लगलगे भ्यू टावर जाँदा नुनको पोको अनिवार्य ! (फोटोफिचर)

, ओखलढुंगा
वर्षा लागेपछि लेकाली क्षेत्रमा खुबै जुका लाग्छ । वस्तुभाउ मात्रै नभएर सर्वसाधारणलाई समेत जुकाले खुबै सताउँछ । बुधबार नवनिर्वाचित सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले कार्यकालको सुरुआत लगलगे भ्यू टावर शिलान्यास गर्ने भएपछि स्थानीय र नेताहरु सिद्धथाम लगलगे डाँडातिर उक्लिए ।
समुन्द्री सतहदेखि करिब २ हजार २ सय मिटरभन्दा माथि उचाइ रहेको डाँडा पुग्न १ घण्टा भन्दा बढी पैदल हिँड्नु पर्यो । तर पैदल यात्रामा जुकाले कम्ती सास्ती दिएन । हिँड्नुअघि नै स्थानीयले बाँसको भाटामा नुनको पोको भएको लौरो सबैलाई वितरण गरे । जुका लाग्न नदिन र लागि हालेमा झार्नका लागि यसको प्रयोग गर्न स्थानीयले पाहुनलाई लौरो वितरण गरेका हुन् ।
पोकाको नुन पनि झोलामै बोकेर सबैले खुट्टाभरि लगाए । बाक्लो संख्यामा भेटिएका जुकाले सबैलाई सताउन सम्म सतायो । चीनतिर झिंगादेखि जुकासम्म तस्करी हुन्छ भन्ने सुनिएकै हो । तर यस्तो लेकाली भेगमा पाइने जुकाको टोकाइले कतिपयलाई एलर्जीसम्म हुने गर्छ ।
जे होस् बुधबारको लगलगे पैदल यात्रामा भने सांसदहरु यज्ञराज सुनुवार, शकुन्तला राजभण्डारी, नवनिर्वाचित मेयर मोहनकुमार श्रेष्ठ, उपमेयर इच्छा गुरुङलगायतले नुनको पोको बोक्दै जुकाको स्टिङ अप्रेसनमा सामेल भए ।साभार कान्तिपुर