धरापजस्ता सडक

साउन, काठमाडौं ।  जताततै खाल्डा अनि तिनमा टनाटन पानी। सडक हो कि तलाउ, छुट्याउन मुस्किल छ। कालोपत्रे उप्किएर बगरझैं देखिन्छ। गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ। दुर्घटना जोखिम उत्तिकै छ। यो कुनै ग्रामीण सडकको वर्णन होइन, राजमार्गकै यस्तो हालत छ। पूर्वपश्चिम राजमार्ग र सहायक मार्ग कुनै ‘धराप’ भन्दा कम लाग्दैनन्। यो खबर कान्तिपुरबाट लिएका हौ।

नवलपरासीस्थित मुख्य राजमार्ग र भित्री सडक हिलाम्मे छन्। व्यवस्थित ढल निकास नभएकाले वर्षामा सडक भत्किने गरेको छ। हिलोले यातायात अवरुद्ध भइरहन्छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा ठूल्ठूला खाल्डा छन्। पछिल्लो समय खाल्डाकै कारण दुर्घटना बढेको छ। यहाँ सामान्य वर्षामै दर्जनौं ठाउँमा पहिरो खस्छ।

गैंडाकोट–रामपुर, भेडाबारी–बसेनी, दलदले–कोटथर, केउरेनी–बन्दीपुर, रजहर–बाहकोल, कावासोती–अर्खला हुँदै पाल्पा रामपुर, कावासोती–रकुवा, डण्डाख्पनौती, चोरमारा–रुचाङ, अरूणखोला–राँकाचुलीलगायत दुम्कीबास, बर्दघाट, सुनवलबाट उत्तरी पहाडी भेगका भित्री सडकमा आहाल जमेको छ। त्यसमाथि पहिरोको अवरोध उत्तिकै छ। बर्दघाट–त्रिवेणी, परासी–महेशपुर खण्डमा खाल्डाखुल्डीले पैदलयात्री र यातायात व्यवसायी मर्कामा छन्। सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अमित बर्मा सामान्य वर्षामा समेत पटकपटक पहिरो झर्ने भएकाले सडक बिग्रँदै गएको बताउँछन्।

पोखरी जत्रा खाडल

सोमबार मध्याह्न वीरगन्जको बिर्ताबाट यात्रु बोकेर बाइपास सडक सिमरा विमानस्थल गइरहेका भ्यान चालक जगदीश साह संकटमा परे। मुख्य सडकमै ठूल्ठूला पोखरी थिए। ठूला गाडीलाई नै खाल्डा पार गर्न सकस देखिन्थ्यो। ‘बडेमानका पोखरी कसरी तर्ने होला ?’ साह चिन्ता गर्न थाले, ‘उता जहाज उड्ने बेला हुन लागिसक्यो, हामी वीरगन्जमै छौं।’ बाइपास हुँदै गुड्ने सवारीका हरेक चालकले अहिले यस्तै पीडा भोगिरहेका छन्। वीरगन्ज महानगरमा सवारी चाप घटाउन बनाइएको हो, बाइपास। तर, २ वर्षयता जीर्ण छ। नियमित मर्मत सम्भार छैन। नगवा चोकबाट बसपार्क नआउँदै, बसपार्क चोकको उत्तर र दक्षिण, भिस्वा होटल चोक र शुभलाभ पम्प गरी ५ ठाउँमा असाध्यै बिग्रिएको छ। साना–ठूला सबैजसो गाडी खाल्डोमा भासिने, बिग्रने गरेका छन्। त्रिभुवन राजपथको गण्डक चोकबाट सुरु भएर रजतजयन्ती चोकमा टुंगिने साढे ७ किमि लामो यो सडक विभागले २०५४ सालमा बनाएको हो। यहाँ दैनिक वीरगन्ज भन्सारबाट छुट्ने हजारभन्दा बढी मालवाहक सवारीसाधन गुड्छन्। ट्राफिक प्रहरीले मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई नगरको मुख्य सडक पस्न नदिने भएकाले चालकहरूलाई बाइपासको विकल्प छैन।

सडकको दुरवस्था

मकवानपुरको हेटौंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ, हेटौंडा–भीमफेदी–कुलेखानी–दक्षिणकाली र फाखेल–फर्पिङ सडकको अवस्था नाजुक छ। सवारीसाधन जोखिम मोलेर आउजाउ गर्छन्। मुग्लिन–नारायण खण्ड बिग्रिएपछि राजपथमा चाप बढेको छ। यसले गर्दा खाल्डाखुल्टी झन् बढदै छन्। विगतमा दैनिक मुस्किलले एक सयजति गाडी आउजाउ गर्ने यो सडकमा अहिले चौबीसै घण्टा ठूला सवारीसाधन चल्छन्।

त्यस्तै हेटौंडाबाट दक्षिणकाली तथा फाखेल–फर्पिङ हुँदै राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग पनि सहज छैनन्। फर्पिङतर्फको बाटो फराकिलो बनाएर ओटासिल त गरिएको छ तर ठाउँठाउँमा पहिरो खसेको छ। ओटासिल उप्किएर ठूल्ठूला खाल्डा बनेका छन्। कुनै पनि बेला पहिरोले सवारी साधन पुर्ने जोखिम छ। दक्षिणकालीतर्फ विगतदेखि नै स्तरोन्नति र मर्मत चलिरहेको छ, अझै सकिएको छैन। पहिरो झरिरहन्छ। खाल्डाखुल्डी उत्तिकै छन्। गाडीका टायरै पुरिने गरी हिलो जमेको छ। जोखिम मोलेरै दैनिक झन्डै हजारवटा जति हलुका सवारीसाधन गुड्छन्। दोस्रो चरणको ओटासिल र मर्मत गर्न फर्पिङ तर्फको सडकमा मंगलबारदेखि भदौ मसान्तसम्मलाई अवागमन रोकिएको छ। जिल्ला समन्वय समितिबाट सञ्चालित ‘राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण’ अन्तर्गत ओटासिल गरी पहिरो पन्छाएर विभिन्न संरचना बनाउने तयारी छ।


Facebook Comment


No ads found for this position