बेनी भ्रमण वर्ष २०७५ मनाइने

साउन, काठमाडौं । समग्र म्याग्दी जिल्लाको पर्यटकीय संभावना उजागर गर्ने उद्धेश्यले बेनी भ्रमण वर्ष मनाईने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यको अगुवाईमा विसं २०७५ साललाई बेनी भ्रमण वर्षका रुपमा मनाउन लागिएको हो ।

म्याग्दीले हालसम्म मुस्ताङको प्रबेशद्घारका रुपमा मात्र चिनारी बनाएको छ । ‘जबकि बेनी नगरपालिका क्षेत्रमा मात्रै सजिलै दुई तीन दिन घुम्न सकिने सम्पदा छन्’ भ्रमण वर्षका अभियन्ता शाक्य भन्छन्, ‘गाउँ गाउँ डुल्ने हो भने त म्याग्दीमै महिनौ डुल्न सकिन्छ ।’

शाक्यकै परिकल्पना एवं अगुवाईमा भ्रमण वर्ष मनाउन युवाहरु जागरुक बनेका छन् । सबै सरोकारवाला संघ संस्थासँग सहकार्य गरेर भ्रमण वर्ष मनाइने उनले जानकारी दिएका छन् । महिना दिनभित्र भ्रमण वर्ष आयोजक समिति बनाएर काम अघि बढाइने तयारी भैरहेको छ ।

स्वदेश तथा विदेशमा बस्ने म्याग्देली, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोग बटुलेर भ्रमण वर्षका कार्यक्रम अघि बढाइने छ । भ्रमण वर्ष सुरु हुनु पहिल्यै पर्यटकीय गन्तव्यहरुको यु ट्युव भिडियो, ब्रोसर, वेवसाइट, होर्डिङ बोर्ड, पुस्तक आदि बनाएर आक्रामक प्रचार गरिने छ ।

भ्रमण वर्षभरि उत्कृष्ट समाचार लेख्ने पत्रिका, टिभी, अनलाईन र एफएमका केही पत्रकारलाई आकर्षक नगद पुरस्कारसहित भ्रमण वर्षको समापनमा सम्मान गरिने योजना छ । सँगै विसं २०७५ को सुरुमै भ्रमण वर्षको उद्घाटन, साँस्कृतिक कार्यक्रमका प्रतियोगिता, अन्तरक्रिया र समापन लगायतका गतिविधि गरिनेछ ।

म्याग्दीमा घुम्न लायक ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका धेरै सम्पदा छन् । तिनको मार्केटिङ गरि स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउन भ्रमण बर्ष मनाउन लागिएको हो । अन्नपूर्ण सर्किट, लो–मन्थाङ, गुरिल्ला ट्रेक, मुक्तिनाथ लगायत गन्तव्य घुम्नेहरुका साथै अरु पर्यटकलाई समेत म्याग्दीका गन्तव्यहरुसंग परिचित गराउने भ्रमण वर्षको उद्धेश्य हो । भ्रमण वर्षमा आन्तरिक पर्यटक बढाउने योजना छ।

हिन्दुहरुले खलपात्रका रुपमा चित्रण गर्दै आएका रावणको जन्मथलो पनि हो बेनी । म्याग्देलीहरु उनको जन्मथलोमा रामायण पार्क बनाउने मिशनमा छन् । त्यसका लागि नगरपालिकाले पनि बजेट छुट्याईसकेको छ । पार्कमा राम, सीता, लक्ष्मण, हनुमान सहित रावणको मूर्ति राखिनेछ ।

बेनी नगरपालिकामा पश्चिमका पशुपतिनाथ मानिने गलेश्वरधाम, बेनी शिवालय, जगन्नाथ मन्दिर, कुरिलामाई महारानीथान, बेनी स्तुप, नवदूर्गा मन्दिर, पुलत्स्य पुलाश्रम र बलमुक्तेश्वर महादेव लगायत धार्मिक सम्पदा छन् ।

त्यस्तै प्राकृतिक रुपले सुन्दर लभ्ली हिल, ज्यामरुककोट, केभहिल, तातोपानी कुण्ड, कालीगण्डकी, म्याग्दी खोला लगायत सम्पदाका साथै मगर, क्षेत्री, छन्त्याल, नेवार, गुरुङ, बाहुन आदिको साँस्कृतिक विविधता छ ।

ऐतिहासिक महत्वका पर्वत राज्यको राजधानी ढोलथान, कोट भण्डार लगायत सम्पदा बेनी क्षेत्रमै छन् । म्याग्दी खोला र काली गण्डकी किनारमा लमतन्न फैलेको बेनी बजार सुन्दर गन्तव्य बन्न सक्छ । त्यहाँ पर्यटकीय सुविधाका एक दर्जन होटल छन् । अरु स–साना ५ दर्जन हाराहारीमा होटल छन् ।

नेपाल सरकारले साबिकका अर्थुङगे, सिँगा, घतान, रत्नेचौर, पात्लेखेत, ज्यामरुककोट, भकिम्ली र पुलाचौर ८ गाविस जोडेर बेनी नगरपालिका बनाएको हो ।

ठूलठूला ऋषिहरु पुलत्स्य, पुला र जडभरत, गलेश्वरबाबा लगायतको तपोभूमी बेनीलाई भ्रमण वर्षमै आध्यात्मिक नगरीका रुपमा ब्राण्डिङ गरेर पर्यटन विकास अघि बढाइने शाक्यले बताए ।

बेनी बजार काठमाडौंबाट २८२ किलोमिटर दुरीमा छ । काठमाडौंबाट पोखरा हुँदै बसमा बेनी पुग्न करिब १० घन्टा लाग्छ ।


Facebook Comment


No ads found for this position