राप्रपा फुट्यो, पशुपति शम्शेरले खोले नयाँ दल

साउन, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् ।

राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ ।

नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

यसो भएमा कमल थापा नेतृत्वको राप्रपासँग १५ संसद मात्र हुनेछन् ।

२४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो ।

तर, देउवा सरकारमा जाने कि नजाने भन्ने विवाद पछिल्लो समय सुरु भएको थियो । सरकारमा नजाने निर्णय भएसँगै राणा समूहले नयाँ दल गठन गरेको हो ।

सत्ताका लागि बारम्बार बिभाजन

६-९ फागुन ०७३ मा सम्पन्न एकता महाधिवेशनले राजासहितको प्रजातन्त्रको लाइन पारित गरेको थियो । फुटको विजारोपण पनि त्यही विन्दुमा भइसकेको थियो । त्यसलगत्तै डा. प्रकाशचन्द्र लोहनी नेतृत्वमा एक समूह चोइटियो र राप्रपा राष्ट्रवादी खडा गर्‍यो ।

महाधिवेशनमा जितहारको अंकगणित र त्यसपछि पद बाँडफाँटमा देखिएको असन्तुष्टि नै अहिलेको विभाजनको कारक हो । खासगरी, स्थानीय तह निर्वाचनमा पार्टीले लज्जाजनक हार बेहोरेपछि राणा पक्षधर नेताहरूले चुनाव चिह्न छाडेकाले यस्तो परिणाम आएको बताउँदै आएका थिए । कमल थापाले तत्कालीन राप्रपा नेपालको चुनाव चिह्न गाईलाई नै राप्रपाको पनि चुनाव चिह्न बनाउने सफलता पाएका थिए ।

कहिले व्यक्तित्वको टकराव त कहिले राजतन्त्रलाई हेर्ने दृष्टिकोण बाझिँदा राप्रपा विभाजनबाट गुजि्रँदै आएको छ । त्यसमा पनि सत्तामा पुग्ने भर्‍याङ खोज्ने क्रममा पूर्वपञ्चहरूबीच चरम मत विभाजन देखिने गरेको छ ।

टुटफुटको नियती

७ मंसिर ०७३ को एकता घोषणा ११ वर्षपछि पहिलो पटक पूर्वपञ्चहरू एकठाउँमा आएका कारण सम्भव भएको थियो । २६-२७ पुस ०६२ मा कमल थापा नेतृत्वको समूह अलग्गिएको थियो र राप्रपा नेपाल स्थापना भएको थियो । त्यतिबेलाको विवाद थियो, १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरो ध । राणा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले शाही कदमको विरोध गरे, कमल थापा पक्षमा उभिए । शाही शासन चलिरहँदा सूर्यबहादुर अलग भए र राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । असार ०७० मा फेरि उनी नेतृत्वको समूह राणा नेतृत्वको राप्रपामा विलय भयो ।

राप्रपा नेपाल पनि एकीकरणमा आएपछि ०५४ सालअघिको अवस्थामा फर्किएका थिए, पूर्वपञ्चहरू । त्यसो त, ०४६ सालको परिवर्तनपछि उनीहरू अलग-अलग दल खडा गरेर बहुदलीय प्रतिस्पर्धामा आएका थिए, जुन पञ्चायतकालीन द्वन्द्वको परिणाम थियो । राप्रपा थापा र राप्रपा चन्द नामका दल ०४९ सालमा जोडिएर राप्रपा बन्यो । त्यसपछि पनि टुटफुटको नियतिबाट अलग रहन सकेन ।

संशयबीच एकता

११-१३ पुस ०७२ मा राप्रपा केन्द्रीय समिति बैठकमा हेमजंग गुरुङ प्रस्तावक र ३६ जना केन्द्रीय सदस्य समर्थक रहेर विचार मिल्ने शक्तिहरूसँग एकीकरणमा जानुपर्ने प्रस्ताव अगाडि सारिएको थियो । त्यसपछि राप्रपा र राप्रपा नेपालले वार्ता टोलीहरू बनाए । दुवै पक्षको कसरतपछि एकताको तयारी पनि शुरु भयो । २५ साउन ०७३ मा एकता सभा गर्ने तय भयो ।

