पोखराका १५ वर्षे गुरुङ प्याराग्लाइडिङ पाइलटको एसियन गेम्समा उडान भर्ने लक्ष्य

काठमाडौं । पोखरामा प्याराग्लाइडिङले व्यवसायिक मोड लिँदै गर्दा जन्मिएका युकेश गुरुङ (कोमुलस)लाई सानैदेखि आकाशमा उड्ने रहर थियो । तर, अविभावकले उनलाई क्यानोपी दिएनन् ।

उनले भने, ‘त्यतिबेलै सोचिसकेका थिए कि म एकदिन पाइलट बनेरै छाड्छु ।’ नभन्दै तिनै कोमुलस १५ वर्षको उमेर पार गर्दैगर्दा व्यवसायिक पाइलट बनिसकेका छन् ।

कोमुलसले सानैदेखि प्याराग्लाइडिङमा चाहना राख्नु अस्वभाविक थिएन, किनकी बुबा भूपालसिंह आफैं एक बरिष्ठ पाइलट थिए भने कोमुलसले मामा भनेर बोलाउने बिमल अधिकारी प्रशिक्षक पाइलट थिए ।

‘ग्राउण्ड हृयाण्डेलिङ राम्रो भयो भने छिट्टै पाइलट बन्नसक्छ भन्ने लागेर टेकअफका लागि लैजाने तथा ल्याण्डिङको अवलोकन गराउँदा गराउँदै उसले सिक्ने अवसर पायो’ प्रशिक्षक बिमल अधिकारीले भने ।

ग्राउण्ड हृयाण्डेलिङमा राम्रो गर्दै गएपछि कोमुलसले अनुमतिबिनै प्याराग्लाइडिङ उडाउन थाले । जोखिमपूर्ण रुपमा उडान थाल्दै प्रशिक्षक तथा अभिभावकबाट गाली खाएको कोमुलसले भने, ‘अलिअलि रिक्स नलिए त सिकिँदैन नि ! त्यसमा पनि हेर्दाहेर्दै कन्फिडेन्ट भइसकेको थिएँ ।’

उनी अहिले १५ वर्षका मात्र भए । पोखराको स्कुलमा १० कक्षामा अध्ययनरत छन् । तर, यवसायिक पाइलट बनिसकेका छन् । सिंगलमात्र होइन, उनले टेण्डम (दुई जनालाई राखेर गरिने उडान) फ्लाइट गरिसकेका छन् ।

नेपाली प्याराग्लाइडिङको भविश्यको रुपमा चित्रित गरिएका कोमुलसको आत्मविश्वास सबैभन्दा प्रभावकारी रहेको उनका गुरुहरु बताउँछन् । नेपालका नम्बर १ पाइलट समेत रहेका प्रशिक्षक बिमल अघिकारी भन्छन्, ‘व्यवसायिकता मात्रै भनेर बस्यो भने के हुन्छ थाहा छैन । तर, खेलको रुपमा अघि बढ्यो भने कोमुलसले धेरै सिक्न पनि पाउँछ, गरेर देखाउँछ पनि ।’

नेपाली प्याराग्लाइडिङ व्यवसायिक रुपमा सफल भइसक्यो । अब खेलका रुपमा पनि स्थापित हुने क्रममा छ । तर, कोमोलस भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा छाउन थालिसकेका छन् ।

नेपालमा प्याराग्लाइडिङको क्रेज सुरु भएकै समयमा जन्मिएका कोमुलसका लागि सानैदेखि यसको प्रभाव देखियो । उनी नेपालका यस्ता पाइलट बनेका छन् जसले सानैदेखि प्याराग्लाइडिङको प्रशिक्षण पाउने अवसर पाए । यस्तो अवसर पाउने उनी पहिलो नेपाली पनि हुन् । प्याराग्लाइडिङले चरम व्यवसायिक रुप लिँदै गर्दा उनी पनि उडान भर्न सक्ने भए ।

उनीसँगै नेपालका १२ जना प्याराग्लाइडरहरु प्रि-एसियाडको रुपमा आयोजना गरिएको प्रतियोगिता खेल्न इण्डोनेसिया पुगेका छन् ।

प्याराग्लाइडिङको सबैभन्दा ठूलो प्रतियोगिता विश्व च्याम्पियनसिप खेलिसकेका नेपालका हाइ पफर्मेन्स पाइलट बिमल अधिकारीको नेतृत्व नेपाली टोली सहभागी भएको छ । यस टोलीले अघिल्लो वर्ष इण्डोनेसियामै भएको प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको थियो ।

कोमुसलको अबको लक्ष्य सन् २०१८ मा हुने एसियन गेम्स हो । सन् २०१८ मा इण्डोनेसियाको जाकार्तामा हुने १८औं एसियन गेम्समा प्याराग्लाइडिङ पनि समावेश गरिएको छ ।

