चीन–भारत सीमा विवाद : चीनले भारतीय सेनालाई पछाडि हट्न चेतावनी

भारतले चीन, भुटान र सिक्किमसँगको डोकलाम सीमामा आफ्ना सेनाको उपस्थिति बाक्लो बनाएको छ । चीनले भारतीय सेनालाई पछाडि हट्न चेतावनी दिइरहेका वेला भारतीय सेनाले बन्दोबस्तीका सामग्रीसहित बाक्लो उपस्थिति जनाएको हो ।

भारतीय सेना पछि नहट्ने

भारतीय सेनाको एउटा समूह सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा सीमा निगरानी बढाएको छ । चिनियाँ सेनाले आफ्ना गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको छ । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सीमामा सडक निर्माण गरिरहेका चिनियाँ जनसेनालाई भारतीय सेनाले रोकेको छ । ‘हाम्रा सेनाले गोली प्रहार गरेका छैनन् । हाम्रा सिपाहीले केवल पर्खाल निर्माण गरेर चीनको अतिक्रमण रोक्ने प्रयास गरेका हुन्,’ भारतीय एक ब्रिगेडिएरको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ । भारतीय सीमा सुरक्षा गार्डले चिनियाँ पक्षको ‘सामान्य गतिविधि’ अवरोध गरेको चीनले बताएको छ ।

कूटनीतिक पहलमा जोड

दुई देशबीचको विवाद कूटनीतिक ढंगले समाधान गर्नुपर्ने भारतले जोड दिएको छ । यसअघिका सीमा विवाद कूटनीतिक रूपमा समाधान गरिएको भन्दै भारतले चीनसँगको वार्तालाई जोड दिएको छ । तर, चीनले भारतसँग कुनै सम्झौता नगर्ने र ‘बल दिल्लीको कोर्टमा’ रहेको जनाएको छ । सीमावर्ती क्षेत्रमा देखिएका तनाब अन्त्यका लागि वार्ता गर्न सन् २०१२ मा संयत्र गठन भएको थियो । तर, सो संयन्त्रले डोकलामको विवाद समाधानमा भने कुनै पहल गरेको छैन । सीमा क्षेत्रमा सडक निर्माणले भारतको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको नयाँ दिल्लीले बताउँदै आएको छ । सीमा विवाद समाधान गर्न चीन र भुटानले वार्ता पहल गरेका छन् । भुटानसँग चीनको कुनै औपचारिक कूटनीतिक सम्बन्ध छैन । नयाँदिल्लीमा रहेको थिम्पुको कूटनीतिक नियोगमार्फत दुई देशबीच वार्ता पहल भइरहेको छ । तीन देशको ‘जक्सन भएकाले भुटान र चीनबीचको वार्तामा आफूले पनि धारणा राख्न पाउनुपर्ने भारतले माग गरेको छ । भुटानले तत्काल सडक निर्माण रोक्न चीनसँग आग्रह गरेको छ ।

चिनियाँ कम्पनीलाई सचेत

यसै साता मात्र बेइजिङको एक पत्रिकाले भारतमा सञ्चालित चिनियाँ कम्पनीहरूमा चीन विरोधी गतिविधि हुन सक्ने भन्दै ती कम्पनीहरूलाई सावधान अप्नाउन आग्रह गरेको थियो । त्यस्तै, चिनियाँ कम्पनीहरूले भारतमा लगानी रोक्नुपर्ने चीनको ग्लोबल टाइम्सको एउटा लेखमा उल्लेख गरिएको थियो । चीनले भारतलाई छुने डोकलामदेखि चीनको डोङलाङसम्मको सीमा क्षेत्रमा सडक निर्माण गरेसँगै तीनदेशबीचको सीमा विवाद बल्झिएको हो । चीन, भारतको सिक्किम र भुटानको ‘जक्सन’ मानिने सो क्षेत्रमा सडक निर्माण भएमा भारतको रणनीतिक जोखिमको २० किलोमिटर क्षेत्र ‘चिकेन नेक’मा चीनको पहुँच बढ्ने भारतको चिन्ता छ ।

दुवै देशका सेना आमनेसामने

तनाब बढेपछि चीन र भारत दुवैले सीमा क्षेत्रमा सेना तैनाथ गरेका छन् । दुवै देशका सेना अहिले आमनेसामने र आँखा जुधाइको अवस्थामा छन् । सीमा क्षेत्रमा शान्ति कायम राख्न भारतीय सेना विनासर्त पछाडि हट्नुपर्ने भारतका लागि चीनका राजदूत लुओ झाओहुई बताउँछन् । एक साताअघि चीनले सिक्किम हुँदै मानसरोवरका लागि हिँडेका ५७ भारतीय तीर्थयात्रीलाई
फर्काइदिएको थियो ।

चीनले जारी गर्‍यो ‘सेफ्टी एड्भाइजरी’

चीनले भारत भ्रमणमा रहेका आफ्ना नागरिकलाई ‘सेफ्टी एडभाइजरी’ जारी गरेको छ । नयाँदिल्लीस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूका लागि एडभाइजरी जारी गरेको हो । भारत भ्रमण गर्ने चिनियाँ नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाबारे विशेष ध्यान दिन र आवश्यक सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले जारी गरेको सूचना ‘परामर्श’ मात्र भएको चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले बताएका छन् । ‘दूतावासले जारी गरेको सूचना चेतावनी होइन, बरू हाम्रा नागरिकहरूलाई सावधानी अपनाउन दिइएको परामर्श मात्र हो,’ चिनियाँ विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै भारतको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।


Facebook Comment


No ads found for this position