होटेल तथा रेस्टुराँले गुणस्तरीय खाद्य स्वच्छताका आधारमा स्टार (तारा) रेटिङ स्टिकर पाउने

काठमाडौं : नेपालका होटेल तथा रेस्टुराँले गुणस्तरीय खाद्य स्वच्छताका आधारमा स्टार (तारा) रेटिङ स्टिकर पाउने भएका छन् । नेपाली र अंग्रेजी दुवै भाषामा प्रदान गरिने यस्तो स्टिकरबाट उपभोक्ताले होटेल र खानाको अवस्थाबारे जानकारी लिन सक्नेछन् ।

गुणस्तरीय खाद्य स्वच्छताका विषयमा नियमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही साउनको अन्तिम सातादेखि नेपालभरका होटेल तथा रेस्टुराँलाई स्टार अंकित रेटिङ स्टिकर प्रदान गर्न लागेको छ ।

गुणस्तरीय र स्वस्थ्यकर खाद्य पदार्थ, होटल तथा रेस्टुराँको वातावरण, सवारीसाधन राख्ने पार्किङ, शौचालयको अवस्था, खाद्य र पेयपदार्थसम्बन्धी कच्चा पदार्थको गुणस्तर, भान्छाघर, पानीको स्रोत, सेवा सुविधा, होटेल भान्छा र वेटरको व्यक्तिगत सरसफाइलगायत सूचकांकका आधारमा खाद्य विभागले तीन तारादेखि शून्य तारासम्मको रेटिङ स्टिकर प्रदान गर्न लागेको हो ।

‘होटल व्यवसाय निर्देशिका परिमार्जन गरी स्वीकृतका लागि कृषि विकास मन्त्रालयमा प्रस्ताव गरिसकेका छौं,’ विभागका महानिर्देशक संजीवकुमार कर्णले भने, ‘यसै सातामा स्वीकृत भएर आउने आश्वासन पाएका छौं । साउनको अन्तिम सातादेखि देशभरका होटेल तथा रेस्टुराँको स्तरीकरण गर्ने काम सुरु गर्दैछौं ।’ विभागले होटेल तथा रेस्टुराँ स्तरीकरण कार्यक्रम २०६६ सालदेखि कार्यान्वयनमा ल्याएको थियो । यो कार्यक्रमअन्तरगत प्रदान गरिएको विभिन्न प्रकारको रंगचंगी स्टिकरले आम उपभोक्तालाई सचेत गराउन नसकेको ठहर गर्दै विभागले अहिले निर्देशिका परिमार्जन गरेको छ ।

‘अब प्रदान गरिने स्टिकरमा स्वदेशी र विदेशी पर्यटकले सजिलै बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा सन्देश सामग्री समावेश गरिएका छन्’, महानिर्देशक कर्णले भने, ‘अहिलेको स्टिकरमा होटेलको अवस्था र स्तरअनुसार शून्यदेखि तीन तारा, एदेखि डी ग्रेड र हरियो तथा पहेंलो रंग प्रयोग गरिएको छ । पहिलेको स्टिकरमा रंग, वृत र धर्कोमात्रै अंकित गरिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही साउनको अन्तिम सातादेखि नेपालभरका होटेल तथा रेस्टुराँलाई स्टार अंकित रेटिङ स्टिकर प्रदान गर्न लागेको छ ।

यसका कारण स्वदेशी तथा विदेशी पाहुनालाई होटेल छनोट गर्न समस्या हुँदैआएको थियो ।’ विभागले साउनदेखि होटेलको स्तरीकरणको आधारमा उपलब्ध गराउन लागेको स्टिकर चार प्रकारको छ । यसअघि विभागले होटेल तथा रेस्टुरेन्टलाई खानाको गुणस्तरका आधारमा चार वर्गमा विभाजित गरी रंगीचंगी स्टिकर प्रदान गरिएको थियो । यसअघि उत्तम होटललाई ‘क’ वर्गमा राखेर हरियो वृत्तको स्टिकर प्रदान गरिएको थियो । मध्यमलाई ‘ख’ वर्गमा राखेर पहेंलो वृतमा एउटा रातो धर्का भएको स्टिकर, न्यून स्तरका होटललाई ‘ग’ वर्गमा राखेर पहेंलो वृत्तमा दुईवटा रातो धर्का भएको स्टिकर प्रदान गरिएको थियो ।

यस्तै रातो वृतको स्टिकरमा ‘घ’ वर्गको स्टिकर उपलब्ध गराइएको थियो । घ वर्गको स्टिकर पाउने होटल तथा रेस्टुराँले व्यवसाय नै बन्द गर्नुपर्ने व्यवस्था गरिएको थियो । पहिले दिइएको स्टिकरमा होटलको अवस्थाका बारेमा पटकपटक अनुगमन गरी स्तरीकरणका आधारमा नवीकरण गर्ने व्यवस्था थिएन् । एकपटक दिइएको उक्त स्टिकर ६ महिनाका लागि मात्रै मान्य थियो ।

विभागका वरिष्ठ खाद्य अधिकृत भीम पुलामीका अनुसार अब प्रदान गरिने स्टिकर प्राप्तकर्ता होटल तथा रेस्टुराँको पटकपटक अनुगमन गरी हरेक आर्थिक वर्षमा नवीकरण गर्ने नीतिगत व्यवस्था गरिएको छ । यसका साथै स्टिकरका आधारमा होटेल व्यवसायीलाई प्रमाणपत्र दिइने व्यवस्था गरिएको छ । पुलामीले भने, ‘दायरा फराकिलो पार्दै व्यवसायीले स्तरीकरणको माग आफैंले गरेको अवस्थामा विभागको टोली त्यस्ता होटल तथा रेस्टुराँको परीक्षण गरी यस्तो स्टिकर प्रदान गर्ने व्यवस्थासमेत गरेका छौं ।’

यसरी हुनेछ स्टिकर वितरण

यो व्यवस्थाअनुसार हरियो रंगमा अति उत्तम (ए ग्रेड) भएको स्टिकरमा तीनवटा तारा अंकित गरिएको हुन्छ । खानाको स्वच्छता र गुणस्तर हेरेर होटल तथा रेस्टुराँलाई तीन तारा भएको स्टिकर प्रदान गरिनेछ । हरियो रंगमै उत्तम (बी ग्रेड) भएको स्टिकरमा दुईवटा तारा, मध्यम (सी ग्रेड) भएको स्टिकरमा एक तारा र पहेंलो रंगमा सन्तोषजनक (डी ग्रेड) भएको स्टिकरमा तारा अंकित नभएको स्टिकरको व्यवस्था गरिएको छ । न्यूनतम मापदण्ड पूरा नगर्ने होटल तथा रेस्टुराँलाई यस्तो तारे रेटिङ भएको स्टिकर उपलब्ध नगराइने व्यवस्था गरिएको छ ।


Facebook Comment


No ads found for this position