कुकुर र बाँदर भगाउन एयरपोर्टमा सेक्युरिटी गार्ड

अच्युत पुरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गर्न सक्ने जंगली जनावरको निगरानीका लागि सेक्युरिटी गार्ड खटाइएको छ । जंगली जनावरलाई विमानस्थल क्षेत्रभित्र प्रवेश रोक्ने र मानवीय गतिविधिमा समेत निगरानी गर्ने उद्देश्यले विमानस्थलमा गरुड सेक्युरिटीबाट ५ जना सुरक्षा गार्ड खटाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए । यी सुरक्षा गार्डले शनिबारबाटै काम थालेका छन् ।

भुस्याहा कुकुर र बाँदर नियन्त्रण तथा व्यवस्थापनमा महानगरपालिका, नेपाली सेना र प्रहरीको समेत सहयोग नपाएपछि विमानस्थल आफैँले सेक्युरिटी गार्ड खटाउने निधो गरेको थियो । उपत्यकाभित्र भुस्याहा कुकुर व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको भए पनि विमानस्थलजस्तो अतिसंवेदनशील क्षेत्रमा समेत कुकुर सजिलै प्रवेश गर्छन् ।

चरा धपाउन ५ सिकारी
यसअघि विमानस्थलको धावनमार्गसहित भित्री भागमा चरा र बाँदर धपाउन ५ जना सिकारी खटिएका छन् । यी कर्मचारी वन मन्त्रालयबाटै विमानस्थलमा खटिएका हुन् । अहिले खटाइएका गार्डले भने विामनस्थलको बाहिरी क्षेत्रबाटै भुस्याहा कुकुर र बाँदर प्रवेश रोक्नेछन् ।

किन प्रवेश गर्छन् विमानस्थलमा जंगली जनावर
विमानस्थल व्यवस्थापनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जंगली जनावरको गतिविधि कम गर्न महानगरपालिका, स्थानीय बासिन्दा र यात्रु स्वयंको सहयोग आवश्यक हुन्छ । खासगरी विमानस्थल आसपासका क्षेत्रमा हुने फोहोर, त्यहाँ सञ्चालित सेकुवा घर तथा अन्य गतिविधिले जंगली जनावरलाई आकर्षित गरिरहेको हुन्छ । त्यसबाहेक विमानस्थलभित्र देखिने बाँदर र कुकुरलाई यात्रुले खानेकुरा दिने गरेकाले पनि जनावर आकर्षित हुने विमानस्थलका कर्मचारीले बताए । नजिकै जंगल भएकाले चरा र बाँदर चुनौतीपूर्ण बन्दै गएको महाप्रबन्धक उपाध्यायको भनाइ छ ।

जंगली जनावरको गतिविधिले बढी प्रभावित विमानस्थल
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
-नेपालगन्ज विमानस्थल
– गौतम बुद्ध विमानस्थल (भैरहवा)
-विराटनगर विमानस्थल
-पोखरा विमानस्थल

स्रोत : नेपाल नागरिक उड्डयन प्राधिकरण

विमानस्थलआसपास जंगली जनावर देखिने मुख्य तीन कारण

-खाना (जनावरले रुचाउने खाना विमानस्थलआसपास उपलब्ध हुनु)
– प्रदूषित नदी (त्रिभुवन विमानस्थलसहित धेरै विमानस्थलनजिकै नदी छन्, यी नदी प्रदूषित छन् । यस्ता नदीमा चरासहित जंगली जनावर र कुकुर बढी आकर्षित हुन्छन्)
– उपयुक्त वासस्थान (नजिकै जंगल रहेका कारण जनावर र पक्षी यहाँ रहन्छन्, सन्तान उत्पादन गर्छन् र सन्तानलाई उड्न र हुर्कन सिकाउँछन्)
स्रोत : नेपाल नागरिक उड्डयन प्राधिकरण


Facebook Comment