यी हुन् सम्भावित रुट काठमाडौंमा स्काई रेल गुड्न सक्ने

सुवास गोतामे

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रेल सपना बाँड्नुभयो । महानगरपालिकाकै पूर्वप्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले मनोरेल र अहिले मेयर विद्यासुन्दर शाक्यले स्काई रेल सपना बाँड्नुभएको छ, राजधानीवासीलाई ।

सहरीकरणले जकडिएको काठमाडौं उपत्यकामा स्काई रेल कति सम्भव छ वा छैन भन्नेबारे भर्खरै एउटा कम्पनीले गरेको प्रारम्भिक अध्ययन शाक्यको हातमा परेको छ । अध्ययनअनुसार केही आशावादी हुनुहुन्छ शाक्य । तर, कार्यान्वयन पक्ष त्यति सहज छैन शाक्यलाई । साईमेक्स ग्रुपले पाँच महिना लगाएर गरेको अध्ययनले काठमाडौं उपत्यकामा स्काई रेल सम्भव रहेको प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा पाँच वटा रुट प्रस्तावित गरिएको छ । काठमाडौं र ललितपुर जिल्लालाई छोए पनि भक्तपुरलाई भने छोएको छैन । प्रस्तावित योजनाअनुसार स्काई रेलका रुटमा विद्युतीय बस सेवा सञ्चालन गर्ने भनिएको छ । गौशाला, एयरपोर्ट, सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टीमोड, कलंकी, सहिदगेट, नारायणगोपाल चोक, जोरपाटी, बल्खु, जावलाखेललगायत स्काई रेल स्टेसनमा विद्युतीय बस सेवा सञ्चालन गरिने योजना प्रस्तावित गरिएको छ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको रेल लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने दाबी कम्पनीको छ । रेलको एउटा डिब्बामा दुई सय जना यात्रु अट्न सक्ने र एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिने कम्पनीले जनाएको छ । तर, महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने अध्ययनले देखाएको छ । कम्पनीले प्रस्तावित गरेको पाँच वटा रुटमा स्काई रेल दुई अर्ब १५ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

साईमेक्सका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौं उपत्यकामा मनोरेलको सम्भावना धेरै रहेको बताउनुभयो । ‘अहिले पहिलो चरणमा १० किलोमिटर पाइलट प्रोजेक्टका रूपमा सफल गराउन सकियो भने थप विस्तार गर्न सकिन्छ, यात्रुलाई आरामदायी र समयमै यात्रा गराउन स्काई रेल ज्यादै उपयोगी छ, वातावरणीय महत्वले पनि स्काई रेल उपयोगी छ ।’ पाण्डेले चाईनिज कम्पनी बिवाईडीको टोलीलाई काठमाडौं झिकाएर थप अध्ययन गर्ने र महानगरपालिकाले काम अगाडि बढाउन भने काम थालिने बताउनुभयो । उहाँले सुरुको पाइलट प्रोजेक्ट सफल भए भक्तपुरतर्फ पनि लैजान सकिने बताउनुभयो ।

महानगरपालिकाका मेयर शाक्यले काठमाडौं उपत्यकामा स्काई रेलको सम्भावना भएकै कारण अध्ययन गरिएको बताउनुभयो । ‘काठमाडौंमा स्काई रेल चाहिन्छ भनेर जनताले नै अनुमोदन गरिसक्नुभयो, महानगरले पनि गरिसक्यो, थुप्रै संघसंस्थाले अध्ययन गरिसकेका छन्, हामी सबैको अध्ययन हेरेर कसरी अगाडि बढ्ने कसलाई जिम्मेवारी दिने भनेर छलफल गर्छौं, उपयुक्त समयमा काम थाल्छौं,’ शाक्यले भन्नुभयो, ‘म ललितपुर र भक्तपुरका मेयरसाबहरूसँग संयुक्त छलफल गरेर काम सुरु गर्ने प्रक्रियामा छु ।’

किन स्काई रेल ?
– कम भीडभाडको सडक सञ्जाल जोड्न
– दुर्घटना न्यूनीकरण गर्न
– वायु प्रदूषण न्यूनीकरण गर्न
– ध्वनि प्रदूषण नियन्त्रण गर्न
– पेट्रोलियम पदार्थको प्रयोगमा कमी ल्याउन
– उत्पादकत्वमा वृद्धि गर्न
– रोड ट्राफिक व्यवस्थापन गर्न
– भूमि अधिग्रहण कम गर्न
– वातावरणीय सुरक्षा गर्न
– यात्रुलाई आरामदायी बनाउन
सम्भावित रुट

सातदोबाटो-लगनखेल-पुल्चोक-हरिहरभवन-त्रिपुरेश्वर-सहिदगेट-रत्नपार्क-नारायणहिटी-लाजिम्पाट-महाराजगन्ज-नारायणगोपाल चोक (१२.१०किमि)
-दोस्रो
कीर्तिपुर-कलंकी-रविभवन-कालिमाटी-त्रिपुरेश्वर-माइतीघर-नयाँ बानेश्वर-तीनकुने-एयरपोर्ट (११.१५ किमि)
-तेस्रो
कोटेश्वर-तीनकुने-सिनामंगल-चाबहिल-नारायणगोपालचोक-तिलिंगेटार-गोंगबु-बालाजु-स्वयम्भू-सीतापाइला-कलंकी-बल्खु-धोबीघाट-एकान्तकुना-सातदोबाटो-ग्वार्को-कोटेश्वर (२८.५३किमि)
-चौथो
स्वयम्भू-छाउनी-गंगालाल-रत्नपार्क-बागबजार-डिल्लीबजार-पुरानो बानेश्वर-चाबहिल-बौद्ध (११.७०किमि)
-पाँचौ
धोबीघाट-पुल्चोक-पाटन दरबारस्क्वार-माइतीघर-सिंहदरबार-डिल्लीबजार-तिलगंगा-नारायणहिटी-नयाँबजार-गाेंगबु (१३.८० किमि)

साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position