त्यसको तीन दिनअघि एकाएक राप्रपा अध्यक्ष राणाले विज्ञप्ति निकालेर एकता प्रक्रिया स्थगित भएको घोषणा गरे । राप्रपा नेपालका अध्यक्ष थापाले त त्यस्तै विज्ञप्तिमार्फत् एकताको सम्भावना नै अन्त्य भएको बताए । त्यसको मूल कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री बन्ने आकांक्षीहरूको दबाव । उक्त सरकारमा दिपक बोहरा र विक्रम पाण्डे सहभागी भए । त्यसपछि दुवै दलका नेता आरोप/प्रत्यारोपमै उत्रिए ।

एकता प्रक्रिया एकाएक भाँडिएपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा अलग्गै पार्टी गठनको प्रयत्न शुरु भयो । त्यसमा राप्रपाका ४६ जना केन्द्रीय सदस्य र ४४ जिल्ला सभापतिहरूले साथ दिए । राप्रपा नेपालका केही सांसदले समेत नयाँ दलमा सामेल हुने प्रस्ताव ल्याएपछि कात्तिक ०७३ मा त्यस प्रयासले अझ उचाइ पायो । शुरुमा अलग-अलग दल खडा गर्ने र त्यसपछि एकता गर्ने सहमति जुट्यो । चन्द नेतृत्वमा भित्रभित्रै चलिरहेको यस प्रयासले राणा र थापा दुवैलाई झस्कायो । र, दुवै नेता एकीकरण प्रक्रिया पुनः थाल्न बलियो दबाबमा परे । खासमा, चन्दको संयोजकत्वमा नयाँ दल निर्माण गर्ने प्रयास पार्टी एकीकरणका लागि दबाव दिने उद्देश्यले भएको थियो । र, कात्तिक ०७३ देखि नै एकीकरण प्रक्रिया पुनः आरम्भ भयो ।

एकता महाधिवेशनमा राणा समूहको तयारी फितलो देखिन्थ्यो भने थापा समूह व्यवस्थित र छरितो । थापाको छरितोपनबाट माथिदेखि तल्लो तहसम्मका कार्यकर्तामा उत्साह पनि नदेखिएको होइन । तर, त्यस्तो उत्साह धेरै दिन टिकेन । जब केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने भयो, उक्त उत्साह एकाएक निरासामा परिणत भयो । राणा समूहले थापामाथि पार्टीमा हैकमवाद चलाएको आरोप नै लगायो ।

त्यसो त, राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकीकरण हुनै तीन वर्ष लागेको थियो । त्यसको भित्री कारण थियो, सूर्यबहादुर थापाले छोरा सुनिलले संयुक्त राष्ट्रसंघको जागिरबाट अवकाश पाउने समय पर्खिनु । उनी छोरालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएर मात्र देहत्याग गर्न चाहन्थे । भयो पनि त्यस्तै । ०६७ मा शुरु भएको राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता प्रक्रिया ०७० मा मात्र पूरा भयो ।

थापा राप्रपामा स्थापित भएपछि पार्टी एकता र फुटमा पनि निर्णायक जस्तै देखिएका छन् । राप्रपा र राप्रपा नेपालसँग भाँडिएको पार्टी एकताका लागि लोकेन्द्रबहादु चन्द पक्षले वातावरण बनाएका थिए । तर, थापा नेतृत्वमा गोलबन्द भएका तत्कालीन राष्ट्रिय जनशक्तिको समूह नै निर्णायक बन्यो । पार्टी एकतापछि कमल थापालाई अध्यक्ष बनाउने लाइन लिए र आफू पनि महामन्त्री बने ।

तर, पार्टी एकता भएको एक वर्ष नपुग्दै कमल थापा छाडेर राणातिर लागेका छन् र आइतबार राणा नेतृत्वको नयाँ पार्टी गठनमा पनि उनी सहभागी भएका छन् ।


Facebook Comment


No ads found for this position