यस्ताे थियो दलहरूको स्थानिय चुनावी आँकलन ?

कांग्रेस

अपेक्षा १५० तह

जित : ११७ अग्रता : ५

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ३३४ मध्ये १५० वटा तहमा जित्ने अनुमान गरेको थियो । तर, अहिलेसम्म ११७ तहमा मात्रै जित हात पारेको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेले अपेक्षा गरेका पूर्वी सहर, ५ नम्बरका दाङसहितका सहरी क्षेत्रमा हार बेहोर्दा अपेक्षित परिणाम ल्याउन नसकेको बताए । ‘१५० तह जित्छौँ भन्ने लागेको थियो,’ उनले भने, ‘तर, जित्नैपर्ने ठाउँमा समेत हामी हार्न पुग्यौँ ।’ अन्तर्घात, असहयोगजस्ता कारणले पनि केही ठाउँमा हारिएको घिमिरेले बताए ।

दोस्रो चरणमा कांग्रेस अहिलेसम्म ४४ नगरपालिका र ७३ गाउँपालिकामा विजयी भएको छ । मतगणना हुन बाँकीमा दुई नगर प्रमुखसहित पाँच गाउँपालिकामा कांग्रेसको अग्रता छ ।

दुवै चरणमा गरी कांग्रेसले अहिलेसम्म २२१ र एमालेले २६८ तहमा जितेको छ । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १ का १३७ तहमध्ये कांग्रेसले ४७ र एमाले ६३ स्थानमा जितेको छ । मत गन्न बाँकीमा एमालेको ६ र कांग्रेसको चार तहमा अग्रता छ ।

प्रदेश नम्बर १ मा महानगरबाहेकमा कांग्रेस कमजोर
प्रदेश नम्बर १ को विराटनगर महानगरपालिकामा कांग्रेस उम्मेदवारले तीन हजार अन्तरले एमाले उम्मेदवारभन्दा अग्रता लिइरहेका छन् । झापाको भद्रपुर, बिर्तामोड नगरपालिकामा जित्ने आशा गरेको कांग्रेस पराजित भएको छ ।

कोइराला परिवारको राम्रो प्रभाव क्षेत्र मानिएको मोरङको रंगेलीमा कांग्रेस पराजित भएको छ । मोरङकै बुढीगंगा गाउँपालिका जित्ने दाबी गरे पनि कांग्रेसलाई फोरम लोकतान्त्रिकले आठ सय मतअन्तरले हराएको छ ।

धनकुटा नगरपालिकामा कांग्रेस ११४ भोटले हार्न पुग्यो । तेह्रथुमको फुङलिङ, इलामको इलाम, संखुवासभाको खाँदबारी र चैनपुर नगरपालिका जित्ने आशा गरेको तह पनि कांग्रेसले गुमाउन पुगेको छ । आठवटा तह रहेको सोलुखुम्बुमा कांग्रेसले एउटा मात्र तहमा जित्यो ।

सुनसरीका दुई उपमहानगरमा पनि कांग्रेस पछाडि
सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा जारी मतगणनामा कांग्रेस प्रमुखका उम्मेदवारहरू दुई हजार मत बढीले पछाडि छन् । उम्मेदवार मिलाउन नसक्दा यी दुई उपमहानगरपालिकामा कांग्रेस कमजोर बनेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा बताउँछन् ।

जित्ने अपेक्षा कम गरेकोमा जित
मोरङको सुन्दरहरैचा र लेटाङ नगरपालिका तथा कटहरी गाउँपालिकामा जित्ने अपेक्षा नगरे पनि जित हात पारेको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे बताउँछन् । झापाको गौरादह र भोजपुर नगरपालिकामा कांग्रेसले जित्ने अपेक्षा गरेको थिएन ।

प्रदेश ५
ठूला ठाउँमा कांग्रेसको हार : १०९ तहमा कांग्रेस ३३ मा जित प्रदेश नम्बर ५ का १०९ वटा स्थानीय तहमा कांग्रेसले ३३ वटा तहमा जित हात पारेको छ । बुटवल, तुल्सीपुर, नेपालगन्ज र घोराही उपमहानगरपालिकामा कांग्रेस पराजित हुन पुग्यो ।

