीको आधारमा तहगतका समितिहरुलाई प्रदान गरिने खर्च रकमको बाँडफाँड सम्बन्धित समिति अन्तर्गतको भौगोलिक क्षेत्रमा रहेका पार्टी सदस्य संख्याको आधारमा गरिनेछ। यदि सम्बन्धित भौगोलिक क्षेत्रमा ५० प्रतिशतभन्दा बढी महिला वा दलित सदस्य वा दुवै संयुक्त रुपमा छन् भने त्यस क्षेत्रलाई अवस्थ अनुसार बढीमा खर्च रकमको ३० प्रतिशतसम्म बढाएर दिइनेछ।

(३) तहगत समितिहरुले माग गरे बमोजिमको खर्च बजेट दिन नसकिने अवस्थामा केन्द्रीय कार्यालयले कारणसहितको जानकारी गराएर बजेट संशोधन गर्न आग्रह गर्नेछ।

(४) तहगत समितिहरुको सहमति र आर्थिक आम्दानीको आधारमा अन्तिम खर्च बजेट तर्जुमा गरिनेछ।

(५) केन्द्रीय कार्यालयले आर्थिक वर्ष शुरू हुनु एक महिनाअघि बजेट स्वीकृत गर्नेछ।

खर्चको स्वीकृति र पेश्की:

(१) प्रत्येक खर्च वापतको बिल भर्पाई,प्रमाण कागजात, इन्जिनियरको सिफारिस आदि हेरी खर्चको स्वीकृति वडा/नगर/उपमहानगर/महानगर र जिल्ला समितिसम्मको हकमा समिति अध्यक्षले र प्रादेशिक तथा केन्द्रीय समितिको हकमा कार्यालय सचिवले गर्नेछन्। उल्लेखित पदाधिकारी बाहेक अरूले स्वीकृत गरेको बिल भर्पाई भुक्तानी योग्य मानिने छैन।

(२) कुनै खर्चका लागि बढीमा रु. २५,०००/- पेश्की दिन सकिनेछ। पेश्की फर्स्यौट गर्दा खर्च अनिवार्य रुपमा स्वीकृत गराउनुपर्नेछ।

(३) कुनै सदस्यले लिएको पेश्की म्याद भुक्तान भएको छ महिनाभित्र पनि फर्स्यौट नगरेमा सदस्यताबाट बर्खास्त गरिनेछ।

(४) उल्लेखित खर्चको भुक्तानी गर्दा नेपाल सरकारको नियम बमोजिम अग्रिम करकट्टी गरी भुक्तानी गर्नुपर्ने भए सोको पालना गरिनेछ ।

(५) भुक्तानीको माध्यम बैंकबाट हुनेछ ।

खरिदसम्बन्धी व्यवस्था:

(१) साझा पार्टीका संघीय तथा प्रादशिक तहका कार्यालयहरुलेप्रतिदिन रु पच्चीस हजारसम्म petty cash राख्न पाउनेछन्। त्यसबाहेक पार्टीका अन्य निकायहरुले बढीमा रू १०,०००/- सम्म ‘पेटी क्यास’ राख्न पाउनेछन्।

(२) साझा पार्टीका संघीय तथा प्रादेशिक तहका कार्यालयहरुले एक पटकमा निम्न रकमको सीमासम्म सीधा खरिद गर्न सक्नेछन्-

(क) वस्तु वा सेवा खरिद रु. २,००,०००/-

(ख) निर्माण रु. ५,००,०००/-

(३) उपदफा (१) मा उल्लेख गरिएको रकमभन्दा माथिको जतिसुकै रकम खरिद गर्नुपरे पनि सिलबन्दी

बोलपत्र माग गरी खरिद गर्नुपर्नेछ।सिलबन्दी बोलपत्र खुला प्रतिस्पर्धात्मक हुनेछ। सिलबन्दी बोलपत्रबाट खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र सो ऐन अन्तर्गत बनेका नियमहरु र कार्यविधि बमोजिम गर्नुपर्नेछ।

लेखांकन/प्रतिवेदन

(१) साझा पार्टीका गाउँपालिका, नगर-उप-महानगरपालिका, प्रादेशिक र केन्द्रीय समितिका सचिवालयहरु लेखांकन इकाई (एकाउन्टिंग इन्टिटी) हुनेछन्। वडा सिमितिमा लेखा राख्नुपर्ने छैन। वडा समितिहरुलाई तोकिएको बजेट गाउँपालिका/नगर-उप-महा-नगरपालिकाले चौमासिक पेश्कीको रुपमा दिनेछ र प्रत्येक चौमासिकको अन्त्यमा सोधभर्ना गर्नेछ। स्रेस्ता गाउँपालिका/नगर-उप-महा-नगरपालिका र प्रदेशमा राखिनेछ। गाउँपालिका/नगर-उप-महा-नगरपालिका र प्रदेशले प्रत्येक दिनको हिसाब केन्द्रीय लेखामा पठाउन सक्ने गरी कम्प्युटर लेखा प्रणाली विकास गरिनेछ।

