स्यार्पूतालमा र्याफ्टिङले [फोटोफिचर]

हरि गौतम
स्यार्पूतालमा व्यावसायिक र्याफ्टिङ सुरु गरिएको छ । यसअघि काठका डुंगामा कहिलेकाहीं मात्रै र्याफ्टिङ हुने गरेको स्यार्पूतालमा रबरको बोटमार्फत व्यावसायिक र्याफ्टिङ गर्न सुरु गरिएको छ । बाँफिकोट गाउँपालिका ३ र ५ वडामा रहेको तालमा पहिलोपटक व्यावसायिक रुपमा रबरको बोटमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको हो । पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमको सहजिकरण तथा स्थानीय दरिभान पुरीको लगानीमा बोट सञ्चालन गरिएको हो ।
र्याफ्टिङका लागि आउनेहरुको संख्या बढ्दै गएपछि कम जोखिम हुने तथा एकै पटकमा ८ जनाभन्दा बढीले र्याफ्टिङ गर्न मिल्ने गरी बोट खरिद गरेर ल्याइएको हो । यस अघि तालमा रहेका काठका डुंगामा र्याफ्टिङ गर्दा जोखिम बढी हुने तथा थोरै संख्यामा मात्रै चढ्न मिल्ने हुन्थ्यो । परम्परागत काठको डुंगामा बस्न पनि असजिलो हुने र जोखिम उच्च हुने गरेकामा अव त्यस्तो नहुने पुरीले बताए । उक्त बोटमार्फत र्याफ्टिङ गर्दा ल्याईफ ज्याकेट र हेल्मेटको व्यवस्था छ । १ घण्टा र्याफ्टिङ गरेबापत प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क लिने गरेको सञ्चालक पुरीले बताए ।
५ लाख २० हजारको लगानीमा रबरको बोट र्याफ्टिङ सञ्चालन भएको छ । बोट भारतको गोवाबाट खरिद गरिएको हो । स्यार्पू तालमा रबरको बोट सञ्चालनमा ल्याएपछि बाँफिकोट गाउँपालिकाले डुंगा व्यवसाय दर्ता गर्ने र मासिक शुल्क लिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले २ हजार ५ सय दर्ता शुल्क र महिनाको १ हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको हो । २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पूताल रुकुम जिल्लाकै प्रमुख पर्यटकीय स्थल मानिन्छ ।
सदरमुकाम मुसिकोटबाट गाडीमा ३ घण्टामा उक्त ताल भएको ठाउँमा पुगिन्छ । पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका अध्यक्ष चन्द्रबहादुर केसीले तालमा र्याफ्टिङ सञ्चालन गरिएपछि ताल हेर्न आउनेहरुको संख्यामा वृद्धि हुने आशा व्यक्त गरे । र्याफ्टिङलाई व्यवस्थित गराउन सके र तालको संरक्षणमा ध्यान पुर्याउन सके स्यार्पूताल पर्यटकका लागि राम्रो गन्तव्य हुने उनको भनाइ छ । साभार कान्तिुर