सगरमाथामा मात्र अहिलेसम्म २९२ को मृत्यु

अच्युत पुरी, १२औँ पटकसम्म सगरमाथा चुचुरो आरोहण गरिसकेका आरोही लाक्पारंदु शेर्पासँग दुई सिजनमा मानिसको लास हेर्दै सगरमाथा चुचुरोतर्फ अगाडि बढेको अनुभव छ । सगरमाथाको ८ हजार मिटर उचाइबाट अगाडि बढ्दै गर्दा सन् २००९ र सन् २०११ मा उनले रुटमै मानिसको लास देखेका थिए । तर, पछिल्ला दुई सिजन (२०१६ र सन् २०१७) मा उनले यो नमीठो अनुभव दोहोर्याउनुपरेन ।
एसियन ट्रेकिङले सन् २००८ यता हरेक वर्ष वसन्त ऋतुमा ‘इको एभरेस्ट एक्स्पिडिसन’ सञ्चालन गर्छ । यस आरोहणको मुख्य उद्देश्य नै सगरमाथाको पुरानो फोहोर संकलन गरी हटाउने र हिमाललाई स्वच्छ राख्नु हो । यही आरोहणका दौरान सगरमाथा आधार शिविरबाट चुचुरोमा पुग्ने बाटो (इनरुट)बाट देखिने पुराना ६ वटा मृत शरीर तल ल्याएर व्यवस्थापन गरिसकिएको नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा एसियन ट्रेकिङका संस्थापक आङछिरिङ शेर्पाले जानकारी दिए ।
‘सगरमाथा चढ्दै गर्दा मृत शरीर हेर्दै र टेक्दै जाँदा आरोही हतोत्साही हुने र आत्मविश्वास घट्ने अवस्था थियो,’ पर्वतारोहण संघका अध्यक्ष शेर्पाले भने, ‘त्यसैले इनरुट देखिएका लास जसरी भए पनि हटाउने गरी हामीले यो जिम्मेवारी पूरा गरेका हौँ । एभरेस्ट समिटर एसोसिएसनकी अध्यक्ष माया शेर्पाका अनुसार अहिले बाटोमै मृत शरीर देखिने अवस्था छैन । तत्काल दुर्घटनामा परेका आरोहीको शव सम्भव भएसम्म उद्धार गरी तल ल्याउने र देखिएका शवहरू पनि क्रमशः हटाउँदै जाने अभियान जारी रहेका कारण बाटोमा मृत शरीर देखिने अवस्था नरहेको उनले बताइन् ।
पुरानो शव निकाल्नु ‘अत्यन्त जोखिमपूर्ण’
शेर्पा आरोहीहरूका अनुसार हिमालमा लामो समयदेखि रहेका शव निकालेर तल झार्नु ज्यादै जोखिमपूर्ण काम हो । आरोही लाक्पारंदु शेर्पाका अनुसार हिउँमा मृत शरीर सड्दैन, कडा हिउँले ढाकेको अवस्थामा रहने शववरिपरिको हिउँ काटेर शव निकाल्नुपर्छ । त्यसमाथि खोँचमा परेर दुर्घटनामा परेका, गहिरो हिउँमा भासिएका शव निकाल्न असम्भव छ । अर्कोतर्फ ८ हजार मिटरमाथि दुर्घटनामा परेका अधिकांश शव उद्धार गर्न नसकी हिमालमै छाड्नुपर्ने अवस्था छ । ‘हिउँमा जमेको एउटा मृत शरीर बोकेर तल झर्न १२–१३ दक्ष आरोही आवश्यक पर्छ,’ एनएमएका अध्यक्ष शेर्पा भन्छन्, ‘त्यसमाथि पुराना शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण काम हो ।’ उनका अनुसार एउटा सामान्य मानिसको मृत शरीरको तौल हिउँमा जमेपछि १ सय ५० किलोभन्दा बढी भएको हुन्छ ।
हिउँ पर्दा देखिँदैन फोहोर र मृत शरीर
आरोही लाक्पारंदु शेर्पाका अनुसार जब बाक्लो हिउँ पर्छ त्यसवेला हिमाल सबैभन्दा सुन्दर देखिन्छ । तर, हिउँ पग्लेर चट्टान मात्र रहेको अवस्थामा पुग्ने हो भने सगरमाथालगायत हिमाल मृत शरीर र फोहोरका कारण कुरूप बन्दै गएको देखिन्छ । उनका अनुसार सगरमाथालगायत हिमालमा देखिने फोहोर र मृत शरीर अहिलेका होइनन् । वर्षौँ पुरानो फोहोरलाई हिउँले ढाक्दै गएपछि हिमालहरू प्रदूषित बन्दै गएका हुन् ।
एभरेस्ट समिटर एसोसिएसनकी अध्यक्ष माया शेर्पाका अनुसार अहिले सगरमाथाभन्दा अन्य हिमालका आधार शिविरहरू प्रदूषित बन्दै गएका छन् । ‘सरकार र निजी क्षेत्रको ध्यान सगरमाथामा केन्द्रित छ, त्यहाँ फोहोर मिल्काएर हिँड्ने आँट कमैले गर्छन्,’ उनी भन्छिन्, ‘कञ्चनजंघा, धौलागिरि, आमादब्लमजस्ता हिमालका आधार शिविर प्रदूषित बनिरहेका छन् ।’
के कारणले निधन हुन्छ हिमालमा ?
