लोपोन्मुख १० जडीबुटी खोजिँदै

छेटु शेर्पा 

काठमाडौं : वन विभागले साइटिसको लोपोन्मुख प्रजातिको सूचीमा राखिएकासहित १० जडीबुटी खोज्न थालेको छ । वर्षौंदेखि लोपोन्मुख सूचीमा रहे पनि यकिन अवस्था र तथ्यांक नभएपछि विभाग त्यसको अध्ययनमा लागेको हो । अध्ययन थालिएको जडीबुटीमा सतुवा, जटामसी, कुड्की, सुगन्धवाल, भुतकेस, लोठसल्ला, पाँचऔंले, वन लसुन, नीरमसी र बिखुमा छन् । नेपालमा यी जडीबुटी उपलब्ध रहेको भनिए पनि कहाँ, कति पाइन्छ र अवस्था कस्तो छ भन्ने अध्ययन गर्न लागिएको हो ।

यी जडीबुटीको खेती गरी व्यापार र बजारको अवस्थालाई सुधार गर्न नीति ल्याउने लक्ष्य रहेको विभागका प्रवक्ता ईश्वरी पौडेलले जानकारी गराउनुभयो । यीमध्ये केही बढी मात्रामा पाइने भए पनि लोपोन्मुख सूचीमै रहेको तथा वन लसुनजस्तो कम संख्यामा पाइने जडीबुटी संरक्षणमा चुनौती भएकाले अवस्था पत्ता लगाई नीतिगत रूपमा खुला गर्ने विभागको योजना छ ।

प्रशस्त मात्रामा पाइने जडीबुटीको खेती गरी व्यापार खुला गरिने र लोप हुने अवस्थामा रहेकालाई संरक्षण गरिने विभागको नीति रहेको शाखाकी शान्तमाया श्रेष्ठले बताउनुभयो । हालसम्म यी जडीबुटीबारे अध्ययन हुन सकेको थिएन । साइटिसको अनुसूची २ मा जटामसी, लोठसल्ला, सुगन्धवाललाई समेटिएको छ । यी जडीबुटीको कच्चापदार्थ नभई प्रशोधन गरेर मात्र निर्यात गर्न पाउने व्यवस्था छ । साइटिसको सूचीमा नभए पनि अन्य सात जडीबुटी नेपालले लोपोन्मुख सूचीमै राखेको छ । यी बहुमूल्य जडीबुटीको व्यावसायिक खेती गरे आर्थिक समृद्धि हुने विभागले जनाएको छ ।

यी जडीबुटीको खेती गरी व्यापार र बजारको अवस्थालाई सुधार गर्न नीति ल्याउने लक्ष्य रहेको विभागका प्रवक्ता ईश्वरी पौडेलले जानकारी गराउनुभयो ।

वनस्पति विभागले भने ३३ प्रकारका जडीबुटीलाई आर्थिक विकासका लागि प्राथमिकीकरणमा राखेको छ । पाँचऔंले, जटामसी, कुटकी, पिपला, सर्पगन्धा, चिराइतो, लोठसल्ला, गुर्जो, गुच्ची च्याउ, सतुवा, काकोली र कालो मुसली गरी १२ जडीबुटीको खेती तथा अनुसन्धान सुरु गरिएको छ । एक हजार पाँच सय मिटरदेखि चार हजार ६ सय मिटर उचाइमा पाइने यी जडीबुटीको अध्ययनपछि स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने गरी नीति बनाउने विभागले जनाएको छ ।

यस्ता जडीबुटी मानवपहुँच क्षेत्रमा कम र उच्च हिमाली क्षेत्रमा भने पाइने गरेको छ । यसको संकलन, खरिद-बिक्री र निर्यातमा अवस्था हेरेर नीतिलाई समयअनुसार खुकुलो बनाउने प्रवक्ता पौडेलले बताउनुभयो । त्यससँगै व्यवसायीकरणमा लैजान बाटो खुल्नेछ ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position