चितवनको पर्यटन व्यवसाय धराशायी

अनिल ढकाल

भरतपुर : पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध बनेपछि चितवनको पर्यटन व्यवसाय धराशायी भएको छ । राजधानीबाट चितवन आउने प्रमुख मार्ग नै पहिरोका कारण निरन्तर अबरुद्ध भएपछि पर्यटक ह्वात्तै घटेको व्यवसायी बताउँछन् । पहिरोले जोखिम बढ्नुका साथै घन्टौंसम्म जाममा बस्नुपर्ने भएपछि चितवनमा पर्यटक आगमन घटेको छ ।

भूकम्प, भारतीय नाकाबन्दी र मधेस आन्दोलनले सुस्ताएको पर्यटन विस्तारै उकासिन थालेको थियो । सुस्ताएको पर्यटन तंग्रिन नपाउँदै पर्यटक आउने मुख्य मार्ग अबरुद्ध भएपछि यहाँको पर्यटन व्यवसाय पुनः धराशायी हुन लागेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

नारायणगढ-मुग्लिन सडक अनिश्चित बनेपछि पर्यटन व्यवसायी वैकल्पिक मार्गको खोजिमा लागेका छन् । चितवनमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न जान्छन् । चितवन जाने स्वदेशी र विदेशी पर्यटकको प्रमुख मार्ग नै यही हो । जहाजबाट चितवन घुम्न जाने पर्यटक धेरै कम हुने गर्छन् । जहाजमा पनि सहजै टिकट पाउन कठिन छ । संघको हालै मकवानपुरको दामनमा बसेको बैठकले वैकल्पिक बाटोका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

व्यवसायीले नारायणघाट-मुग्लिनको विकल्पका रूपमा नौविसे-हैटौंडा सडकलाई जोड दिने भएका छन् । संघले नौविसे-हेटौंडा सडकखण्डको निरीक्षण गरेको थियो । कुलेखानी -हेटौंडाको सडक मर्मत गरे चितनवन आवातजावत गर्न केही सहज व्यवसायीले बताएका छन् । यस्तै, अलपत्र अवस्थामा रहेको भण्डारा-मलेखु सडकलाई विकल्पका रूपमा अघि सारिएको छ । मलेखुसम्म बाटो खुलिसकेको भए पनि स्तरोन्नति गरिएको छैन । संघले बाटो सुधार गर्न ध्यानाकर्षण गराउने भएको छ ।

‘भूकम्पपछि विस्तारै उकासिन लागेको सडक अवरुद्ध भइदिँदा सुस्ताउँदै गएको छ’, अध्यक्ष घिमिरेले भन्नुभयो, ‘सडककै कारण पर्यटन नखस्कियोस् भन्ने हो ।’ आर्थिक वर्ष २०७३/७४ मा एक लाख ३९ हजार एक सय २५ पर्यटकले चितवन निकुञ्ज घुमेका छन् । तीमध्य विदेशी पर्यटक ८७ हजार एक सय ९० थिए । सार्क राष्ट्रका १५ हजार आठ सय ७९ जना थिए । ३६ हजार ५६ स्वदेशी पर्यटकले चितवन निकुञ्ज घुमे । अघिल्लो वर्षको तुलनामा बढी भए पनि सन्तोषजनक नभएको व्यवसायीको भनाइ छ ।

पहिरोले जोखिम बढ्नुका साथै घन्टौंसम्म जाममा बस्नुपर्ने भएपछि चितवनमा पर्यटक आगमन घटेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या एक लाख ७८ हजार दुई सय ५७ पुगेको थियो । तर, २०७२ वैशाखमा गएको भूकम्प, लगत्तैको भारतीय नाकाबन्दी र इन्धन संकटले चितवनको पर्यटन नराम्ररी खस्किएको थियो । त्यसपछि चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या ८७ हजार तीन सय ९१ मा खुम्चिएको थियो ।

‘सिजन नभए पनि यो बेलामा आउने पर्यटकले हाम्रो भार थेग्थ्यो’, संघका सचिव दामोदर रेग्मीले भन्नुभयो, ‘पर्यटन नै धराशायी बनेको कारणप्रति सबैको बेवास्ता छ ।’ सडकको दुरावस्थाकै कारण पर्यटकले चितवनको बुकिङ धमाधम रद्द गरिरहेका छन् । वैकल्पिक मार्ग नहुँदा चितवन आउने पर्यटक अन्यत्रै घुम्न जान थालेका छन् ।

‘वैकल्पिक बाटो साँघुरो भएकाले स्तरोन्नति गरेमात्र साना गाडी ल्याउन सकिन्छ’, संघका द्धितीय उपाध्यक्ष भेषराज दुवाडीले भन्नुभयो, ‘हामीलाई जति घाटा भएको छ, त्योभन्दा बढी राष्ट्रलाई भएको छ ।’ नारायणघाट- मुग्लिन सडक समयमै बन्नेमा व्यवसायीले आशंका व्यक्त गर्दै विकल्पको खोजिका लागि लबिङ सुरु गरेका छन् ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position