नेपाल पर्वतारोहण संघका अनुसार हिमालमा सबैभन्दा बढी नेपालीको निधन प्राकृतिक दुर्घटनाका कारण हुने गरेको छ । विदेशी आरोहीमा हाइअल्टिच्युट सिकनेस र आत्मविश्वासको कमी दुर्घटनाको मुख्य कारण हो । अहिले क्याम्प ‘टु’सम्म हेलिकोप्टर नै लगेर उद्धार गर्न सकिने सुविधा छ । यसबाहेक नेपालका शेर्पा संसारकै विज्ञ आरोही मानिन्छन् । उनीहरूको दक्षताकै कारण पनि हिमालमा धेरै मानिस अकाल मृत्युबाट बचिरहेको संघको भनाइ छ । ‘हामी नेपाली जनशक्तिको दक्षता अभिवृद्धिमा निरन्तर लगानी गरिरहेका छौँ,’ संघका अध्यक्ष शेर्पाले भने ।
हिमालमा कति शव छन्, तथ्यांक छैन
हिमालमा अहिलेसम्म कति आरोहीको निधन भयो र तीमध्ये कति शव हिमालमै छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारका कुनै पनि निकायसँग छैन । सगरमाथाको सफल आरोहण गरिसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार सरकारले मृत आरोहीको तथ्यांक अद्यावधिक गरेको छैन ।
निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय निकायहरूले संकलन गरेको तथ्यांकअनुसार सन् २०१७ को वसन्त ऋतुसम्म सगरमाथामा मात्र २ सय ९२ जना आरोही र शेर्पा सहयोगीको निधन भएको छ । त्यसमध्ये आधा जति आरोहीको मात्र शव निकाल्न सकिएको अनुमान छ । पछिल्लो समय सन् २०१४ मा सगरमाथामा गएको हिउँपहिरोमा परी निधन भएका १६ आरोहीमध्ये दुईजनाको शव अझै बेपत्ता छ । कर्मचारी श्रेष्ठका अनुसार अहिले सगरमाथालगायत हिमालमा सिजनमा आरोही उकालो चढिरहेका वेला मृत शरीर झार्न निषेध गरिएको छ । ‘सकभर आरोहीले शव नदेख्ने गरी उद्धार गर्नुपर्ने हुन्छ,’ उनले भने ।
सरोकारवाला भन्छन् :
जोखिमपूर्ण काम
आङछिरिङ शेर्पा, अध्यक्ष, नेपाल पर्वतारोहण संघ
हिमालमा तत्काल उद्धार गर्न नसकिने शवहरू मात्र लामो समयसम्म रहने गर्छन् । यसरी रहेका शव निकालेर हिमाललाई शवरहित बनाउन ठूलै कार्यक्रम आवश्यक पर्छ । हामीले व्यक्तिगत पहलमा भए पनि कम्तीमा बाटोबाटै देखिने शव व्यवस्थापन गर्न सफल भएका छौँ । यो जोखिमपूर्ण काम हो ।
हिमालका शव व्यवस्थापन ज्यादै खर्चिलो
माया शेर्पा
अध्यक्ष, एभरेस्ट समिटर्स एसोसिएसन
हिमालमा रहेका वर्षौँ पुराना शव तल ल्याएर व्यवस्थापन गर्नु ज्यादै खर्चिलो अभियान हो । सरकारले जति रोयल्टी उठाउँछ, त्यस अनुपातमा हिमालको प्रदूषण नियन्त्रणमा ध्यान दिन सकेको छैन । रोयल्टी रकम यी काममा लगाउन सकियो भने शब तथा फोहोर व्यवस्थापनमा ठूलो योगदान पुर्याउन सकिन्छ ।साभार नयाँपत्रीका