जथाभावी पदयात्रा अनुमति दिनाले पर्यटक बेपत्ता हुने क्रम बढ्दो

छेटु शेर्पा  काठमाडौं : लाङटाङ क्षेत्रको पदयात्रा अनुमति लिएर हिँडेका ताइवानी नागरिक २१ वर्षीय लाइङ सिङ युन र १९ वर्षीया लिउ चेन चुन ०७३ फागुन २० देखि बेपत्ता भए । परिवारको लामो खोजी प्रयासपछि ५५ औं दिनमा धादिङको जंगलमा एकजना जीवितै र अर्का मृत भेटिए ।लाङटाङ क्षेत्रकै पदयात्रामा हिँडेका डेनमार्कका नागरिक २६ वर्षीय मार्टिन अडसेन ओभरगार्ड ०७३ फागुन २३ गतेदेखि बेपत्ता भए । उनी अझै बेपत्ता छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गोम्पाबाट बेपत्ता भएका उनको खोजीका लागि परिवारले २५ हजार सात सय डलर सहयोग संकलन गरिरहेको छ ।

यी बेपत्ता पर्यटक उदाहरण हुन् । कमजोर नीतिले पर्यटकलाई खुकुलो हुँदा बेपत्ता हुने क्रम बढ्दो छ । प्रहरीको तथ्यांकअनुसार ०६९/७० मा आठ, ०७०/७१ मा १२, ०७१/७२ मा १२, ०७२/७३ मा १४ र ०७३/७४ मा १६ जना पर्यटक बेपत्ता भएका छन् । पाँच वर्षको अन्तरमा ६२ जना विदेशी पर्यटक बेपत्ता भएको प्रहरीको तथ्यांक छ ।यता, ०७१/७२ मा एक सय ६२, ०७२/७३ मा १३ जना र ०७३/७४ मा ३२ जना गरी तीन वर्षमा दुई सय सात जना विदेशीको मृत्यु भएको छ । जसमा एक सय ४० जना पुरुष छन् भने ६७ जना महिला छन् ।

जथाभावी पदयात्रा अनुमति दिने र एकद्वार पद्धतिबाट विदेशी पर्यटकलाई पदयात्रा र हिमाल आरोहणका लागि अनुमति नदिँदा पर्यटक बेपत्ता र मृत्यु हुने गरेको हो । नेपाल पर्यटन बोर्ड र टानले पदयात्राको तथा पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले हिमाल आरोहण अनुमति दिने गरेका छन् । विदेशी पर्यटकले भौगोलिक अवस्थाको जानकारी र गाइडविनै नक्साकै भरमा पदयात्रा गर्दा बेपत्ता र मृत्यु हुने गरेको पर्यटन व्यवसायीको भनाइ छ ।

टिम्स कार्डमा उल्लेख गरिएको बाटो प्रयोग नगरी अन्यत्रै हिँड्दा धेरै पर्यटक बेपत्ता हुने गरेका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका महासचिव कर्ण लामाले पदयात्री पर्यटकले कामदार लिएर नजानु मुख्य समस्या भएको बताए । सरकारलाई पर्यटकको सुरक्षाका लागि नीति बनाउन माग गरे पनि सुनुवाइ नगरेको लामाको आरोप छ । पर्यटक बेपत्ता र मृत्यु भएको खबरले विश्वमा नकारात्मक सन्देश फैलिएकाले पर्यटन क्षेत्र नै धरापमा पर्नसक्ने लामाको भनाइ छ । पर्यटन व्यवसायी टीकाराम गुरुङले पछिल्लो समय नेपाल आउने पर्यटक बढेसँगै व्यवस्थापन पक्ष कमजोर भएकाले बेपत्ता हुने क्रम पनि बढेको बताए ।

पदयात्री पर्यटकको व्यवस्थापन गर्न अन्नपूर्ण क्षेत्रमा एक्याप, कञ्चजंघा क्षेत्रमा केक्यापलाई जिम्मा दिइएको छ । विदेशी पदयात्रीले खर्च बचाउन साथमा गाइड नलाने, सस्तो खोज्दै विनाअनुभवका गाइड प्रयोग गर्ने कारणले बेपत्ता हुने गरेको पर्यटक प्रहरी इकाइ प्रमुख तुलसा खतिवडाले बताइन् । पर्यटककै कमजोरीले गर्दा गाइडलाई समाउन नसकिने र बेपत्ताको खोजी गर्न समस्या भएको उनको भनाइ छ । भौगोलिक विकटताले सही सूचना प्राप्त नगर्ने र मौसमकै कारण बाटो बिर्सिएर धेरै पर्यटक बेपत्ता हुने गरेको उनले जानकारी दिइन् ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी शरद प्रधान हिमाली क्षेत्रमा जाने कतिपय पर्यटकको मृत्यु हुने गरेको र विनागाइड पदयात्रामा जाने पर्यटक हराउने गरेको बताए । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्डमा उल्लेख गरेको बाटो प्रयोग नगरी अन्यत्रै हिँड्दा पर्यटक बेपत्ता हुने गरेको प्रधानले बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटक सुरक्षा नीति नै ल्याएर गर्ने तयारीमा रहेको बताए ।


Facebook Comment


No ads found for this position