उपमहानगरमा कांग्रेसलाई झट्का
दाङसहित पश्चिमका चर्चित ठाउँमा कांग्रेसलाई नराम्रो धक्का लागेको छ । खुमबहादुर खड्काको गृहजिल्ला दाङमा कांग्रेसले १० मध्ये तीन तह मात्र जित्यो । जितेका तह गाउँपालिका मात्र हुन् । घोराही र तुल्सीपुर उपमहानगरपालिकामा कांग्रेस प्रमुखका उम्मेदवार एमालेसँग ५–५ हजारको मतअन्तरले पराजित भए । लमही नगरपालिका प्रमुखमा पनि एमाले उम्मेदवारले कांग्रेस उम्मेदवारलाई एक हजार मतअन्तरले पराजित गरे । प्रभावशाली नेता खुमबहाुदर खड्काले आफैँ मतदाता रहेको लमहीमा समेत कांग्रेसलाई विजयी बनाउन सकेनन् ।

नेपालगन्जमा पनि पराजित
प्रदेश नम्बर ५ को नेपालगन्जमा पनि कांग्रेस पराजित हुन पुग्यो । कांग्रेसको राम्रो प्रभाव क्षेत्र रहेको नेपालगन्जमा राप्रपाका धवलशमशेर राणासँग कांग्रेसका डा. सुरेशकुमार कनौडिया पाँच हजार मतअन्तरले पराजित हुन पुगे । उपप्रमुख भने कांग्रेसले जित्यो । जित्ने अपेक्षा गरेको बाँकेको कोहलपुरमा समेत कांग्रेस पराजित भयो ।

रूपन्देही, गुल्मीमा कांग्रेस चुक्यो
जित्ने आशा गरेको रूपन्देहीको बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, गुल्मीको रेसुंगा नगरमा समेत कांग्रेस उम्मेदार पराजित हुन पुगे । रूपन्देहीका १६ मध्ये कांग्रेसले दुईमा मात्र जितेको छ ।

अर्घाखाँची र रोल्पामा सफल कांग्रेस
०७० को संविधानसभा निर्वाचनमा एक सिट पनि नजितेको अर्घाखाँचीमा कांग्रेसले यसपटक ६ मध्ये चार तहमा जित हात पारेको छ । यहाँ दुई नगरमा कांग्रेसले जित्यो । माओवादी प्रभाव क्षेत्र रहेको रोल्पाको लुङग्री गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसले जित्यो ।

प्रदेश ७ मा संख्या सुधार
प्रदेश नम्बर ७ का ८८ तहमध्ये कांग्रेसले ३७ तहमा जित हात पारेको छ । प्रदेशमा ७ मा एमालेले पनि ३७ वटै तहमा जित हात पारेको छ । तीनवटा तहको नतिजा आउन बाँकी हुँदा एमालेले दुई र कांग्रेसले एक स्थानमा अग्रता लिएको छ । कैलालीको धनगढी उपमहानरपालिकामा कांग्रेस प्रमुखका उम्मेदवार अगाडि छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा समेत कांग्रेस पराजित हुन पुग्यो । कैलालीको १३ मध्ये दुईवटा तहमा मात्र कांग्रेसले जित्न सक्यो ।

रुकुम र धनकुटामा कांग्रेस शून्य
दोस्रो चरणको निर्वाचनमा कांग्रेस दुई जिल्लामा शून्य रह्यो । तीन तह रहेको रुकुम र सात तह रहेको धनकुटामा कांग्रेसले जित्न सकेन । प्रदेश नम्बर ७ को बैतडी र बाजुरामा भने कांग्रेसले प्रभाव फैलाएको छ । संविधानसभा निर्वाचनमा बाजुरामा हार बेहोरेको कांग्रेसले स्थानीय तहको निर्वाचनमा नौमध्ये ६ तहमा जित हात पारेको छ । १० तह भएको बैतडीमा पनि ६ तह जितेको छ । दार्चुलाका १० मध्ये पाँच तह जितेको छ ।

