यस्ताे छ काठमाडौँमा कहाँ पार्किङ गर्दा कति शुल्क लाग्छ ?

साउन, काठमाडौं । काठमाडौँ महानगरले केही स्थानको पार्किङ सेवा शुल्कमा परिवर्तन गरेको छ। महानगरको नगरसभाले पारित गरेको आर्थिक ऐन २०७४ को अनुसूची १० अनुरुप यसअघि नलाग्ने स्थानमा पार्किङ शुल्क लाग्ने भएको हो।
महानगरले तय गरेको नयाँ नियम अनुसार अबदेखि टेकु पुल उत्तर तर्फ सोह्रखुट्टे, नयाँबजार, गंगबु, सामाखुसी, धापासी, महाराजगञ्ज चोक हुँदै चप्पल कारखानासम्मको सार्वजनिक बाटोमा पार्किङ गर्दा प्रति घण्टाको दरले दुई पाङग्रेको १५, चारपाङग्रेको ४० तथा छ पाङग्रेको १२० रुपैयाँ शुल्क लाग्ने छ।
न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टे, विष्णुमती लिंक रोड, टेकु हुँदै त्रिपुरेश्वर लगायतका भित्री शहरी क्षेत्रमा सवारी पार्किङ गर्दा दुई पाङग्रेको २०, चारपाङग्रेको ५० तथा छ पाङग्रे वा सो भन्दा बढीको २ सय रुपैयाँ शुल्क प्रति घण्टाको दरले तिर्नुपर्ने छ।
त्यस्तै विजुलीबजार मनोहरा पुल, पेप्सीकोलासम्म, पुतलीसडक, बागबजार, डिल्लीबनजार, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वर तथा सो आसपासका क्षेत्र, टेकु पुल, पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सितापाइला, माछापोखरी, बालाजुसम्मका स्थानको सार्वजनिक बाटोमा सवारी पार्किङ गर्दा पनि प्रति घण्टाको दरले दुई पाङग्रेको १५, चारपाङग्रेले ४० तथा छ पाङग्रे वा सो भन्दा बढीको १०० रुपैयाँ शूल्क लाग्ने भएको छ।
नयाँ नियम अनुसार सार्वजनिक जग्गामा सवारी पार्किङ व्यवसाय सञ्चालन गरेको अवस्थामा व्यवसाय करमा पचास प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
तर लिफ्ट वा आधुनिक प्रविधि प्रयोगरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने व्यवसायीलाई भने यस वर्षको व्यवसाय कर नलाग्ने भएको छ।