नेपाललाई पयर्टकीय गन्तव्य बनाउने भारतीय सुत्र

आशा थपलिया नयाँ दिल्ली : नेपालको पर्यटन क्षेत्रमा बढि योगदान रहेको भारतीय पर्यटकहरुको संख्यालाइ थप अभिवृद्धि गराउनका लागि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतका ट्राभल तथा टुर व्यवसायीहरुलाइ आग्रह गर्नुभएको छ ।

भारतका एक सय बढी ट्राभल तथा टुर व्यवसायीहरुलाइ आफना प्याकेजहरुमा नेपाललाइ पहिलो गन्तब्यको रुपमा समावेश गरेर प्रवद्र्धन गर्नका लागि राजदूत उपाध्यायले आग्रह गर्नुभएको हो ।

नेपाली दूताबास तथा बीपी कोइराला फाउन्डेसनले नयाँ दिल्लीमा छलफल कार्यक्रमको आयोजना गरेर राजदूत उपाध्यायले भारतीय पर्यटकहरुका लागि नेपाल विश्वमै पहिलो गन्तब्य बन्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । राजदूत उपाध्यायले भारतीय व्यवसायीहरुलाइ इगिंत गर्दै भन्नुभयो, ‘पर्यटकीय विकासका लागि नेपाल सरकार तथा दूताबास सहकार्य गर्न तयार छ ।’

भारतमा खुला अर्थतन्त्रको अवधारणा अघि ट्राभल तथा टुर व्यवसायीहरुका लागि नेपाल नै पहिलो अन्तराष्ट्रिय गन्तब्य हुने गरेको थियो । भारतीय पर्यटकका लागि अन अराइभल भिसा तथा सहज कनेक्टिभीटीका अलाबा प्राकृतिक सुन्दरता अनि क्यासिनो प्रमुख आकर्षण थियो । संक्रमणकालिन राजनीतिको प्रतिकुल प्रभाव पनि नेपालको पर्यटन क्षेत्रले बेहोरयो भने तीन बर्षअघि आएको महाभुकम्पले पनि नेपालमा पर्यटकीय आँकडामा ह्रास ल्यायो ।

आगामी दिनमा भारतीय पर्यटकलाइ नेपालतर्फ पून आकर्षित गर्नका लागि पहिलो चरणमा गरिएको यो छलफल कार्यक्रममा भारतीय टुर अपरेटर्स संस्था (आइएटीओ)का अमरेश तिवारीले नेपालको पर्यटकीय प्रवद्र्धनका लागि नयाँ नयाँ गन्तब्य पहिल्याएर यस तर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो । तिबारीले भन्नुभयो, ‘अन्नपूर्ण रेन्जका अलाबा ग्रामीण, कृषि, साँस्कृतिक पर्यटनको विकासमा नेपालका टुर अपररेटर्सहरुले ध्यान दिनुपर्छ ।’ काठमाडौं बाहिरका स्थानहरुलाइ जोडने सडक संजाललाइ बिस्तार गर्न नेपाल सरकारले काम गर्नुपर्ने तिवारीले सुझाव दिनुभयो ।

एडवेन्चरर्स टुर अपरेटर्स अफ इण्डियाका स्वदेश कुमारले एडबेन्चर टुरिजमका लािग नेपाल सम्पन्न मुलुक भएको बताउँदै विश्व बजारमा पर्यटकलाइ आकर्षित गर्न नयाँ नयाँ रणनीतिहरु बनिरहेको परिप्रेक्ष्यमा नेपाल र भारतले पनि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भारतको कर्पोरेट सेक्टरमा नेपालको लागि ठूलो संभावना भएको भन्दै उहाँले भन्नुभयो, ‘कर्पोरेट मिटिङ, सेमिनार तथा इभेन्टहरु गर्नका लागि नेपाल नयाँ गन्तब्य बनाउन सकिने संभावना छ । नेपालले यस तर्फ ध्यान पुरयाएर लाभ लिन सक्छ ।’

चेम्बर अफ कमर्शको पर्यटन विभागका अध्यक्ष सुभास गोयलले आफूले हनिमुनका लािग पेरिस र स्वीटजरल्याण्डको विकल्पको रुपमा नेपाललाइ रोजेको प्रसंग उल्लेख गर्दै नेपाल जस्तो सुन्दर र विविधताले भरिएको मुलुक विश्व मै नभएको अनुभव साटनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल एक पटकको भ्रमणले पुग्ने मुलुक होइन । यहाँ पटक पटक जानुपर्छ अनि मात्र यसको सुन्दरता थाहा पाउन सकिन्छ ।’

