मुहार फेर्न चाहन्छ बटौली बजार

सुदिप भण्डारी

कुनै बेलाको बटौली बजार अहिले बुटवल उपमहानगरको वडा नम्बर १ र २ मा पर्छ। तिनाउपारि पुकारिने यो ठाउँको ऐतिहासिक, सामाजिक व्यापारिक आयाम उहिलेको जस्तो छैन। त्यतिबेला सुदूर पहाडदेखि मान्छेहरु महिनौँ लगाएर हिँड्दै यहाँ झर्थे, नुनतेल खेप्थे र भारी बोकेर फेरि गाउँतिर फर्कन्थे। अहिलेको जहाँ मुख्य बजार छ, त्यो तिनताका जंगल र झाडीले ढाकिएको थियो।

२०२५ सालपछि तिनाउ वारिखस्यौलीमा पनि बजार विस्तार हुँदै गयो। र अहिलेको बुटवल सहरको आकार बन्दै आयो। विगतको ज्युँदो बजार अर्थात् बटौली अहिले मौन छ। भवनहरु जीर्ण छन्।

‘ए है, ती दिनको कुरै नगरौँ, रातभर पनि यहाँ व्यापार हुन्थ्यो। सिजनमा त खुट्टा हाल्ने ठाउँ हुन्थेन।’

२००८ सालदेखि बुटवल–१ मा बस्दै आइरहेका ८५ वर्षीय चन्द्रमान शाक्यका आँखामा अहिले पनि पुरानै बटौली नाच्छ। नुन तेल कपडा, लगायतका सामान किन्न पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, बाग्लुङ, प्युठान लगायतका जिल्लाबाट मानिसहरु बटौली झर्ने गर्दथे।

‘कात्तिकदेखि चैतसम्म किनमेल गर्नेहरुको ताँती नै देखिन्थ्यो,’ शाक्य सुनाउँछन्, ‘चाडबाडपछि चैतसम्म भीड हुन्थ्यो। गर्मी सुरु हुन थालेपछि मान्छे अलि कम हुन्थे।’ मानिसहरुले पहाडबाट घिउ बोकेर आउँथे र बटौलीमा संकलन भएको घिउ रिफाइन गरेर भारतको बनारस र लखनऊ पठाइन्थ्यो। पहाडबाट मात्र नभइ हिमाली भेगसम्मका मानिसहरु किनमेल गर्न बटौली झर्थे। घिउ मात्र होइन हिमालतिरको ऊनपनि बटौलीमा आउँथ्यो। बटौलीबाट भने नुन, मट्टीतेल, कपडा लगायतका सामान पहाडतिर जान्थ्यो।

पहाडबाट आएका नेवार र भारतबाट आएकाहरुले बटौलीमा व्यापार व्यवसाय गर्ने गर्दथे। बटौलीमा किनमेल गर्न आउने धेरैजसो आफैँ भारी बोकेर आउँथे, केहीले भरियाको साथ खोज्थे, खच्चरबाट पनि टाढाटाढाका ठाउँमा सामान पुर्‍याउने गरिन्थ्यो। तिनाउ किनारमा खच्चरगधा जम्मा हुन्थे।

बटौलीका पुराना व्यापारी ७० वर्षीय हरिशरण भन्छन्, ‘खस्यौलीतर्फ केही ठाउँमा बाँसका टहरा बनाइएका थिए। टहरामा भट्टी पसल थिए। भारतबाट सुनौलीको बाटो भएर लाहुरेहरु आउँथे। उनीहरु केहीबेर त्यहाँको भट्टीमा भुल्थे।’

कसरी सुनसान भयो पुरानो बजार?
बीसको दशकपछि सिद्धार्थ राजमार्गको निर्माण सुरु भयो र पहाडी क्षेत्रमा सवारी साधन ओहोरदोहोर गर्न थाले। सडक सुविधाका कारण तिनाउवारि खस्यौलीमा पसलहरु थपिन थाले।