तराईका पहाडी मतदाताको समर्थन प्राप्त भएन
डा. प्रकाशशरण महत
हामीले समयमा उम्मेदवारी चयन गर्न सकेनौँ, एमालेले पहिलेदेखि चयन गरेर प्रचारमा जाँदा उसले फाइदा लियो । हामीले साधन–स्रोत न्यून प्रयोग गर्यौ, तर एमालेले अथाह स्रोत प्रयोग गर्य । तराईमा रहेका पहाडी मतदाताबाट हामीले अपेक्षित समर्थन पाएनौँ । कांग्रेसमा अन्तर्घात पनि उत्तिकै भयो । उम्मेदवार बन्न नपाउनेबित्तिकै विरोधमा जाने अवस्थाका कारण हार्न पुग्यौँ ।

एमाले


अपेक्षा १७० तह
जित : १४३ अग्रता : ८

एमालेले विभिन्न दलको मोर्चाबन्दी र राज्यसत्ताको दुरुपयोगका बाबजुद दोस्रो चरणको निर्वाचनमा पहिलो दल बन्नेगरी सन्तोषजनक नतिजा आएको प्रारम्भिक समीक्षा गरेको छ । पहिलो चरणमा जस्तै पार्टीको आन्तरिक सर्वेक्षणअनुसारको नतिजा नआए पनि परिणाम सन्तोषजनक नै रहेको निष्कर्ष एमालेको छ ।

३३४ स्थानीय तहमध्ये कम्तीमा १७० देखि १९५ सिट जित्ने आन्तरिक सर्वेक्षणसहितको आँकडा एमालेले तयार पारेको थियो । तर, बिहीबार रातिसम्म एमालेले १४३ सिट जित्दै आठ तहमा अग्रता लिइरहेको छ । अन्तिम परिणाम आइसक्दा कम्तीमा १५० सिट जित्ने सम्भावना देखिएकाले एमालेले आन्तरिक सर्वेक्षणभन्दा २० देखि ४५ सिट कम जित्ने निश्चित छ ।

७ उपमहानगरपालिकामध्ये चारवटाको परिणाम आउँदा एमालेले बुटवल, घोराही र तुल्सीपुर जितेको छ भने धरान र इटहरीमा अग्रता लिइरहेको छ । उपमहानगर र नगरपालिका गरि ५० र ९४ गाउँपालिका जितेर एमाले पहिलो दल बनेको छ ।

प्रदेश नम्बर १ मा अपेक्षाभन्दा कम
प्रदेश नम्बर १ का १३७ सिटमध्ये कम्तीमा दुईतिहाइ अर्थात् ८९ तह जित्ने सर्वेक्षण गरेको एमालेले ६५ स्थान मात्रै जितेको छ । मोरङ, झापा, सुनसरी, भोजपुर, पाँचथरलगायतका जिल्लामा अपेक्षाविपरीत एमालेले धेरै कम सिट जितेको हो । एमाले सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले राज्यसत्ता र कर्मचारी संयन्त्रको दुरुपयोग र दबाबका कारण अपेक्षाविपरीत केही कम सिट जितेको बताए । उनले मोरङ, सुनसरीलगायतका जिल्लामा अरू दलले एमालेविरुद्ध गरेको मतदान र कतिपय स्थानमा टिकट वितरणको समस्याका कारण पनि अपेक्षाअनुसार दुईतिहाइ सिट जित्न नसकेको बताए ।

प्रदेश नम्बर ५ मा सन्तोषजनक
प्रदेश नम्बर ५ का १०९ मध्ये बहुमत स्थान अर्थात् ५६ स्थान जित्ने लक्ष्य लिएको एमालेले ४३ स्थान मात्रै जितेको छ । सर्वेक्षणअनुसारको सिट नजिते पनि कांग्रेसभन्दा १० सिट बढी जितेकाले ५ नम्बर प्रदेशमा सन्तोषजनक सिट जितेको एमालेको प्रारम्भिक समीक्षा छ । रुकुममा खातासमेत खोल्न नसके पनि रोल्पामा २ र दाङमा ६ तह जितेकाले एमालेले यो प्रदेशको परिणामलाई सन्तोषजनक मानेको हो ।