प्याराग्लाइडिङ पनि विवादबाट अछुतो रहेन

सन् १९९८ बाट नेपालमा प्यारग्लाइडिङको आधिकारीक खेल तथा प्रतियोगिताहरु सुरु भएको हो । प्याराग्लाइडिङ व्यवसायीहरु मिलेर खोलेको नेपाल एयर स्पोर्टस एशोसियसनले विश्व प्याराग्लाइडिङ फेडेरेसनसँग सम्बन्धन लिएर नेपालमा आधिकारिक प्रतियोगिता सुरु गरेको थियो ।

सन् २००० देखि नै रमाइलोका लागि क्रस कन्ट्री प्रतियोगिता गरिनेमा सन् २०१० देखि व्यवसायिक रुपमा प्रतियोगिताा सुरु भयो ।

‘२०१० पछि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ फेडेरेसनको सहकार्यमा एफपीआइ क्याप टू इभेन्ट एक्सी कम्पिटिसन सुरु गर्‍यौं’ सिनियर खेलाडी अधिकारीले भने, ‘रसियन पाइलट र एयर स्पोर्टस एशोसियसनको सक्रियतामा सुरु भएको त्यो प्रतियोगिता २०१५ सम्म लगातार चल्यो ।’

पोखरामा हरेक वर्ष दुईवटा एक्सी लिग र एउटा नेपाल ओपन च्याम्पियनसिप आयोजना हुन्छ । ‘नेपाल ओपन, व्यवसायिक पाइलटहरुको स्तरबृद्धि र एक्सी लिग, नयाँ पाइलटहरुको हौसलाका लागि हो’ पुराना पाइलट भूपालसिंह गुरुङले भने ।

तर गत वर्षदेखि विवादका कारण प्रतियोगिता स्थगित छ । दशकदेखि प्रतियोगिता गर्दै आएको नेपाल एयरस्पोर्टस एशोसियसन अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था र नेपाल हृयाङग्लाइडिङ तथा प्याराग्लाइडिङ एशोसियसन नेपाल सरकारको मान्यताप्राप्त संस्थाको जुँगाको लडार्इ नेपालका अन्य खेलजस्तै यहाँ पनि देखिएको छ ।

पुरानो संघमा सबै खेलाडीहरु आबद्ध छन्, अन्तर्राष्ट्रिय सहभागिता पनि यसै संघले गरिरहेको छ । तर, राष्ट्रिय खेलकुद परिषदमा ६ वर्षअघि दर्ता भएको अर्को संघका कारण नेपाल ओलम्पिक कमिटीमार्फत हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता असर पर्नसक्ने देखिएको छ ।

उसो त प्याराग्लाइडिङ साइटका रुपमा उत्कृष्टमध्ये एक मानिने पोखरामा सयौं व्यवसायिक पाइलट भएपनि यसलाई खेलको रुपमा अघि बढाउन इच्छुक पाइलटहरुको संख्या २०/२२ मात्र छ ।

‘अन्य खेलको तुलनामा हाम्रो खेलमा छनौट अलि भिन्न हुन्छ, वर्षभरका आधिकारिक प्रतियोगिता खेलेर आएको नम्बरको आधारमा र्‍याङकिङ हुन्छ, यसको व्यवस्था विश्व प्याराग्लाइडिङ फेडेरेसनले गरेको हुन्छ’ अधिकारीले भने, ‘त्यही र्‍याङकिङका आधारमा हामीले अगाडिका प्रतियोगितामा छनौट हुन्छौं ।’

खर्चिलो खेल, जोखिमपूर्ण पेसा

पर्यटकहरुको प्रमुख आकर्षणको रुपमा रहेको साहसिक खेलमध्येको सुन्दर र आकर्षक बिधा प्याराग्लाइडिङ खर्चिलो पनि उत्तिकै छ ।

ग्लाइडर, हियरनेस, रेस्क्यु प्यारासुट, प्रोपर गियर, हेलमेट लगायतका उपकरणहरु महंगा हुन्छन् र यसको खरीददेखि सबै गरेर करीव १० लाख खर्च हुने पाइलटहरु बताउँछन् । पाइलट अधिकारी भन्छन्, ‘क्यानोपीदेखि सबै साधनहरु आफैंले जुटाउनुपर्छ, हरेक पटक टेक अफमा जाँदा यातायात खर्च उत्तिकै छ’ उनी थप्छन्, ‘आफ्नो लेभलअनुसार साधन पनि अपडेट गर्नुपर्‍यो, एउटा क्यानोपी २०० घण्टामात्र चल्छ, त्यसपछि तपाइले नयाँ किन्नैपर्छ । यो महंगो खेल नै हो ।’