‘तिनाउपारि गाडी नजाने साँघुरो बाटो थियो। वारिबाट ट्रकमा लोड गरेर पहाडतिर सामान लैजान सहज भएपछि बटौलीका व्यापारीहरु खस्यौलीतर्फ सरे,’ बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल लाकोल भन्छन्, ‘अमरपथ, राममन्दिर लाइनलगायतका ठाउँमा व्यापार फस्टाउँदै गयो। बिस्तारै अरु ठाउँमा बजार बिस्तार हुँदै गएपछि अहिलेको बुटवल बन्यो।’

पहिले तत्कालीन बुटवल नगरपालिकाको कार्यालय पनि बटौली क्षेत्रमै थियो। त्यसबेला बटौलीतर्फ ४ र खस्यौली तर्फ ५ वटा गरी ९ वडा थिए। खस्यौली तर्फ बजार विस्तार हुँदै गएपछि २०३५ सालमा नगरपालिका कार्यालय पनि खस्यौली तर्फ सर्‍यो। यसबाट पुरानो बजारको चहलपहल झन् घट्यो। नगरपालिकाको पुरानो कार्यालय रहेको भवनमा केही समय इलाका प्रशासन कार्यालय राखिएको हुनाले नागरिकता बनाउन आउनेहरुका कारण केही चहल पहल हुन्थ्यो। त्यो पनि द्वन्द्वकालमा असुरक्षाको कारण मुख्य बजारमै सर्‍यो। इलाका प्रशासन कार्यालय पनि त्यहाँबाट सरेपछि पुरानो बजारको चहलपहल ठप्पजस्तै भयो। पछि त्यो भवनमा बम विष्फोट भयो, जुन अहिले जीर्ण अवस्थामा छ।

सरकारी कार्यालयको माग
इलाका प्रशासन कार्यालय पनि सरेपछि अहिले पुरानो बजारमा नगरका वडा कार्यालय बाहेक अरु सेवाग्राहीको चहलपहल हुने कार्यालय छैन। जीर्ण बनेको तत्कालीन नगरपालिकाको पुरानो कार्यालय रहेको भवनको पुनर्निर्माण हुन सकेको छैन।

‘सेवाग्राहीको भीड हुने कम्तीमा २ वटा सरकारी कार्यालय यहाँ हुनुपर्छ,’ स्थानीय देवेन्द्र शाक्य भन्छन्, ‘त्यसो भएमा यहाँ चहलपहल पनि बढ्छ। विभिन्न ठाउँका मानिसले पुरानो बुटवललाई चिन्ने र बुझ्ने मौका पनि पाउँछन्। यहाँको पहिचान बढ्छ।’

जीर्ण पुराना घरहरु
बटौली क्षेत्रमा आधुनिक ढलान घर पनि बनिरहेका छन्। तर अझै पनि सय वर्षभन्दा पुराना घर समेत यहाँ देख्न सकिन्छ। पुराना घर काठका ढोका भएका व्यापार गर्ने शैलीका छन्। तर ती घरमा पसल र व्यवसाय छैन। कतिपय व्यक्तिगत रुपमा भाडामा गएको छ भने केही प्रयोगविहीन छ। उचित संरक्षणको अभावमा ती घर थोत्रिएका छन्। धेरैजसो घरधनीहरु नै यो ठाउँमा बस्दैनन्।

भाडामा लगाएर बुटवलकै मुख्य बजारका साथै भैरहवा, पोखरा, काठमाण्डौ लगायतका ठाउँमा बसेका छन्।ज्यामी, मजदुरी गर्नेहरु भाडामा बस्ने गर्दछन्। ‘बिक्री नहुँदा र घरधनीको हेरचाह नहुँदा पुराना घरहरु जीर्ण भएका हुन्। पुख्र्यौली थलो यहाँ भएपनि बस्नको लागी टाढा पुगेका छन्,’ साविक बुटवल–२ को टोल विकास संस्था समन्वय समितिकी संयोजक लक्ष्मी श्रेष्ठ भन्छिन्, ‘घरधनी नभेटिँदादा ठूलो समस्या परेको छ। यहाँको विकास निर्माणका काममा जनसहभागिता जुटाउन गाह्रो छ।’ सडक कालोपत्रे गर्ने लगायतका अरु विकासका कार्य गर्न रकम उठाउन समस्या पर्ने गरेको उनको भनाइ छ। पुरानो बजारमै घरजम गरेर बसेकाहरुले पनि आफ्नो व्यापार–व्यवसाय चलाउन सकेका छैनन्। कोठा तथा सटरहरु भाडामा जान सकेको छैन।

