मुसलमानले पत्ता लगाएको अमरनाथ गुफा

अमरनाथ यात्रा भलै हिन्दूको तीर्थयात्रा होस्, तर यस यात्रासित एक मुसलमान परिवार निकै पुरानो समयदेखि जोडिएको छ । अमरनाथ गुफा करिब ५ सय वर्षअघि पत्ता लगाइएको थियो र यसलाई पत्ता लगाउने कार्यको श्रेय एक मुस्लिम बुटा मलिकलाई दिने गरिन्छ । बुटा मलिकका वंशज अझै पनि बटकोट नामक स्थानमा बसोवास गर्छन् र उनीहरू अमरनाथ यात्रासित सीधा जोडिएका छन् । यही परिवारका गुलाम हसन मलिक बताउँछन् कि उनीहरूले गुफाबारे जो सुनेका छन्, यसअनुसार यस गुफा उनीहरूका पूर्वज बुटा मलिकले पत्ता लगाएका थिए ।

साधुसितको कुराकानी
गुलाम हसन मलिक बताउँछन्— यो कथा सुन्दा बिल्कुलै पौराणिक कथा जस्तो लाग्छ । हाम्रा पूर्वज बुटा मलिक एक गोठाला थिए । पहाडमा भेडाबाख्रा चराउनु उनको दैनिकी थियो । त्यही क्रममा पहाडमा उनको भेट एक साधुसित भयो र दुवैबीच मित्रता कायम भयो । एकपटक उनलाई चिसो लाग्यो । त्यसबाट बच्न उनी गुफामा गए । त्यहाँ पनि उनलाई चिसोले सताइरह्यो । त्यही समयमा साधुले उनलाई एउटा सामान्य बाला दिए । तर, जसोतसो रात बिताएर बिहान हुँदा त्यो सामान्य बाला सुनको बालामा परिणत भयो । त्यसपछि जब बुटा मलिक गुफाबाट बाहिर निस्किए, त्यतिखेर गुफाको बाहिर धेरै साधुको समूह भेटियो । उनीहरू भगवान् शिवको खोजीमा घुमिरहेका थिए ।
हसन मलिकका अनुसार बुटा मलिकले ती साधुसित भने— उनले भर्खर भगवान् शिवसित प्रत्यक्ष भेटघाट गरेर आउँदै छन् । त्यसपछि उनले ती साधुलाई गुफामा लिएर गए । जब ती सबै साधु गुफामा पुगे, त्यहाँ हिउँको विशाल शिवलिंग थियो । साथमा पार्वती र गणेश बसेका थिए । त्यहाँ अमर कथा वाचन चलिरहेको थियो, त्यतिखेर ।

अमरनाथ ती तीर्थयात्रामध्ये एक हो, जसलाई कस्मिरका मुस्लिम समुदाय भित्री मनदेखि सम्मान गर्छन्

महाराजा राणजित सिंहको शासन
हसन मलिकका अनुसार यसै घटनापछि नै अमरनाथ यात्रा सुरु भएको थियो । पछि कैयौँ साधुले गुफाको नजिकैबाट हामफालेर आत्महत्या गर्न लागेपछि महाराजा रणजित सिंहको शासनकालमा यसलाई बन्द गरिएको थियो । मलिकका अनुसार मुसलमान परिवार भएकाले उनीहरूलाई पूजापाठको जानकारी थिएन । उनी अगाडि भन्छन्— हामीलाई पूजापाठबारे थाहा थिएन । त्यसैले नजिकको गणेश्वर गाउँबाट कस्मिरी पण्डितलाई हामीले बोलाएर पूजापाठ सुरु गराएका थियौँ ।  अमरनाथमा तीन प्रकारका मानिस बस्छन् । कस्मिरी पण्डित, मलिक परिवार र महन्त । यी तीनै समुदाय मिलेर यहाँको ‘छडी मुबारक’ पर्वको परम्परा पूरा गर्ने चलन छ । अमरनाथ यात्रालाई लिएर विधानसभाबाट कानुन पनि पारित भएको छ । जसमा मलिक परिवारबारे पनि उल्लेख छ ।

नेहरु पनि आउँथे कस्मिर
गुलाम हसनका अनुसार जब नेहरू कस्मिर आउँथे, त्यतिखेर उनी मलिक परिवारलाई सम्मानसाथ सम्झने गर्थे । उनी अगाडि भन्छन्— तर, पछि आएर हाम्रो पूरै महत्वलाई फारुक अब्दुल्ला सरकारले समाप्त गरिदियो । त्यतिखेरको बाला कहाँ छ त भन्नेबारे मलिकको भनाइ छ— बुटा मलिकबाट यो बाला तत्कालीन राजाहरूले लिएका थिए, यो अब कहाँ छ, यसको कसैलाई कुनै जानकारी छैन । हामीले यसबारे पत्ता लगाउन अनेक कोसिस ग¥यौँ । तर, राजतरंगिणीमा हाम्रो परिवारको पनि चर्चा छ र यस पौराणिक कथाबारे उल्लेख छ । तर, सो बाला कहाँ छ भन्नेबारे भने उल्लेख छैन ।

अमरनाथलाई सम्मान गर्छन् मुसलमान
गुलाम हसनको भनाइ छ— बुटा मलिकको मृत्युपछि उनको चिहान जंगलमा बनाइयो । उनैको नाममा हाम्रो गाउँको नाम बटकोट रह्यो । अमरनाथ यात्राका क्रममा हामी मासु खाँदैनौँ । किनकि, हामीलाई थाहा छ कि यस समयमा मासु खानु ठीक हुँदैन । मलिकका अनुसार अमरनाथ ती तीर्थयात्रामध्ये एक हो, जसलाई कस्मिरका मुस्लिम समुदाय भित्री मनदेखि सम्मान गर्छन् ।

(श्रीनगरबाट बिबिसी हिन्दी डट कमका लागि)
बिबिसी हिन्दी डट कमबाट


Facebook Comment


No ads found for this position