७ नम्बर प्रदेशमा कतै असफलता, कतै सफलता
७ नम्बर प्रदेशका ८८ तहमध्ये एमालेले ५० स्थानसहित बहुमत जित्ने प्रक्षेपण गरे पनि पछिल्लो परिणामअनुसार ३७ स्थान मात्रै जितेको छ । कैलालीको टीकापुर, डडेल्धुराको अमरगढीजस्ता कांग्रेसका गढ जितेर अछाम र बाजुरामा अनपेक्षित हार भएकाले अपेक्षित परिणाम आउन नसकेको एमालेको प्रारम्भिक मूल्यांकन छ । एमालेले शतप्रतिशत जित्ने दाबी गर्दै आएको बाजुराको नौ तहमध्ये तीन तथा अछामका १० मध्ये सातवटामा जितेको छ । यो प्रदेशमा बराबर सिट जितेर एमाले कांग्रेससँग पहिलो बन्ने अन्तिम प्रतिस्पर्धामा छ ।

कम्तीमा २५ सिट गुमेको प्रारम्भिक समीक्षा 
दोस्रो चरणमा एमालेले जित्ने सूचीमा राखिएका २५ भन्दा बढी सिट गुमेको प्रारम्भिक निष्कर्ष निकालेको छ । खासगरी मोरङ, अछाम, बाजुरा, झापा, सुनसरी, पाँचथरमा जित सुनिश्चित मानिएको गढ गुमेको ठम्याइँ छ । मोरङको सुन्दरहरैचा, रतुवामाई, केराबारी, लेटाङसहित चार स्थान, झापाको गौरादह, हल्दिबारी, भोजपुरको भोजपुर र षडानन्द नगरपालिका, कपिलवस्तुको वाणगंगा र बुद्धभूमि, पा“चथरको फिदिम, पाल्पाको रामपुर, ओखलढुंगाको लिसंखु, सुनसरीको इनरुवा नगरपालिका, संखुवासभाको एक, नवलपरासीको सुनवल, रुपन्देहीको देवदह, बाजुराको मार्तडी, अछामको मेल्लेख, बान्नीगढी जयगढ, विनायक, बर्दियाको गुलरिया, राप्ती सोनालीलगायतका २५ भन्दा बढी स्थान जित्ने निश्चित हुँदाहुँदै गुमेको एमालेको निष्कर्ष छ ।

यी जिल्लामा एमालेको बहुमत
ताप्लेजुङ (१८ मा १०), इलाम (२० मा १६), धनकुटा (१४ मा १४) संखुवासभा (२० मा ११), भोजपुर (१८ मा १०), खोटाङ (२० मा १२), गुल्मी (२४ मा १७), पाल्पा (२० मा १२ ), दाङ (२० मा ११), बझाङ (२४ मा १७), डोटी (१८ मा ११), तेह्रथुम (१२ मा ९) अन्य दलभन्दा बढी सिट जितेका जिल्ला :  झापा, सोलुखम्बु, रुपन्देही, कैलाली, मोरङ, उदयपुर, पाँचथर

मोर्चाबन्दीका बाबजुद सन्तोषजनक 
ईश्वर पोखरेल
हामीलाई कमजोर बनाउन सत्तापक्षले जतिसुकै मोर्चाबन्दी गरे पनि एमालेको पक्षमै जनमत देखिएकाले पहिलो पार्टी बनेका छौँ । अघिल्लो पटकभन्दा मत र सिट संख्या दुवै बढेको छ । त्यसैले परिणामलाई सकारात्मक रूपमै लिन्छौँ । सत्तापक्षको अनियमितता, धाकधम्की, प्रलोभनका बाबजुद जनताले एमालेलाई पहिलो दल बनाउने गरी मत दिएका छन् ।

माओवादी


अपेक्षा १०० तह
जित : ३८ अग्रता : ०

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन परिणाम निराशाजनक भएको बताएको छ । प्रारम्भिक समीक्षामा माओवादीले यस्तो निष्कर्ष निकालेको हो । माओवादी केन्द्रले पहिलो र दोस्रो चरणमा गरी १५० सिट कटाउने लक्ष्य राखेको थियो ।