अर्को पक्की पुल बनेपछि पुरानो बजार चम्किने आशा

पूर्वपश्चिम राजमार्गमा रहेको तिनाउ पुलले बुटवलको अहिलेको मुख्य बजार र पुरानो बजारलाई जोडेको छ। यी दुई बजारलाई जोड्ने अर्को पक्की पुल पनि निर्माण हुँदैछ। पुलले बुटवल उपमहानगरपालिकाको एक र ३ नम्बर वडालाई जोड्दछ। पुल बनेपछि बुटवलको पुरानो बजारमा चहलपहल बढ्छ कि भन्ने स्थानीयको आशा छ। टोल विकास संस्था समन्वय समितिकी संयोजक लक्ष्मी श्रेष्ठ भन्छिन्, ‘पुल बनेपछि पुरानो बजार हुँदै माइक्रो बस पनि ओहोर दोहोर गर्ला, अरु सवारी साधन पनि चल्यो भने केही चहलपहल बढ्ला।’

‘पक्कीपुल बनिसकेपछि सटरहरुको भाडा दोब्बर–तेब्बर हुन्छ,’ बुटवल वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष महेन्द्र लिगल भन्छन्। तिनाउको वारिपारि रहेको बुटवल–३ गोलपार्कदेखि वडा नम्बर १ को गणेशथानसम्म सवारी साधनमा आवत–जावत गर्न अहिले झण्डै २ देखि ३ किलोमिटरको दूरी तय गर्नुपर्दछ। पैदल हिँड्नलाई झोलुंगेपुल मात्र छ।

विगतमा पनि यो ठाउँमा पक्कीपुल निर्माण भएको थियो। उद्घाटनको तयारी हुँदै गर्दा २०३८ सालको बाढीले पुल बगायो। पुल बगाएपछि जितगढीनजिक राजमार्गको लागि अहिलेको पक्की पुल बनेको हो। ‘बुटवल १ र ३ जोड्ने निर्माणधीन पक्की पुल बनेमा वैकल्पिक मार्गको रुपमा समेत रहने छ। पुरानो र नयाँ बजारलाई नजिक बनाउने छ,’ बटौली संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकोलले भने, ‘अहिले रिक्सा र आफ्नो साधनमा पारिबाट वारि आउन समस्या छ। पुल निर्माण भएत्यो समस्या हल होला।’

पुरानो बजारलाई संरक्षण र विकासको चुनावी नारा
पुरानो बजार अर्थात बटौलीलाई ऐतिहासिक र पुरातात्विक स्थानको रुपमा विकास गर्नुपर्छ भन्न आवाज बेलाबखत उठ्ने गरेको छ। यस पटकको स्थानीय तहको चुनावमा पनि यो मुद्दा समेटिएको थियो। दलहरुले आफ्नो घोषणा पत्रमा बुटवलको पुरानो बजारलाई एतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उल्लेख गरेका छन्।

नेकपा एमालेले आफ्नो घोषणा पत्रमा लेखेको छ, ‘बटौली (पुरानो बुटवल) लाई मौलिक एवं परम्परागत शैलीको आधुनिक सहरको रुपमा पुनर्निर्माण गरिने छ।’ यहीँ नेपालले अंग्रेजलाई पराजित गरेको जितगढी किल्ला, मणिमुकुन्द सेनको शीतकालीन दरबार रहेको स्थान (जहाँ अहिलेको मणिमुकुन्द सेन उद्यान) रहेको छ। त्यसैले पर्यटकीय दृष्टिले यो ठाउँ महत्वपूर्ण छ। मणिमुकुन्द सेन उद्यानमा स्थानीय पर्यटकको चहलपहल हुने गर्दछ भने जितगढी प्रचार प्रसारको अभावमा ओझेलमा छ।

