यसकारण सुके सुन्धारा

 शिवहरि घिमिरे,कर्मचारी सञ्चयकोषले तीन दशकअघि काठमाडौंको सुन्धारामा नयाँ भवन बनाउने भयो। भवनका लागि धमाधम जग खन्न थालियो। जग खन्न थालेपछि कलकल पानी बगिरहेको सुन्धारा सुक्न थाले।

पानी सुकेपछि स्थानीयले सरकारी निकायमा गुनासो गरे। केही विरोधमा उत्रिए। सञ्चयकोषले बाध्य भएर निर्माण रोक्यो। बीचैमा निर्माण रोकिएपछि सुन्धाराको पानी सुकेन। स्थानीयले पिउन र घरायसी प्रयोजनका लागि त्यहीँकोे पानी प्रयोग गरिरहे।

त्यसको करिब १५ वर्षपछि सञ्चयकोषले पुरानै स्थानमा नयाँ भवनको जग खन्न सुरु गर्‍यो। स्थानीयले काठमाडौं महानगरपालिकासँग गुहार मागे। तत्कालीन मेयर केशव स्थापितले स्थानीयको मागभन्दा सञ्चयकोषलाई साथ दिए।

सञ्चयकोषले सुन्धारामा पहिलो आधुनिक सपिङ कप्लेक्स काठमाडौं मल ठड्यायो। त्यसको जग खनिनसक्दै सुन्धाराको मूल सुकिसकेको थियो। धारामा बग्ने कलकल पानी इतिहास बन्यो।

सुन्धाराको मूल सुकाएर ठडिएको काठमाडौं मलले अहिले जमिन मुनिबाट तानेर पानी ट्यांकीमा चढाउँछ। सुन्धाराको पानी प्रयोग गर्ने स्थानीयवासी भने महँगोमा जार र ट्यांकरको पानी किन्छन्।

पुराताŒिवक महŒव बोकेको धरहरा नजिकको यो सुन्धारा आधुनिक विकासले अस्तित्व संकटमा पारेको सम्पदाको नमुना हो। अग्ला भवन, डिप बोरिङ र ठूला संरचना निर्माणले कसरी ऐतिहासिक महŒवका पुराना सम्पदा खतरामा पर्छन् भन्ने उदाहरण हो।

काठमाडौंको मात्र होइन, उपत्यकाभित्र सबै सुन्धारा अहिले सुक्दै गएका छन्। सुकेका सुन्धाराको संरक्षणमा न कसैको ध्यान गएको छ, न त तिनलाई पुरानै अवस्थामा फर्काउन कसैले पहल नै गरेको छ।

उपत्यकाभित्र तीन स्थानमा सुन्धारा छन्– धरहरानजिक, भक्तपुरको तलेजु मन्दिरछेउ र पाटनमा। पुरानो पुस्ताका उपत्यकावासीका अनुसार तीनै स्थानका सुन्धारामा पहिले बाह्रैमास पानी आउँथ्यो। त्यसमध्ये अहिले पाटनका सुन्धारामा मात्र वर्षाका बेला पानी आउँछ।

‘कुनै बेला उपत्यकाको सान मानिने प्राचीन सुन्धाराको अहिले नाम मात्रै बाँकी छ,’ सुन्धारा धरहरा संरक्षण समितिका सचिव गौतम डंगोल भन्छन्, ‘पहिला ढुंगेधारा भएको ठाउँमा अहिले व्यापारिक कम्प्लेक्स बनाइएको छ।’

उनी डिप बोरिङ, सिमेन्टले बनेका घर र ठूला सपिङ मलले सुन्धाराको अस्तित्व संकटमा पारेको बताउँछन्। ‘ढुंगेधाराको महŒव नै कलात्मक धाराको टुटीबाट कलकल पानी बग्नु हो,’ उनी भन्छन्, ‘पुराना धाराका टुटीबाट अहिले पानी बग्न छाडेको छ।’

सुन्धारामा बाँकी रहेका धारामा झार उम्रेका छन्। कतै   धारै भत्किएको छन्। कतै भने फोहोर थुपारिएको छ।

‘१५–२० वर्ष पहिलेसम्म पाँचवटै धारामा सङ्लो र चिसो पानी आउँथ्यो,’ डंगोलले भने, ‘धारामा जाँदा पहिलेको सम्झेर मन कुँडिन्छ।’ उनका अनुसार ०३९ सालतिर रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, भोटेबहाललगायत क्षेत्रका मानिस पानी थाप्न सुन्धारामा आउने गर्थे।

ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धिराज  वज्राचार्यले पछिल्लो समय डिप बोरिङले ललितपुरको सुन्धारा सुकेको बताए। ‘पहिला–पहिला यहाँका धारामा हिउँदमा पनि पानी आउँथ्यो,’ उनले भने, ‘अहिले वर्षामा मात्रै पानी आउँछ बस्ती बाक्लिँदै जाँदा पुराना धारा लोप भए।’

उनका अनुसार लगनखेल र पुल्चोक क्षेत्रमा बनेका अग्ला भवनका कारण पानीको स्रोत सुकेको हो। ललितपुरको खिचापोखरी मासिएपछि पनि काठमाडौं र ललितपुरको सुन्धारा सुकेको अनुमान गरिएको छ। खिचापोखरी रहँदासम्म राजकुलोमार्फत काठमाडौंको सुन्धारामा पानी पुग्ने गरेको थियो।

‘भक्तपुरमा पनि राजकुलो र परम्परागत पोखरी सुकेपछि आठ–नौ वर्षदेखि तलेजु भवानी मन्दिरछेउ धारामा पानी आउनै छाड्यो,’ बज्राचार्यले भने।साभार नागरीक


Facebook Comment


No ads found for this position