दार्जिलिङमा फेरि हिंसा भड्कियो, गोली लागेर तीन जनाको मृत्यु

उमाकान्त खनाल दार्जीलिङ : नेपाली भाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जना आन्दोलनकारीको मृत्यु भएको छ।

शुक्रबार राति घरबाट बाहिर निस्किने क्रममा दार्जिलिङ सोनादाका टाँसी भोटियालाई प्रहरीले गोली हानी मारेपछि शनिबार दिनभर दार्जिलिङ तनावग्रस्त बनेको छ।

भोटियाको कन्चटमा गोली लागेको अवस्थामा भेटिएपछि शनिबार आक्रोसित भिडले दार्जिलिङमा प्रहरी कार्यालयलगायत प्रहरीका सवारी साधन जलाउने काम गरेपछि प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको हो।

शनिबार दिउँसोे प्रदर्शन र तोडफोडमा उत्रेका प्रदर्शनकारीलाई लक्षित गरेर प्रहरीले गोली चलाउँदा दार्जिलिङ बजारमा तुङसुङका सुरज सुन्दासको मृत्यु भएको हो। उक्त घटनापछि आन्दोलनकारी अझ आक्रोशित बनेका थिए। त्यसपछि दार्जिलिङको सिंहमारीमा आन्दोलनकारीेले प्रदर्शन उग्र बनाएका थिए। त्यहाँ पनि सुरक्षाकर्मीको गोली लागेर सिंहमारी रोपवेका समीर गुरुङको ज्यान गएको छ।

भारतीय नेपाली भाषी गोर्खालीले भारत पश्चिम बंगालको दार्जिलिङमा छुट्टै स्वायत्त गोर्खाल्याण्डको माग गर्दै आन्दोलन चकाइरहेका छन्। पछिल्लो पटक चलिरहेको आन्दोलनमा यस अघि नै पाँच जनाको ज्यान गइसकेको बताइएको छ।

बंगाली भाषालाई नेपालीभाषीको बाहुल्यता रहेको दार्जिलिङका विद्यालयमा अनिवार्य पठन पाठन गराउने मुख्यमन्त्री ममता बेनर्जीको भनाइ विरुद्धको आन्दोलन अहिले स्वायत्त राज्य गोर्खाल्याण्डको मागको आन्दोलनमा परिणत भएको छ। करीब २५ दिनदेखि पहाड बन्द छ।

शुक्रबार र शनिबार भएको हिंसाका घट्नामा तीन जनाको मृत्यु भएको बताइए पनि पश्चिम बंगाल सरकारले यसबारे केही बताएको छैन। तर, मुख्यमन्त्री ममता बेनर्जीले शनिबार साँझ कोलकातामा संवाददाता प्रहरीले बाध्य भएर गोली चलाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘ दार्जिलिङमा जे घटना भयो त्यो दुखःद् छ। त्यस्मा को दोषी छ, कारबाही हुन्छ।’

दार्जिलिङको स्थिति तनावग्रस्त बनेपछि शनिबार साँझबाट सेना उतारिएको छ। तर आन्दोलनकारीले साँझसम्म पनि प्रदर्शन जारी राखेका छन्।


Facebook Comment


No ads found for this position