अविरल वर्षाका कारण जताततै सडक अवरुद्ध

साउन, काठमाडौं । । तीन दिनदेखि परेको अविरल वर्षाका कारण रौतहट जलमग्न भएको छ । झाँझ, बागमती र लाल बकैया नदीमा आएको बाढीले रौतहटका सबै गाँउपालिका र गौर, गरुडा र चन्द्रपुर नगरपालिका केही भूभाग डुबानमा परेका छन् ।

जिल्लामा बिहीबारदेखि अबिरल बर्षा भइरहेको छ । वर्षा कारण आएको बाढीबाट गौर नगरपालिकाको बजार क्षेत्र बाहेक जिल्लाको अन्य सडक सम्पर्क विच्छेद भएको छ ।

पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरिरहेको छ ।  पानीले बेलबिछवा वडा नं. ४ मा रहेको तट्बन्ध ठाँउठाँउमा भत्किएकाले तटबन्ध नै भत्काउने खतरा बढेको छ ।

यस्तै लालबकैया नदीमा पानीको बहाव बढेका कारण बन्जरहा, इनर्वा, लक्ष्मीनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडका स्थानीयबासीमा त्राश बढेको छ । बाढीको पानीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ ।

यसैगरी फतुवामहेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीमा डुबानमा पारेको छ । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीमा पनि बाढी पसेको छ ।

सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीमा लगातार पानीको बहाव बढेको छ ।

करुनिया र देवाहीमा तटबन्ध भत्कियो

लालबकैया नदीको बहाव उच्च भएपछि करुनिया र देवाहीमा लाल बकैयाको बाँध भत्काएको छ ।

बाँध भत्किएपछि देवाही- को एक घरमा २०० जना भन्दा बढी स्थानीयबासी फसेका छन् । तटबन्ध भत्काएर आएको बाढीबाट बच्न उनीहरु तीन तल्ले घरमा परेका छन् ।

तर, उनीहरुलाई सुरक्षित स्थानमा लैजान निकै अप्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिए । उनका अनुसार उद्दारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरिए पनि प्रतिकुल मौसमका कारण उडान भर्ने अवस्थामा छैन ।

यस्तै परोहा गाउँपालिकास्थित करुनिया गाउँ नजिक लाल बकैया नदीको पूर्वी बाँध भत्किएको छ । इनर्वा गाउँका बासिन्दालाई अन्यत्र सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तर, बाँध मर्मत र स्थानीयबासीलाई अन्यत्र सुरक्षित स्थानमा सार्न गएको प्रहरी टोली समेत बाढीमा फसेको छ ।

देवाही ९ मा स्थानीयलाई उद्धार गर्न गएका ११ जनाको प्रहरी टोली आफैँ बाढीमा फसेको छ भने प्रेमपुर गोनही ८ मा पनि प्रहरी हवल्दार र प्रहरी जवान बाढीमा फसेका छन् ।

जताततै सडक अवरुद्ध

बाढीका कारण गौर गंगापिपरा सडकखण्ड अवरुद्ध भएको छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँमा बाढील १०० बढि घर डुवानमा परेका छन् ।

परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, इशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढिमाई, वृन्दाबन, विजयपुर, कटहरिया सहित गरुडा नगरपालिकाको सबै वडा, चन्द्रपुर नगरपालिकाको केही वडा डुवानमा परेको छ ।

गौर चन्द्रनिगाहपुर र पूर्व पश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बाढीका कारण बन्द भएको छ । बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगा सहितका पौडीबाज टोली पठाइएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए ।

पूर्व पश्चिम राजमार्ग बन्द

अविरल वर्षापछि आएको बाढीका कारण पूर्व पश्चिम राजमार्गको बाग्मती पौराई सडकखण्ड अवरुद्ध भएको छ ।

राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर बागमती सडक खण्डको पौराइ जंगलमा रहेको दुइवटा लच्कामा बाढी आउँदा सवारी साधन रोकिएका छन् र हजारौ यात्रुहरु समस्यामा छन् ।


Facebook Comment


No ads found for this position