अब देखि नाइट बस दिउँसै छुट्नुपर्ने

साउन, काठमाडौं । रातको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द हुने भएपछि त्रिभुवन राजपथलाई ब्यवस्थित गर्न यातायात व्यवस्था विभागले रात्रिकालीन बस छुट्नको लागि समयसीमा तोकेको छ।

कलंकीबाट नागढुङ्गा हुँदै काठमाडौं बाहिरिने रात्रि बस दिउँसो ३ र ४ बजे नै नयाँ बसपार्कबाट छुट्नुपर्ने व्यवस्था गरिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए।

बिहीबारबाट मेची–कोशी अंचलको लागि दिउँसो ३ बजे र सगरमाथा तथा जनकपुर अंचलको लागि ४ बजे बसपार्कबाट रात्रि बस छुट्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता पाण्डेले बताए।

केही समयदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा अत्याधिक अवरोध आएपछि रात्रि बसहरुले त्रिभुवन राजपथको प्रयोग गर्दै आएका छन्।
काठमाडौंतर्फ आउने गाडि राति २ बजेपछि मात्र भिमफेदीबाट छुट्नेछन् भने यहाँबाट जाने गाडि राति ९ बजेसम्म नौबीसे कटिसक्नुपर्ने पाण्डेले जानकारी दिए।

लाइसेन्सको फारम अनलाइनबाट मात्रै

त्यस्तै बागमति अञ्चलमा आजबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फारम अनलाईनबाट मात्र भर्न सकिने व्यवस्था गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए। त्यसको लागि सफ्ट्वेरदेखि जनशक्तिसम्म सम्पुर्ण व्यवस्था मिलाइसकेको उनले बताए।

लाइसेन्सका लागि हाल अनलाइन फारमको व्यवस्था भए पनि अधिकांशले यातायात कार्यालयमै गएर भौतिक रुपमा भर्ने गरेका छन्। जसले गर्दा अनलाइन फारम प्रभावकारी हुन सकेको छैन।


Facebook Comment


No ads found for this position