मुख्य १७ वस्तुको निर्यात घट्यो

सरकारले व्यापार घाटा न्यूनीकरण तथा निर्यात वृद्धिको रणनीतिक कार्ययोजना अघि बढाइरहेका वेला मुख्य वस्तुको निर्यात नै खस्किएको छ । सरकारी प्राथमिकतामा परेका र मूल्य हिस्सा बढी भएका वस्तुको निर्यात कमजोर देखिएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालू आवको ११ महिनाको तथ्यांकले मुख्य २७ वस्तुमध्ये १७ वटा वस्तुको निर्यात घटेको देखाएको छ । समग्र निर्यात झिनोदरमा बढे पनि मुख्य वस्तुको निर्यात भने निराशाजनक देखिएको हो । केन्द्रका अनुसार नेपाल एकीकृत व्यापार रणनीतिक (एनटिआइएस)मा सूचीकृत वस्तु अधिकांश वस्तुको निर्यात घटेको छ । त्यस्तै, समग्र निर्यातको बढी हिस्सा ओगट्ने वस्तुहरूको निर्यात पनि घटेको छ ।

केन्द्रका अनुसार गलैँचा, तयारी पोसाक, पस्मिना, हस्तकला, अदुवा, अलैँची, चाउचाउ, मुसुरो, आयुर्वेदिक औषधि, जुत्ता, मञ्जन, हातेकागजलगायत १७ वस्तुको निर्यात घटेको हो । समीक्षा अवधिमा अदुवाको निर्यात सबैभन्दा उच्चदर अर्थात् ५२ प्रतिशतले घटेको छ । त्यस्तै, आयुर्वेदिक औषधि ३९ प्रतिशत, चाउचाउ तथा पास्ता ३४.४, मन्जन २८ र हस्तकलाको निर्यात २० प्रतिशतले घटेको हो । प्राथमिकतामा परेका मुख्य वस्तुहरूको निर्यात नै घट्नुले हाम्रो निर्यात व्यापारको संरचना र रणनीतिमा सुधार आवश्यक देखिएको अर्थविद् डा. पोषराज पाण्डे बताउँछन् । सरकारले निर्यात बढाउन वस्तुलाई प्रतिस्पर्धी बनाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

किन घट्यो निर्यात ?
बजार तथा वस्तुको विविधीकरण गर्न नसक्दा मुख्य वस्तुकै निर्यात घटेको हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनीषकुमार अग्रवालले बताए । ‘नेपालले बजारको माग र प्रतिस्पर्धाअनुसार वस्तुको विकास तथा उत्पादन गर्न नसक्दा निर्यात बढ्न नसकेको हो,’ उनले भने, ‘हाम्रा वस्तुलाई प्रतिस्पर्धी बनाउन तथा निर्यातका लागि बजार र वस्तुको विविधीकरण गर्न सरकारले ध्यान दिनुपर्छ ।’

सवा ८ खर्बको व्यापार घाटा
निर्यातको तुलनामा आयात वृद्धिदर उच्च हुँदा नेपालको व्यापार घाटा झन् झन् बढ्दै गएको छ । चालू आर्थिक वर्षको ११ महिनामा नेपालले ८ खर्ब २५ अर्ब ७४ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ३ प्रतिशतले बढी हो । समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार २६.२ प्रतिशतले बढेर ९ खर्ब ६० अर्ब ४६ करोड पुगेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७ प्रतिशत अर्थात् ६७ अर्ब ३६ करोड रुपैयाँमा मात्रै खुम्चिएको छ । यस अवधिमा मुलुकको निर्यात–आयातको अनुपात १ः१३.३ प्रतिशत पुगेको छ । अर्थात्, नेपालले १ रुपैयाँको निर्यात गर्दा १३.३ रुपैयाँको आयात गरिरहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ ।

कुन–कुन मुलुकमा निर्यात घट्यो ?
समीक्षा अवधिमा नेपालका मुख्य व्यापार साझेदारमध्ये १० मुलुकतर्फको निर्यात घटेको छ । केन्द्रका अनुसार चीन, अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, बंगलादेश, जापान, क्यानडा, नेदरल्यान्ड र भियतनामतर्फको निर्यात घटेको हो । यद्यपि, भारततर्फको निर्यात भने १०.७ प्रतिशतले बढेको छ । यस अवधिमा अधिकांश मुलुकतर्फको आयात बढेको छ ।


Facebook Comment


No ads found for this position