म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख

केशर रोका

 प्युठान : स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भर्नुभयो । स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उहाँ उत्र्तीण हुनुभयो ।

प्युठान गौमुखी गाउँपालिकाको उपप्रमुखमा विजयी रजवाराकी तुल्सी सुनार । तस्विर : केशर रोका

धेरै खुड्किला पारगरेपछि म्यादी प्रहरी बन्ने उहाँमा धेरै आत्मबल बढेको थियो । तर, विडम्बना अन्तर्वार्तापछि उहाँ अन्तिम छनोटमा पर्नुभएन । आफू मात्र नभई सँगै आएका तीनजना साथीसमेत छनोट हुन सकेनन् । उहाँहरू सबै अन्तर्वार्तापछि छनोटमा नपरेको सुनार बताउँनुहुन्छ । सुनारका श्रीमान् रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ । घरपरिवारमा २ छोरा र १ छोरीसहित सासू÷ससुरा रहेको उहाँले बताउनुभयो ।
३१ वर्षीया सुनार घर फर्कंदा गाउँघरमा स्थानीय तह निर्वाचनको रौनकले रमाइलो बढ्दै थियो ।

कांग्रेसमा आवद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिकाको उपप्रमुख पदमा उठ्न गरेको प्रस्ताब उहाँले सहजै स्वीकार्नुभयो । टिकट पाएपछि उहाँ चुनावी प्रचारप्रसारमा व्यस्त हुनुभयो । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनार जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुईजना प्रतिस्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी हुनुभयो । एमालेबाट उम्मेदवार बन्नुभएकी ज्ञानुमाया केसीलाई ४ सय ६३ मतको अन्तरले पछिपार्दै उहाँ विजयी हुनुभयो । सुनारले ३ हजार ९० र केसीले २ हजार ६ सय २७ मत पाउनुभएको थियो ।

गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भए पनि कांग्रेसले सफलता हासिल गरेको हो । कम्युनिस्टको बोलियो आधार क्षेत्र भनेर चिनिने उक्त गाउँपालिकामा यसपालिको निर्वाचनमा कांग्रेसले सफलता हाता पारेको छ । गाउँपालिकाको प्रमुखमा कांग्रेसकै नेता विष्णुकुमार गिरी विजयी हुनुभएको छ । ७ वडामध्ये ४ वटामा कांग्रेसले जित हासिल गरेको छ ।

म्यादी प्रहरीमा छनोट हुन नसके पनि आफूलाई कुनै पछुतो नभएको सुनारले प्रतिक्रिया दिनुभयो । पाँच वर्षका लागि गाउँपालिका उपप्रमुखमा विजयी भएपछि उहाँले आफूलाई भाग्यमानी ठान्नुभएको छ । ‘जनताले भोट हालेर मलाई विजयी गराउनुभयो’, सुनारले भन्नुभयो, ‘पाँच वर्षसम्म जनताको सेवामा लाग्नेछु ।’

जिल्लाकै दुर्गम गाउँ समेटेर बनेको उक्त गाउँपालिकावासीको जीवनशैली परिवर्तनमा आफू प्रतिबद्ध भएर लाग्ने उहाँको भनाइ छ । ‘विकास निर्माणका पूर्वाधारले यस गाउँपालिका धेरै पछाडि परेको छ’, उहाँले भन्नुभयो, ‘सबैको साथ र सहयोगले सुगम गाउँपालिका बनाउनेछौं ।’ सञ्चार, विद्युत्, सडक, स्वास्थ्यलगायत सुविधाका हिसाबले यो क्षेत्रका नागरिकले अझै परिवर्तनको महसुस गर्न नसकेको उहाँ सुनाउनुहुन्छ ।

‘धेरै महिलाको भीडमा तुल्सीजीलाई छानेको हौँ’, प्रमुखमा विजयी गिरीले भन्नुभयो, ‘चुनावमा हारजित स्वभाविक हो । अबका दिनमा सबै मिलेर विकास निर्माणतर्फ हाम्रो ध्यान जानेछ ।’ विगतका वर्षदेखि बाढीपहिरोले सताइरहने यस क्षेत्रमा विशेष योजना बनाएर अघि बढ्ने तयारी भइरहेको समेत उहाँले जानकारी गराउनुभयो । उत्तरपूर्वी प्युठानका विकटमा पर्ने साविकका रजवारा, अर्खा, पुँजा, लिवाङ, नारीकोट र खुङ गाविस मिलेर गौमुखी गाउँपालिका बनेको छ । यसै महिनामा पहिरोमा पुरिएर रजवारमा एकजनाको ज्यान गइसकेको छ । थुप्रै घर पहिरोको उच्च जोखिममा छन् । रजवारा, अर्खा क्षेत्र पहिरोको उच्च जोखिममा रहेका कारण विशेष योजना बनाएर अघि बढ्ने तयारी गरेको प्रमुख गिरीले बताउनुभएको छ ।


Facebook Comment


No ads found for this position