ट्राभल एजेन्टस एशोसिएसन अफ इण्डियाका अध्यक्ष राजन सहगलले नेपाललाइ बलिउड चलचित्रहरुको सुटिंग स्पटको रुपमा प्रवद्र्धन गर्न सकिने संभावना रहेको भन्दै यसका लागि टु वे ट्राफिक हुनुपर्नेमा जोड दिनुभयो ।
भारतीय ट्राभल एण्ड टुर व्यवसायीहरुले प्रारम्भमा बाह्रय गन्तब्य नेपाल नै बेचेको स्मरण गराउँदै अहिलेको तीब्र प्रतिस्पर्धाको समयमा दुइ मुलुकका व्यवसायीहरुले संयुक्त रुपमा नयाँ नयाँ डिल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पूर्व राजदूत केबी राजनले नेपाल डिस्कभरी गर्नुपर्ने मुलुक भएको हुँदा सानो तर यसको महत्वलाइ बुझन चाहने पर्यटकहरुलाइ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । आफनो कार्यकालमा नेपालमा बलिउड महोत्सव गराएको स्मरण गर्दै राजनले भन्नुभयो, ‘कला,संस्कृति,मौसम,प्राकृतिक सौन्दर्यताको खानी नेपालमा यसको उचित माकेर्टिंग हुन सकेको छैन् ।’

कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर अपरेटर्स (नाटो)का अध्यक्ष अशोक पोखरेलले बलिउडलाइ नेपालमा आकर्षित गर्नकालागि सरकारले सहज नीति नियम बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘अन्य मुलुकले मार्केटिंङको बजेट नै यस्ता प्रयोजनकालागि खर्च गरेको हुन्छ । हाम्रो मुलुकमा उल्टो पैसा खर्च गर्नुपर्ने प्रावधान छ। यस्तो नीतिलाइ सरकारले सहज नबनाए सम्म नेपाललाइ सुटिंङ स्पटको रुपमा विकास गर्न गाह्रो छ ।’
नेपालका लागि भारतका पछिल्ला राजदूत रन्जीत रेले भारत सरकारले निजामती कर्मचारीहरुलाइ चार वर्षमा एक पटक दिने लिभ ट्राभल कन्सेसन(एलटिसि) अन्तर्गतको मुलुकमा नेपाललाइ समावेश गरेमा यसले नेपालको पर्यटकीय विकासलाइ माथि उकास्ने सुझाव दिनुभयो ।
त्यसै गरी दुइ मुलुकबीच प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणका क्रममा भएको सिस्टर सिटी संझौता स्मरण गराउँदै रेले भन्नुभयो,‘यसको कार्यान्वय भएमा अयोध्या–जनकपुर,काठमाडौ–बनारस जस्ता शहरहरुको कायापलट हुन्छ ।’
कार्यक्रममा दूताबासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करले कम ध्यान पुगेका पर्यटकीय संभावनाका क्षेत्रहरुलाइ उजागर गर्दै कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले रामायण सर्किट अन्तर्गत नेपाल–भारत–श्रीलंकाको कनेक्टिभिटी, बुद्धिस्ट सर्किट अन्तर्गत लुम्बिनी–गया–सारनाथ,हिन्दुस सर्किट, स्पिरिचुल, अर्गानिक लाइफ, प्राकृतिक अवलोकन लगायतका संभावनालाइ उजागर गर्नुभयो ।
दुताबासका उपप्रमुख भरत कुमार रेग्मीले नेपाल र भारत दुबै मुलुकले पर्यटकीय संभावनाकालागि एकअर्काको विकल्प पाउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘उच्च पर्यटकीय संभावनाकालागि नेपालसँग भारतको विकल्प छैन् भने भारतको लागि पनि नेपालको प्राकृतिक सुन्दरताको विकल्प छैन् ।’
भारतीय जनता पार्टीका नेता डा दिनेश उपाध्यायले नेपालको मूल्य मान्यता र संस्कृतिलाइ उजागर तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । नेपालको पर्यटन काठमाडौंमा मात्र सिमित हुन नहुने भन्दै भारत र नेपालको संयुक्त सँस्कृतिलाइ दुबै मुलुकले मिलेर प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम अन्त्यमा राष्ट्रिय नाचघर काठमाडौं तथा त्रिसारा परफर्मिंग आर्टस, दिल्लीका कलाकारहरुले साँगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


Facebook Comment


No ads found for this position