नदी तरेको ५० रुपैयाँ

जानकी गाउँपालिका–७ मुनुवाका स्थानीयलाई वर्षा सुरु हुनासाथ चिन्ता थपिन्छ । हिउँदमा समेत तर्न हम्मे पर्ने भुर्सा नदी वर्षामा उर्लिएर आउँछ । तर्नका लागि त्यहाँ न पुल छ, न डुंगा नै । स्थानीय राँगागाडाको भरमा नदी वारपार गर्छन् ।
भुर्सामा गत चैतमा नै पुल बनिसकेको छ तर ठेकेदारले पुलको मुखमा माटो थुपारेर आवातजावत बन्द गराएको स्थानीय नृप विष्टले बताए । पुलबाट वारपार गर्न नपाउँदा जोखिम बढेको उनको भनाइ छ । नदीमा वारपारको लागि डुंगासमेत नहुदा राँगागाडाको सहायता लिनुपरेको मुनुवाका गंगाराम चौधरीले बताए । उनले भने, ‘पुल नखुलेसम्म ठेकेदारले विकल्प बाटो बनाएर वारपार गर्नसम्मको व्यवस्था गरे दुःख हुँदैनथ्यो ।’
नदी तरेको ५० रुपैयाँ
नदी वारपार गराउनका लागि १५ देखि २० जना स्थानीयले राँगागाडा चलाएका छन् । गाडाबाट साइकल, मोटरसाइकललगायत अन्य सामान पनि वारपार गराइने स्थानीय रूपलाल चौधरीले बताए । उनले भने, ‘नदी तारेबापत साइकलको २० रुपैयाँ र मोटरसाइकलको ५० रुपैयाँ लिने गरेका छौँ ।’ नदीमा पानीको बहाव तीव्र छ । पुल बनाउँदा डोजरको प्रयोगले पानीभित्र खाल्डाखुल्डी परेकाले गाडा पनि जोखिम मोलेर तार्नुपरेको राँगागाडा चलाउने नाथुराम रावतले बताए । उनले भने, ‘राँगागाडाले नदी तारेर अहिले दैनिक पाँच हजारसम्म कमाइ भइरहेको छ ।’
बाटोको विकल्प छैन
टीकापुरदेखि जोशीपुर भजनी जोड्ने सो सडक भएर दैनिक सयौँ साइकल र मोटरसाइकल ओहोर–दोहोर गर्छन् । समयमा पुल निर्माण सम्पन्न नहुँदा सो सडक भएर यात्रा गर्नेले नदी तर्न राँगागाडा प्रयोग गर्छन् । लक्कडका सुनील चौधरीले भने, ‘टीकापुरदेखि मुनुवा पुग्न अन्य बाटो प्रयोग गरे ३० किलोमिटरको दूरी पार गर्नुपर्छ, सो सडकबाट सात किलोमिटरको दूरीमा मुनुवा पुगिन्छ ।’ छोटो दूरीमा मुनुवा जान सकिने भएकाले धेरैले त्यही रुट भएर यात्रा गर्ने उनले बताए ।साभार नयाँपत्रीका