भारतीय पर्यटकको रोजाईमा किन पर्दैछ पोखरा ?

नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या पाँच वर्षमा ७ लाख पुगेको छ । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउने रहेका छन् । सन् २०१२ देखि २०१६ सम्मको अवधिमा ६ लाख ७३ हजारभन्दा बढी भारतीयले नेपाल भ्रमण गरेका हुन ।

वार्षिक १५ देखि २५ प्रतिशत वार्षिक रूपमा भारतीय पर्यटक नेपाल आउने गरेका छन् ।

सन् २०१२ मा एक लाख ६५ हजार, सन् २०१३ मा एक लाख ८० हजार, सन् २०१४ मा एक लाख ३५ हजार, सन् २०१५ मा ७५ हजारभन्दा बढी भारतीय पर्यटक आएको तथ्यांक छ ।

यसैगरी सन् २०१६ मा एक लाख १८ हजार भारतीय नागरिकले नेपाल भ्रमण गरेका छन् ।

भारतपछि बढी पर्यटक आउनेमा क्रमशः चीन, श्रीलंका, अमेरिका र बेलायतका छन् । सन् २०१२ देखि अहिलेसम्म चार लाखभन्दा बढी चिनियाँ नागरिक नेपाल भ्रमणमा आइसकेका छन् ।

यसैगरी सन् २०१२ देखि सन् २०१६ सम्म श्रीलंकाबाट साढे दुई लाखभन्दा बढी, अमेरिकाबाट पनि साढे दुई लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । पाँच वर्षको अवधिमा बेलायतबाट पनि दुई लाखकै हाराहारीका पर्यटक आएका छन् ।

भारतीयमध्ये धार्मिक पर्यटकको संख्या बढी छ । धार्मिक रूपमा आउने पर्यटकको बसाइ र खर्च पनि कम हुन्छ । तर, पछिल्लो चार वर्षदेखि थाइल्यान्डबाट नेपाल घुम्न आउनेको संख्या क्रमशः बढ्दो छ ।

चार वर्षको अवधिमा थाइल्यान्डबाट साढे एक लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आएका छन् ।

पोखरामा चिनियाँभन्दा भारतीय बढी

नयाँ वर्ष २०७४ को सुरुको महिनादेखि असार दोस्रो हप्तासम्म गत वर्षभन्दा भारतीय पर्यटकको आगमन बढेको छ । पोखराका होटलमा कुल पर्यटकमा ६० प्रतिशत भारतीय पर्यटक रहेका छन् । २० प्रतिशत चिनियाँ र बाँकी आन्तरिक र युरोप अमेरिकन पर्यटक छन् ।

भूकम्प जानुअघि चिनियाँ र भारतीय पर्यटकको आगमनको तुलनामा भूकम्प र नाकाबन्दीपछि ७० प्रतिशतले पर्यटकको आगमन घट्दा होटल रेस्टुरेन्टसहित साहसिक खेल प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपफ्लायर, बञ्जी जम्पलगायतका खेल पर्यटन प्रभावित भएको थियो ।

सन् २०१२ देखि चिनियाँ पर्यटकको आगमन बढ्ने क्रमसँगै पोखराको साहसिक हवाई खेल पर्यटनमा लगानी ह्वात्तै बढेको थियो ।
बजेट कम भएका चिनियाँ पर्यटक पछिल्लो समयमा तिब्बत हुँदै तातोपानी नाकाबाट नेपाल आउने क्रम बढेको थियो ।

यही कारणले साहसिक खेल पर्यटनको पोखरामा विकास भएको थियो । भूकम्पले तातोपानी नाका बन्द भएपछि घटेको चिनियाँ पर्यटकको आगमन अझै उकासिन नसक्दा पर्यटन उद्योग प्रभावित भएको हो ।

पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी दर्ता भएपनि ४५ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । ३ अल्ट्रालाईट कम्पनीका १४ अल्ट्रालाईटमा अझ बढी लगानी रहेको छ ।

पाँच वर्षमा भारतीय पर्यटक

वर्ष भारतीय जम्मा
२०१२ १,६५,८१५ ८,०३,०९७
२०१३ १,८०,९७४ ७,९७,६१६
२०१४ १,३५,३४३ ७,९०,११८
२०१५ ७४,८८४ ५,३८,९७०
२०१६ १,१८,२४९ ७,५३,००२


Facebook Comment


No ads found for this position