(२) लेखांकनको लागि प्रोद्भावी (एक्रुअल) लेखा आधार लिइनेछ। पार्टीको केन्द्रिय आर्थिक तथा लेखा परिक्षण आयोगले नेपालको लेखा मापदण्ड बमोजिम आम्दानी, खर्च, सम्पत्ति, दायित्व, र पूंजीकोषको पहिचान, लेखांकन र प्रतिवेदन गरिनेछ।

आन्तरिक नियन्त्रण तथा लेखा परीक्षण

(१) पार्टीको तहगत समितिहरुमा जिन्सी समानहरुको जिम्मा लिने, आम्दानी वापतको नगद वा चेक प्राप्त गरी रसिद जारी गर्ने, खर्चको भुक्तानी गर्ने र खर्च स्वीकृत गर्ने अलग, अलग सदस्य वा कर्मचारीहरुको नियुक्ति गरिनेछ। र, प्रत्येक ६/६ महिनामा पार्टीमा मौज्दात जिन्सी सामानहरुको केन्द्रिय आर्थिक तथा लेखा परिक्षण आयोगले भरपर्दो निरीक्षण गर्नेछ।

(२) केन्द्रिय आर्थिक तथा लेखा परिक्षण आयोगको नेतृत्वमा पार्टीका तहगत समितिहरुमा तीनदेखि पाँच सदस्यसम्मको लेखा समिति रहनेछ। लेखा समितिले सम्बन्धित समितिको आन्तरिक लेखा परीक्षण गर्नेछ। यदि लेखा समितिले आवश्यक ठहर्याएमा निश्चित पारिश्रमिक दिइ दर्तावाल लेखा-परीक्षकलाई नियुक्त गर्न सक्नेछ।

(३) अन्तिम लेखा परीक्षण अनुमति प्राप्त चार्टर्ड एकाउन्टेन्टबाट गराइनेछ। केन्द्रीय कार्यालयले लेखा परीक्षक नियुक्त गर्नेछ। नियुक्त लेखा परीक्षक कुनै पनि तहको कार्यकारी पदीय सदस्य रहनेछैन।

अनुसूची- १,  खर्चको वर्गीकरण

सञ्चालनतर्फ

(क) तलब: यस अन्तर्गत पूर्ण समय काम गर्ने पदाधिकारी र कर्मचारीको मासिक पारिश्रमिक, सञ्चयकोष, उपदान कोष र योगदानका रकम।

(ख) कार्यालय सञ्चालन खर्च: यसमा तहगत सचिवालयहरुको मसलन्द, कम्प्युटर, फोटोकपी मेशिनका लागि आवश्यक खपत हुने सामान, विद्युत महसुल, खानेपानी शुल्क, टेलिफोन तथा इन्टरनेट शुल्क, भवन तथा सम्पत्ति सामानमा लाग्ने कर-दस्तुर, कार्यालय प्रयोगको खर्च भएर जाने जिन्सी सामान।

(ग) भाडा: घर भाडा, सवारीसाधन तथा उपकरणहरूको भाडा।

(घ) भ्रमण खर्च: पदाधिकारी तथा कर्मचारीहरू पार्टी कामको सिलसिलामा भ्रमण गर्दा लागेको भ्रमण खर्च।

(ङ) इन्धन: सवारीसाधनको इन्धन।

(च) मर्मत: सबै किसिमका सम्पत्ति सामानको नियमित मर्मत सम्भार खर्च।

(छ) विविध: माथि नपरेका सञ्चालन खर्चहरु विविध शीर्षकमा पर्नेछन्। तर विविध शीर्षकमा कूल खर्चको ५ प्रतिशतभन्दा बढी रकम खर्च गर्न पाइनेछैन। कुनै खास प्रकृत्तिको ठूलो खर्चको कारणले विविध शीर्षकमा ५ प्रतिशतभन्दा बढी हुन गएमा त्यस्तो खर्चको अलग्गै शीर्षक खडा गरिनेछ।

कार्यक्रमतर्फ

(ज)  सहभागी खर्च: यदि आवासीय प्रशिक्षण वा गोष्ठी हो भने होटेलको भाडा वा त्यस वापतको भुक्तानी र सहभागी आउँदा/जाँदाको भ्रमण साधनको खर्च।

(झ) मसलन्द तथा कार्यक्रम सामाग्री: प्रशिक्षण/गोष्ठी सञ्चालन गर्न प्रयोग हुने सम्पूर्ण सामाग्रीको खर्च।

(ञ)  पारिश्रमिक: कार्यक्रम सञ्चालन गर्ने विज्ञ तथा सहयोगी कर्मचारीको खर्च।

(ट) अन्य: माथि नपरेका अन्य खर्च।

पूँजीगततर्फ

(ठ) जमिन: जग्गा जमिन खरिदको रकम।

(ड) भवन: भवन खरिद वा निर्माण वा पूँजीगत प्रकृत्तिको मर्मत रकम।

(ढ) फर्निचर: कार्यालयमा प्रयोग हुने सबै किसिमका फर्निचर, दराज, सजावटका सामान आदि।

(ण) मेसिनरी उपकरण: सबै किसिमका विद्युतीय तथा यान्त्रिक उपकरणहरू।

(त) सवारी साधन: सबै किसिमका सवारी साधन। साभार राताेपाटी


Facebook Comment


No ads found for this position