६ वटा प्रदेशको ५८८ वटा स्थानीय तहमा निर्वाचन सकिँदा माओवादीले अहिलेसम्म जम्मा ८१ तहमा मात्र जित हासिल गरेको छ । पहिलो चरणमा ४६ तह जितेको माओवादीले दोस्रो चरणमा ३८ तहमा जित हात पारेको छ । त्यसमध्ये पनि नगरपालिकाको संख्या निकै न्यून छ । यो सफलता अपेक्षाविपरीत भएको नेता मणि थापाले बताए ।

माओवादीले प्रदेश नं. १ बाट कम्तीमा ४० तह जित्ने अनुमानसहितको गृहकार्य गरेको थियो । तर, जम्मा १० तहमा मात्र सफलता पायो । संखुवाससभा, मोरङ, पाँचथर, झापा, ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर गरी हरेक जिल्लामा तीन तह जित्ने माओवादीको अपेक्षा थियो । तर, झापामा एउटा पनि तह जित्न सकेन भने अरूमा पनि एक÷एक तह मात्र जितेको छ । यस्तै, इलाम, तेह्रथुम, सुनसरी, धनकुटामा नतिजा शून्य रह्यो । खोटाङ र उदयपुरबाट ६–६ वटा अपेक्षा गरेकोमा एक–एक तह मात्र जित्न सफल भएको छ । माओवादी केन्द्रले धेरै जितेको जिल्ला सोलुखुम्बु हो । त्यहाँ तीन तहमा अपेक्षा गरेकोमा दुईमा विजयी भयो ।

प्रदेश नं. ५
प्रदेश नं. ५ मा १०९ स्थानीय तह रहेकोमा माओवादीले जम्मा १९ तहमा मात्र सफलता पायो । यो प्रदेशमा उसले करिब ४० तह जित्ने अपेक्षा गरेको थियो । त्यसमध्ये करिब २५ मा जित्ने निश्चित गरेको माओवादी नेतृ रेखा शर्माले बताइन् । माओवादीले बर्दियामा ६ तहमा जित्ने लक्ष्य राखेको थियो । त्यसमध्ये तीन तहमा मात्र सफलता पाएको छ । यस्तै, बाँकेमा एउटा पनि तह जित्न सकेन, दाङमा एउटा मात्र गाउँपालिका जित्यो । रोल्पामा ११ वटै जित्ने लक्ष्य राखेको थियो, तर सात तहमा मात्र सफलता पायो । प्युठानमा दुई तहमा जित्ने अपेक्षा गरेकोमा शून्य सिट हात लागेको छ । गुल्मीमा दुई तहमा जितको अपेक्षा गरेकोमा एउटा पनि जित्न सकेन । अर्घाखाँचीबाट माओवादीले तीन तह जित्ने अपेक्षा गरेको थियो, तर एउटा मात्र जित्न सक्यो । कपिलवस्तु, पाल्पा र रुपन्देहीमा शून्य रह्यो ।

प्रदेश नं. ७
माओवादी केन्द्रले प्रदेश नं. ७ बाट २० स्थानीय तह जित्ने लक्ष्य राखेको थियो । तर, १० तहमा मात्र सफलता पाएको छ । माओवादीले बाजुरा र बझाङबाट एक–एक तहमा जित्ने अपेक्षा राखेको थियो, तर दुवै जिल्लामा जित्न सकेन । दार्चुलामा नौमध्ये दुई तह जित्ने निश्चित गरेको थियो । त्यहाँ एउटा मात्र गाउँपालिकामा जित्न सफल भयो । यस्तै बैतडीमा तीन तहमा माओवादीले आस गरेकोमा एउटा नगरपालिकामा मात्र सफलता पायो ।

डडेल्धुरामा तीनवटा अपेक्षा गरेकोमा एउटा गाउँपालिका जित्न सफल भयो । डोटीमा दुई तहमा अपेक्षा राखेकोमा त्यसमा सफलता पाएको छ । अछाममा चार तहमा लक्ष्य राखेकोमा दुईवटा तहमा सफलता मिल्यो ।

