१० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०१८ नेपाल भ्रमण वर्ष मनार्इदै

अच्युत पुरी,आर्थिक वर्ष ०७३-७४ को नीति तथा कार्यक्रममार्फत घोषित ‘नेपाल भ्रमण वर्ष २०१८’ लाई सरकारले स्वीकृत गरेको छ । मुख्यसचिव सोमलाल सुवेदीले नेपाल भ्रमण वर्ष २०१८ लाई सरकारले स्वीकृत गरेको जानकारी दिए ।

शुक्रबार होटेल संघ नेपाल (हान)को अर्धवार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल भ्रमण वर्ष २०१८ लाई सरकारले स्वीकृत गरिसकेको छ । त्यसमा स्थानीय तहसँग समन्वय गर्ने भन्ने विषयलाई समावेश गरी निर्णय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गर्छु ।’ उनले पर्यटन मन्त्रालयलाई आफैँले निर्णय गरेर कार्यान्वयन गर्ने काम कार्यान्वयनमा ल्याउन र मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने विषय भए प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएका छन् ।

हट्यो अन्योल
१० लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयन हुने हो या होइन भन्नेमा लामो समय अन्योलमा थियो । लामो समय मन्त्रिपरिषद्मा अड्किएको यो कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन नभई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा फिर्ता भएपछि अन्योल बढेको थियो । ‘सरकार परिवर्तन भएसँगै यो कार्यक्रम मन्त्रिपरिषद्बाट मन्त्रालयमा फिर्ता आएको पर्यटन मन्त्रालयले जानकारी दिएको थियो । मुख्यसचिव सुवेदीका अनुसार अहिले यो कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ । अब पर्यटन मन्त्रालयले आफैँ निर्णय गरेर हुने गतिविधि सीधै कार्यान्वयनमा ल्याउन सक्नेछ भने मन्त्रिपरिषद्को निर्णय आवश्यक भए प्रक्रिया अगाडि बढाउन सक्नेछ ।

स्थानीय तहको भूमिका महत्वपूर्ण
नेपाल भ्रमण वर्ष २०१८ सफल बनाउन अब स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै मुख्यसचिव सुवेदीले स्थानीय तहसँग समन्वय गर्ने शीर्षकसमेत थप गर्न मन्त्रालयलाई निर्देशन दिए । यसअघि होटेल संघ नेपाल (हान)ले पर्यटन विकास र प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै यसका लागि पहल गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको थियो ।

१० लाख पर्यटक भित्र्याउने लक्ष्य
भिजन २०२० कार्यान्वयन गरी सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, अप्रिल सन् २०१५ (वैशाख २०७२) को भूकम्प र त्यसपछि उत्पन्न विविध प्रतिकूल परिस्थितिका कारण उक्त लक्ष्य असफल भएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । चालू आव ०७३-७४ को नीति तथा कार्यक्रममार्फत सरकारले १० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । तर, कार्यक्रम कार्यान्वयनमा आउन ५ महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले यो अभियानलाई समेत प्राथमिकता दिन सकेको छैन ।

यसअघि नेपालले सन् २०११ मै १० लाख पर्यटक ल्याउने गरी नेपाल पर्यटन वर्ष मनाइसकेको थियो । त्यसको प्रभावस्वरूप सन् २०१२ मा इतिहासमै सर्वाधिक ८ लाख ३० हजार ९२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसयता नेपाल आउने पर्यटक संख्या निरन्तर घट्दै गएको छ ।

प्रभावकारी कार्यान्वयनको माग
मन्त्रालयका उच्च अधिकारीहरू यो कार्यक्रम पनि राजनीतिक अस्थिरता र खिचातानीको सिकार भएको स्वीकार गर्छन् । यस्तै निजी क्षेत्रका व्यवसायीले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता कार्यक्रम फाइलमा सीमित हुनु दुःखद भएको बताएका छन् । ‘सन् २०१८ लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा भए पनि सरकार परिवर्तनपश्चात् सबै कार्ययोजना फाइलमा मात्र सीमित छन्,’ हानका अध्यक्ष अमरमान शाक्यले भने, ‘यसको प्रभावकारी कार्यान्वयनको माग गर्छौँ ।’

वर्तमान नीति तथा कार्यक्रम आएपछि पर्यटन मन्त्रालयमा तीनजना मन्त्री फेरिएका छन् । यसको प्रत्यक्ष असर भ्रमण वर्ष २०१८ को तयारीसहित अन्य धेरै कार्यक्रममा परेको छ । मन्त्रालयका अधिकारीहरूले राजनीतिक नेतृत्वमा हुने परिवर्तनका कारण हवाई क्षमता अभिवृद्धिसहित पर्यटनका धेरै कार्यक्रम प्रभावित भएको बताएका छन् ।

पर्यटन बोर्डको आफ्नै तयारी
सरकारले नीति तथा कार्यक्रममार्फत सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारीप्राप्त निकाय नेपाल पर्यटन बोर्डले अहिले सोही अभियानलक्षित विविध गतिविधि गरिरहेको छ । सोही क्रममा बोर्डले युरोपमा ‘भिजिट युरोप इयर २०१७’ अभियान सञ्चालन गरिरहेको छ । यस अभियानअन्तर्गत युरोपका विभिन्न मुलुकमा सवारीसाधनमा नेपाल प्रवद्र्धन हुने विषयवस्तु बोकेका स्टिकर टाँस्ने, दूतावास र गैरआवासीय नेपाली संघसँगको समन्वयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् । बोर्डले अहिले विदेशी सञ्चारमाध्यमबाट पनि नेपालसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण गरिरहेको छ । बोर्डले आधिकारिक वेबसाइटबाट समेत नेपाल प्रवद्र्धन हुने खालका सामग्री (भिडियो, तस्बिरलगायत)बाट पनि भ्रमण वर्ष लक्षित बनाएको जनाएको छ ।साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position