साहसिक पर्यटनमा गाउँपालिकाको जोड

केशवशरण लामिछाने

पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ । गाउँमा छाँगाबाट खस्ने खेल क्यानोनिङ, ट्रेकिङ, बन्जिजम्प, जिपफ्लाएर, प्याराग्लाइडिङलगायत साहसिक खेलको प्रवद्र्धन गर्ने योजना हालैको गाउँसभामा अध्यक्ष कर्णबहादुर गुरुङले सार्वजनिक गर्नुभएको हो ।

त्यस्ता गन्तव्यका लागि आउने नेपाली र विदेशी पर्यटकबाट शुल्क उठाउने निर्णय पनि माछापुच्छ्रे गाउँपालिकाले गरेको छ । ट्रेकिङ गर्ने नेपालीबाट ५०, विदेशीबाट ५ सय, क्यानोनिङ गर्ने नेपालीबाट ५०, विदेशीबाट दुई सय रुपैयाँ शुल्क उठाउने निर्णय गाउँपालिकाको छ । त्यसैगरी र्‍याफ्टिङमा नेपालीलाई एक सय, विदेशीलाई पाँच सय र प्याराग्लाडिङमा नेपालीलाई एक सय विदेशीलाई पाँच सय शुल्क लाग्ने भएको छ । ती साहसिक खेल सञ्चालन गर्ने संस्थामार्फत गाउँपालिकाले शुल्क उठाउनेछ ।

गाउँपालिकाकाले भीर मौरीको मह काड्न अनुमति लिनुपर्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाभित्र भीर मौरीको मह काढ्न अनुमति दिने र त्यसबापत पाँच सय रुपैयाँ लाग्ने करको दर पनि तोकिएको अध्यक्ष गुरुङले सार्वजनिक गर्नुभयो । माछापुच्छ्रे गाउँपालिकाको सबैजसो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्छ । अहिलेसम्म ती क्षेत्र घुम्न आउने विदेशी पर्यटकबाट एक्यापले प्रवेश अनुमति शुल्क लिने गरेको छ।

आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै अध्यक्ष गुरुङले गाउँपालिका केन्द्र लाहाचोकलाई पोखरासँग जोड्ने सडक पिच गर्ने, सबै वडा जोड्ने सडक स्तरोन्नति गर्नेलगायत योजना सुनाउनुभयो । गाउँपालिकाभित्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्न प्रोत्साहन गर्ने र गरिब परिवारलाई बिमालेख बापतको शुल्कमा आधा छुट दिने योजना पनि अघि सारेको छ । एक घर एक धारा अभियान माछापुच्छ्रे गाउँपालिकाको प्राथमिकतामा परेको छ । ‘यही आर्थिक वर्षभित्र वडा नम्बर १,२,३, ८ र ९ मा एक घर एक धारा पुर्‍याइनेछ’, अध्यक्ष गुरुङले भन्नुभयो ।

अध्यक्ष गुरुङले ३९ करोड ४७ लाख ३३ हजारको बजेट सार्वजनिक गर्नुभएको छ । केन्द्र सरकारले यो गाउँलाई १२ करोड ७१ लाख ७३ हजार ससर्त र १७ करोड ९३ लाख ८० हजार निःसर्त अनुदान उपलब्ध गराउँदैछ । यो गाउँको आन्तरिक आम्दानी ५१ लाख ७० हजार अनुमान गरिएको छ ।

१७ करोड ६ लाख ८६ हजार पाँच सय रुपैयाँ विकासका लागि छुट्याइएको अध्यक्षले सुनाउनुभयो । कुल बजेटमा विकासका लागि छट्याइएको रकम ४३ दशमवल २७ प्रतिशत हो । त्यसमध्ये पूर्वाधार विकासमा ११ करोड ५८ लाख ५५ हजार, सामाजिक विकासमा दुई करोड ३५ लाख ३० हजार, आर्थिक विकासमा ५८ लाख, वातावरण विकासमा ७६ लाख ७८ हजार पाँच सय रुपैयाँ विनियोजन भएको छ ।

गाउँपालिकाको दीगो विकासका लागि गुरुयोजना तयार गर्ने पनि अध्यक्ष गुरुङले सुनाउनुभयो । कृषिलाई व्यवसायीकरण गर्ने पनि गाउँपालिकाको योजना छ । तरकारी खेती, फलफूल उत्पादक किसानलाई प्रोत्साहन गर्न बजारीकरणमा सघाउने कार्यक्रम राखिएको छ ।


Facebook Comment


No ads found for this position