मिलेमतोमा होटल एभरेस्टलाई रातो स्टिकर

उत्तम काप्री

काठमाडौं : पाँच तारे होटल एभरेस्टलाई मिलेमतोमा रातो स्टिकर दिइएको तथ्य फेला परेको छ । व्यवस्थापनले होटल सञ्चालन गर्न सक्ने अवस्था नभएपछि सरकारी निकायसँग मिलेमतो गरी रातो स्टिकर टाँस्न लगाएको हो ।

होटल व्यवस्थापनले पर्यटन विभागका इन्जिनियरलाई आर्थिक प्रलोभनमा पारेर होटल बन्द गर्नुपर्ने गरी रातो स्टिकर दिन लगाएको होटलमा लामो समयदेखि काम गर्दै आएका पुराना एक कर्मचारी बताउँछन् । सन २०१५ अप्रिल २५ को भूकम्पपछि पहिलो पटकको सरकारी अनुगमन टोलीले होटलमा हरियो स्टिकर (सञ्चालन गर्न मिल्ने) टासेको थियो । वैशाख २९ गतेको परकम्पपछि पुनः भएको अनुगमनमा भने सरकारी निकायले होटल सञ्चालन गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो ।

होटल व्यवस्थापनले पारिवारिक विवाद चर्कंन थालेपछि सरकारी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्दै रातो स्टिकर लगाउन लगाएको स्रोत बताउँछ । सरकारी निकायले पहिलो पटक दिइएको हरियो स्टिकरमा सरकारी लोगो भए पनि दोस्रो पटक दिएको रातो स्टिकरमा सरकारी लोगो छैन ।

होटल व्यवस्थापनले आन्तरिक समस्या समाधन र कर्मचारी आन्दोलनको समस्या समाधनका लागि भन्दै रातो स्टिकर माग गरेर रातो स्टिकर लिएको स्रोतको दाबी छ । ३५ रोपनी जग्गामा रहेको होटलको पुरानो बिल्डिङमा रातो स्टिकर लगाएपछि पूरै क्षति भएको भन्दै होटल व्यवस्थापनले बिमा कम्पनी (ओरियन्टल इन्स्योरेन्स) सँग पौने ४० करोड रुपैयाँ बिमा दाबी गरेको थियो ।

व्यवस्थापनले होटल सञ्चालन गर्न सक्ने अवस्था नभएपछि सरकारी निकायसँग मिलेमतो गरी रातो स्टिकर टाँस्न लगाएको हो ।

काका मकबुल लारी र भतिज मुस्कुद लारीबीच सेयर बाँडफाँटमा समस्या बढ्दै थियो । काकाको मृत्युपछि भतिज मस्कुदले मकबुलका छोरा मुजाफरलाई होटलको सेयर आफ्नो नाममा सारको भन्दै सेयर दिन मानेनन् । भाइ मुजाफरले बुबाको सेयरमा आफ्नो हक रहने भन्दै कानुनी रूपमा अगाडि बढे । दाजु भाइको मुद्दा अहिले सवोच्चमा चलिरहेको छ । होटल सञ्चालन गर्न भन्दै पछिल्लो समय भने व्यवस्थापन उद्योग विभागमा पुगिरहेका छन् ।

मस्कुदले भाइ मुजाफरलाई तिम्रो बुबा मकबुलसँग ५० लाख आईसीमा होटल किनेको भन्दै नक्कली कागज बनाउँदै सेयर आफ्नो नाममा सारेको स्रोत बताउँछ । तर, पर्यटन विभागका इन्जिनियर अर्थात् रातो स्टिकर दिने पोषनाथ अधिकारीले कसैको आर्थिक प्रलोभनमा परेर रातो स्टिकर नदिएको दाबी गर्नुहुन्छ ।

होटल अनुगमनमा जाँदा व्यवस्थापनले पाँचवटा मुख्य पिलरमा कागज बेरेको थियो । व्यवस्थापनले भूकम्पले पिलरको मार्वल उप्किएकाले छोपेको जानकारी दिएको अधिकारीले बताउनुभयो । तर, अनुगमनका क्रममा पिलरको अवस्था नै खराब भएपछि रातो स्टिकर टाँसिएको उहाँको दाबी छ । पाँचवटा पिलरको अवस्था खतरापूर्ण भए पनि पूरै होटल ड्यामेज नभएको उहाँले बताउनुभयो ।

यसका लागि इन्जिनियर ल्याएर सर्वे गर्न आफूहरूले सुझाव दिएको अधिकारीको तर्क छ । समस्या देखिएको पिलर ‘रेक्ट्रो फिट’ गर्नसपर्ने वा पुर्ननिर्माण गर्नुपर्ने भन्ने विषयमा अध्ययन गर्न सुझाव दिइएको थियो । तर, त्यस विपरित व्यवस्थापनले होटल नै बन्द गरेको छ । बिमा कम्पनीको अध्ययन प्रतिवेदनमा पिलरको प्लास्टर मात्रै गएको उल्लेख छ । होटल व्यवस्थापनले भने आन्तरिक समस्या समाधान र बिमाबाट रकम लिएर नयाँ भवन बनाउने मनासयमा होटल बन्द गरेको स्रोत बताउँछ ।

होटलका मालिक अहिले पनि नेपालमा फरार सूचीमा छन् । तर, फरार सूचीमा रहेका मस्कुद महाराजगन्ज प्रहरी वृत्त पछाडिको घरमै बस्दै आएको स्रोत बताउँछ । मस्कुदलाई पहिलो पटक २०६४ र दोस्रो पटक २०६८ मा पक्राउ पुर्जी जारी भएको थियो । तर, प्रहरी प्रशासनले भने २०६८ चैत २७ गते मस्कुद नेपाल नभएको भन्दै रिपोर्ट बुझाएको थियो । भूकम्पपछि एक साताभन्दा बढी मस्कुद होटलमा नियमित आउने गरेको होटलका कर्मचारी बताउँछन् । साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position