कैलाली माओवादीले सबैभन्दा बढी अपेक्षा गरेको जिल्ला हो । त्यहाँ पाँच तह जित्ने लक्ष्य राखेको थियो । तर, एक नगरपालिका र एक गाउँपालिकामा मात्र सफलता पाउन सक्यो । कञ्चनपुरमा तीन तहमा अपेक्षा गरेकोमा अहिलेसम्म दु्ई तहमा सफलता पाएको छ ।

माओवादीको आँकलन हरेक प्रदेशमा कमजोर
चुनावी नतिजाबारे माओवादी केन्द्रले गरेको आँकलन हरेक प्रदेशमा फेल भएको छ । उसको प्रदेश नं. १ मा ४० तह जित्ने अनुमान थियो । तर, १० तह मात्रै जित्यो । प्रदेश नं. ५ का १०९ मध्ये कम्तीमा ४० तहमा जित्ने आँकलन थियो । त्यहाँ पनि माओवादीले १९ तहमा मात्रै जित्यो । त्यस्तै, प्रदेश नं. ७ बाट कम्तीमा २० तहमा विजयी हुने अपेक्षा थियो । त्यहाँ पनि उसले अहिलेसम्म १० तहमा मात्रै जित हात पारेको छ ।

चुनावी राजनीतिमा माओवादी केन्द्र केटाकेटी देखियो 
मणि थापा
चुनावी राजनीतिमा माओवादी केटाकेटी देखियो । एकीकृत योजना बनाएर जान नसक्दा पार्टीले क्षति व्यहोर्नुप¥यो । कांग्रेससँगको चुनावी साझेदारी परिपक्व बन्न सकेन । एमालेले गरेका गलत प्रचार पनि चिर्न सकेनौँ । अरू पार्टीका नेताहरू आफैँ मैदानमा उत्रिए, प्रतिष्ठाका रूपमा चुनाव लडे । हाम्रा कार्यकर्ताले मात्र लडे । नेतालाई चुनाव लागेन । नेतामा चुनावको जोश, जाँगर र उत्साह देखिएन ।

राप्रपा  
अपेक्षा ३०, जित ४
राप्रपाले दोस्रो चरणको निर्वाचनमा २५ देखि ३० स्थानीय तहमा विजय हासिल गर्ने आँकलन गरेको थियो । ६० तहमा प्रतिस्पर्धामा पुग्ने उसको अनुमान थियो । तर, एक उपमहानगरपालिका र तीन गाउँपालिका गरी चार तहमा मात्र जित हात पारेको छ । ‘आँकलनअनुरूप नतिजा नआए पनि ०७० को भन्दा भोट घटाएका छैनौँ, केही बढाएकै छौँ,’ सहप्रवक्ता मोहन श्रेष्ठले भने ।

लोकतान्त्रिक फोरम 

अपेक्षा ३०, जित ६
लोकतान्त्रिक फोरमले ३० तहमा जित्ने अपेक्षा गरेको थियो, तर ६ तहमा मात्रै विजय हासिल ग¥यो । फोरमले कैलालीमा ६ स्थानीय तह जित्ने आँकलन गरेकोमा एउटा मात्र सफल भएको छ । पार्टी महामन्त्री रामजनम चौधरीले अन्य दलसँग तालमेल नगरी एक्लै निर्वाचमा होमिएका कारण धेरै स्थानमा प्रतिस्पर्धामा पुगे पनि जित्न नसकेको बताए ।

समाजवादी फोरम

 अपेक्षा ३०, जित ७
संघीय समाजवादी फोरमले उम्मेदवारी दिएका २८३ मध्ये कम्तीमा ३० तहमा जित्ने अनुमान गरेको थियो । उसले एकमा अग्रता राख्दै सात गाउँपालिका जितेको छ । निर्वाचन समितिका संयोजकसमेत नेता रत्नेश्वर कायस्थका अनुसार केही तहमा राजपाले फोरमलाई हराउने अभियान चलाएकाले पनि हार बेहोर्नुपरेको छ ।नयाँपत्रीका


Facebook Comment


No ads found for this position