  • व्यवसायिक टेण्डम फ्लाइटका क्रममा कोमुलस गुरूङ

पहिले प्याराग्लाइडिङका लागि आवश्यक सबै उपकरण बिदेशबाट मगाउनुपर्थ्यो । नेपाली युवाहरुमा यसको आकर्षण साथै पाइलटहरु बढेसँगै सामान नेपालमै पाइन थालेका छन् ।

बेलाबेलामा हुने गरेको दुर्घटनाका कारण यसलाई खतरनाक खेल मान्नेहरु पनि धेरै छन् । तर, पाइलट अधिकारी त्यसो मान्दैनन् । भन्छन्, ‘मेरो विचारमा एयर स्पोर्टस्मा सबैभन्दा सुरक्षित खेल नै प्याराग्लाइडिङ हो । हामीले आफ्नौ बल र बुद्धि लगाएर उडान भर्नुपर्छ । आफ्नो क्षमता र योग्यताभन्दा माथि उठ्न खोज्दा जो पनि दुर्घटनामा पर्छ, कहिले काँही हुने दुर्घटना त्यसैको उपज हो ।’

पोखराका आकासमा उड्ने अल्ट्रालाईट, गाइरोकप्टर लगायतका मोटरेवल एयरस्पोर्टसका तुलनामा प्याराग्लाइडिङ धेरै सुरक्षित रहेको अर्का पाइलट देशवीर जिम्मीको दाबी छ । उनी भन्छन्, ‘प्याराग्लाइडिङ भनेको फ्री फ्लाइङ हो । यसलाई कसरी सुन्दर बनाउने हाम्रो क्षमता र दक्षतामा भर पर्छ ।’

अनुभवको कमी दुर्घटनाको अर्को कारण हो । बिदेशी अभ्यासमा सामान्यतः ४ वर्षको सिंगल उडान र १२०० घण्टाको उडान अनुभवपछि टेण्डम पाइलट बन्न योग्य मानिन्छ । तर, नेपाल नागरिक उड्डयन प्रधिकरणले यसमा एक वर्ष र २०० घण्टाको उडान अवधि राखेको छ ।

प्राधिकरणको प्याराग्लाइडिङ कार्यबिधिको बोर्डमा रहेर काम गरिसकेका पाइलट अधिकारी भन्छन्, ‘नेपालमा पाइलट बन्न सजिलो छ, तर जोसको भरमा मात्र अर्काको ज्यान जिम्मामा लिइने परिपाटीले दुर्घटनाको खतरा निम्त्याउँछ ।’

उनले थपे, अन्तर्राष्ट्रिय स्तरको कार्यबिधि लागू गर्ने हो भने म ग्यारेन्टी गर्न सक्छु कि दुर्घटना नै हुँदैन ।’

अहिले नेपालमै प्याराग्लाइडिङ पाइलट कोर्स सञ्चालन हुन्छ । पोखराका दुई स्कुलले सरदर २ लाख रुपैयाँ लिएर पाइलट उत्पादन गरिरहेको छ । पाइलटको सामान्य कोर्स गरेर व्यवसायिक पाइलट बन्ने र टेण्डम पाइलट बन्न हतारिने परिपाटी नेपालमा व्याप्त छ ।

  • प्रशिक्षक पाइलट बिमल अधिकारी

प्रशिक्षक पाइलटसमेत रहेका अधिकारी भन्छन्, ‘बिगिनर्स, इन्टरमेडियट, एडभान्स र हाइ पफर्मेन्स गरी चार चरणको पाइलट कोर्स हुन्छ । हाम्रोमा इन्टरमेडियट गरेपछि टण्डम पाइलट बन्न हतारो देखिन्छ, यसले खतरा त बढाएकै छ नै। पाइलटहरु आफ्नो क्षमता बढाउन अग्रसर पनि देखिँदैनन् ।’

कोमुलसजस्ता युवाले पोखराको प्रतिनिधित्व गर्दै प्यारग्लाइडिङको भविश्य देखाइरहँदा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण यसको भविश्य संकटमा पर्नसक्ने हो कि भन्ने डर व्यवसायीहरुमा धेरै देखिन्छ ।

वरिष्ठ पाइलट बिमलले भने, ‘हामीले दिनको ३/४ घण्टाको समय पायौं भने पोखराको पर्यटन र प्याराग्लाइडिङलाई असर पर्न दिने छैनौं ।’

‘यसैपनि पाोखराको एयरपोर्ट धेरै बिजी हुन्न भन्ने सुनेको छु, ठूला बोइङहरु यहाँ आउँदैनन्, कनेक्सन फ्लाइटका रुपमा आउने हो’ उनले हास्दै भने, ‘अहिले के चिन्ता गर्नु !, शिलान्यास भएको १ वर्षपछि बल्ल काम सुरु हुँदैछ, अब सम्पन्न भएपछि आधिकारिक निकायमा कुरा गरौंला, त्यतिबेला सम्म दुई संघको विवाद पनि साम्य होला !’


Facebook Comment


No ads found for this position