बुटवलको १ र २ दुवैमा एमालेले वडा अध्यक्ष जितेको छ। उपमहानगरमा पनि उसकै नेतृत्व छ। बुटवल १ का वडा अध्यक्ष महेन्द्र लिगलले बुटवलको पुरानो बजारलाई मौलिक र पहिचान झल्किने आधुनिक बजारको रुपमा विकास गर्ने बताएका छन्। उनले पर्यटकलाई आकर्षित गर्ने खालको ठाउँ बनाउने योजना रहेको सुनाए।

बटौली संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकोलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुरानो बजार संरक्षण हुने आशा व्यक्त गरे, ‘२० वर्षपछि जनप्रतिनिधि आएका छन्, आशा त गर्नै पर्यो। आशा गर्नेबित्तिकै भइहाल्छ भन्ने होइन, तर जनप्रतिनिधिलाई काम गर्नुपर्ने दबाब हुन्छ,’ उनले भने, ‘यो ठाउँ बुटवल सहरको जननी वडा हो। अंग्रेजलाई हराएको राष्ट्रिय गौरवको ठाउँ पनि हो। साँस्कृतिक पहिचान बोकेको ठाउँ पनि हो। गर्नुपर्ने धेरै काम छ।’ पुरानो बजार बटौलीमा थुपै ऐतिहासिक, धार्मिक मठ–मन्दिरहरु पनि छन्। पछिल्लो पटक बटौली संरक्षण सम्बद्र्धन समितिको अगुवाइमा पर्व विशेष कार्यक्रमहरु पनि हुन थालेका छन्। त्यसैले बटौली क्षेत्र सम्भावना बोकेको ठाउँ हो।साभार नेपालखबर


पुरानो बजारलाई पर्यटकीय गन्तव्य बनाउँछौँः महेन्द्र लिगल,वडा अध्यक्ष बुटवल-१

हामीले इच्छा शक्ति राख्यौं भने यो बटौलीले काँचुली फेर्न सक्छ। त्यसको लागि स्थानीय, प्रदेश र केन्द्रको सहयोग आवश्यक पर्छ। यसलाई साँच्चिकै नमुना बजार अर्थात गोल्डेन सिटीको रुपमा अगाडि बढाउने मेरो परिकल्पना छ। पुरातात्विक, ऐतिहासिक र धार्मिक हिसाबले बटौली एउटा पर्यटकीय हब बन्न सक्छ। त्यसको लागि सामान्य सुरुवात हामीले गरेका छौँ। यो ऐतिहासिक ठाउँलाई चिनाउन यहाँ एउटा विशेष बजारको स्थापना गर्नुपर्दछ। त्यो सामान किन्न बटौली मात्र आउन परोस्, मान्नुस् सुन किन्न पर्यो भने बटौली नै जानुपर्छ। गाडी घोडामा होइन पैदल हिँडेर बजार घुम्नुपर्दछ भन्ने होस्।

मौलिक शैलीले बजारको पुनर्निर्माण गर्ने, भित्र आधुनिक, बाहिर मौलिकता झल्काउने खालको डिजाइन तयार गर्ने, घरमा एउटै कलर लगाउने, अगाडि बगैँचा सहितको रमणीय सहर बनाउने मेरो परिकल्पना छ। पर्यटकलाई ल्याउन होम स्टेको यहाँ विकास गर्न सकिन्छ, यस क्षेत्रको पुरानो विद्यालय बुटवल माविलाई आधुनिकता दिन प्राविधिक शिक्षालय बनाउने, पुराना शैलीका रेष्टुरेन्ट, तिनाउ किनारमा साँझमा घुम्ने ठाउँ बनाउन सके बटौलीको पहिचान नै फरक हुन्छ। त्यसैगरी पर्यटकलाई आकर्षित गर्नेगरी ऐतिहासिक जितगढी किल्लासम्बन्धी कार्यक्रम ल्याउँछौँ। समग्रमा बुटवल १ र २ मा रहेको पुरानो बजारलाई एउटा पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने छौँ। त्यसको तयारी छिट्टै थाल्छौँ।


Facebook Comment


No ads found for this position